सिंह र अर्याललाई दर्ज्यानी चिह्‌न प्रदान

नेपालखोज २०७९ वैशाख १९ गते १२:१७

काठमाडाैं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिह्‌न प्रदान गरिएकाे छ । गृह मन्त्रालयमा सोमबार आयोजित दर्ज्यानी चिह्‌न सुशोभन कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिह्‌न प्रदान गरेका हुन् ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसीको ३० वर्षे सेवावधिका कारण अनिवार्य अवकाश भएपछि मन्त्रिपरिषद्‌को यही १८ गतेको निर्णयले उनीहरुलाई महानिरीक्षकमा पदोन्नति गरेको हो । दर्ज्यानी चिह्‌न सुशोभन समारोहमा गृहसचिव पाण्डेले दुवै सुरक्षा अंगका महानिरीक्षकद्वय सिंह र अर्यालबाट मुलुकको शान्ति अमनचयन, सुशासन कायम राख्न तथा शान्तिपूर्ण र भयरहित निर्वाचन तथा संगठन सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।

उनले राज्य र सरकारको अपेक्षा भनेको न्यायपूर्ण र शान्तिपूर्ण समाज निर्माणका लागि संगठनलाई कसरी अग्रसर गराउने भन्ने रहेको र त्यस विषयमा कार्यकाल सफल होस् भनी शुभकामना दिए । उनले दुवै संगठनका प्रमुखको कार्यकालमा अपराधविहीन र न्यायिक समाज निर्माणमा आफ्नो संगठनलाई दृढतापूर्वक डोहोर्‍याउने काम हुने अपेक्षा रहेको बताए ।

नेपालमा ७९ हजार नेपाल प्रहरी र ३७ हजार हाराहारीमा सशस्त्र प्रहरी जनशक्ति रहेकाले बदलिँदो समाजको आवश्यकता र मागलाई धान्न नसकिरहेको उल्लेख गर्दै गृहसचिव पाण्डेले भने, ‘प्रहरी चौकीको र इलाका प्रहरीको स्तरोन्नतिको मागलाई हेर्दा नेपाल प्रहरी न्यूनतम एक लाख र सशस्त्र प्रहरीको जनशक्ति ५० हजार पुर्‍याउनुपर्ने आवश्यकता छ ।’ उनले दुवै संगठनको पुनःसंरचना र जनशक्तिको क्षमता विकास गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।

परम्परागत प्रहरी ढाँचाबाट आधुनिक प्रहरी ढाँचामा रुपान्तरण गर्नुपर्ने र आधुनिक प्रकृतिका अपराध विकास भइरहेकाले त्यसको नियन्त्रण र चुनौतीको सामना गर्न सक्षम प्रहरी संगठन निर्माण, स्वस्थ्य सामाजिक संस्कार र सभ्याताको विकासका लागि प्रहरी संगठनले आफ्नो भूमिकालाई स्थापित गर्नुपर्ने दायित्व रहेको उनले औँल्या । गृहसचिव पाण्डेले त्यसतर्फ दुवै महानिरीक्षकबाट ठोस उपलब्धिमूलक र देखिने काम हुने विश्वास व्यक्त गरे ।

उनले संगठनमा क्षमतावान् प्रतिस्पर्धी जनशक्ति भित्र्याउनका लागि सक्षम जनशक्ति विकास गर्नुपर्ने आवश्यकता औँल्याए । गृहसचिव पाण्डेले संगठनभित्रका आन्तरिक विकृति विसंगतिको अन्त्य गर्नुपर्नेमा जोड दिए । गृहसचिव पाण्डेले सुरक्षाका लागि विकास र विकासका लागि सुरक्षा आवश्यक हुने भएकाले यी दुई विषय अन्तरसम्बन्धित रहेको र एकीकृत रुपमा अघि बढाउनुपर्ने सन्दर्भमा सँगसँगै रहेर काम गर्ने प्रतिबद्धता जनाए । -रासस

प्रतिक्रिया