शुक्रबार, चैत १६, २०८०

‘तीन तहमा बन्दै गरेका प्रेससँग सम्बन्धित कानुनका मस्यौदा संविधानको मूल मर्मसँग मिलेन’

नेपालखोज २०७९ वैशाख २० गते १३:१५

काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले तीन तहहरूमा बन्दै गरेका प्रेससँग सम्बन्धित कानुनका मस्यौदाहरूले संविधानको मूल मर्मसँग नमिलेको बताएका छन् । प्रेस स्वतन्त्रताको पक्षमा सिंगो नागरिक समाजलाई समेत जोड्दै प्रेस स्वतन्त्रताको आन्दोलनलाई अझै उचाइँमा पुर्‍याउने दायित्व सबैको रहेको उनले स्पष्ट पारेका हुन् ।

प्रेस स्वतन्त्रताप्रति राज्य अझै पनि अनुदार रहेको अनुभूति हुँदै गएको समेत उनले बताए । उनले भर्खरै संशोधन गरिएको प्रसारण नियमावलीका प्रावधान सच्याउन अझै दवाव दिइराख्नु परेको समेत बताए । उनले भने, यी घटनाक्रमहरुले हामी प्रेस स्वतन्त्रताको सवालमा अत्यन्त सचेत भएर उभिनुपर्ने अवस्था कायमै छ भन्ने देखाउँदै छ । विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा हुने अन्तरक्रियाहरूमा नेपालको यो अवस्थाका बारेमा पनि छलफल हुनेछ र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले यो अवस्थामा सुधार ल्याउनका लागि राज्यका संरचनाहरूका साथै सरोकारवालाहरूको ध्यानाकर्षण गराउने छन् भन्ने मैले विश्वास लिएको छु । प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा हैन । नागरिकहरूको सूसुचित हुन पाउने संवैधानिक हकलाई प्रचलनमा ल्याउनका लागि पनि प्रेस स्वतन्त्रता अनिवार्य हुन्छ । त्यतिमात्र हैन प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रिकीकरणको अभियानको एउटा महत्वपूर्ण अंग पनि हो ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मन्तव्य व्यक्त गर्दै अध्यक्ष पोखरेलले नेपाल र विश्वमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निम्ति योगदान पुर्‍याउने सबै महानुभावहरूप्रति उच्च सम्मान व्यक्त गर्दै सम्पूर्ण पत्रकार एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

आज विश्व प्रेस स्वतन्त्रता दिवस, प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गर्दै विश्वभर मनाइदै छ । स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइन्छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै महासंघका अध्यक्ष पोखरेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्भिकतापूर्वक उभिई पत्रकारिताको माध्यमबाट राष्ट्र र समाजको हितमा काम गर्न आग्रह गरेका छन् ।

उनले भने, ‘सन् १९९१ मा नामिबियाको विण्डहकमा भएको एउटा महत्त्वपूर्ण सम्मेलनले संसारका सबै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई सधै उत्साहित र उत्प्रेरित गर्नेगरी एउटा घोषणापत्र जारी गर्‍यो । त्यो दिन अंग्रेजी क्यालेण्डर अनुसारको मे ३ तारिक थियो । त्यसैले मे ३ को दिन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूका लागि महत्त्वपूर्ण दिन मानिन्छ । यस दिन संसारभर प्रेस स्वतन्त्रताको महत्वका बारेमा चर्चा गरिँदै छ ।

वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागितामा तयार पारिएको घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिबद्धता जनाइएको थियो भने स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सो सम्मेलनले आफूलाई प्रष्टरूपमा उभ्याएको थियो । त्यही घोषणापत्र जारी भएको दिन अर्थात मे ३ लाई युनेस्कोको आव्हानमा विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाइन थालिएको हो । विण्डहक घोषणापत्रलाई संयुक्त राष्ट्रसंघको सभाले पारित गरेपछि युनेस्कोले त्यस्तो आव्हान गरेको हो । प्रत्येक वर्ष फरक फरक नाराका साथ यो दिवस मनाउने क्रममा योपटक ‘प्रविधि नियन्त्रित मिडिया’ भन्ने नारा तय गरिएको छ ।’

विश्व प्रेस स्वतन्त्रता दिवस-२०२२ को अवसरमा अध्यक्ष पोखरेलको शुभकामनाको पूर्णपाठ

सन् १९९१ मा नामिबियाको विण्डहकमा भएको एउटा महत्वपूर्ण सम्मेलनले संसारका सबै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई सधै उत्साहित र उत्प्रेरित गर्नेगरी एउटा घोषणापत्र जारी गर्‍यो । त्यो दिन अंगजी क्यालेण्डर अनुसारको मे ३ तारिक थियो । त्यसैले आजको दिन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूका लागि महत्वपूर्ण दिन मानिन्छ । आज संसारभर प्रेस स्वतन्त्रताको महत्वका बारेमा चर्चा गरिँदै छ ।

वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागितामा तयार पारिएको घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिबद्धता जनाइएको थियो भने स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सो सम्मेलनले आफूलाई प्रष्टरूपमा उभ्याएको थियो । त्यही घोषणापत्र जारी भएको दिन अर्थात मे ३ लाई युनेस्कोको आव्हानमा विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाइन थालिएको हो । विण्डहक घोषणापत्रलाई संयुक्त राष्ट्रसंघको सभाले पारित गरेपछि युनेस्कोले त्यस्तो आव्हान गरेको हो । प्रत्येक वर्ष फरक फरक नाराका साथ यो दिवस मनाउने क्रममा योपटक ‘प्रविधि नियन्त्रित मिडिया’ भन्ने नारा तय गरिएको छ । यो दिनमा प्रेस स्वतन्त्रताका पक्षमा लडाई लड्ने योद्धाहरूप्रति सम्मान गर्ने, उनीहरूको योगदानको चर्चा गर्ने, प्रेस स्वतन्त्रताको पक्षमा थप प्रतिबद्धता जनाउने र प्रेस स्वतन्त्रताको आन्दोलनलाई अझ अगाडि कसरी लैजाने भन्ने सन्दर्भमा अन्तरक्रियाहरू गर्ने गरिन्छ ।

प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, विश्वभर र आफ्नो देशभित्रको प्रेस स्वतन्त्रताको समग्र अवस्थाको समीक्षा, प्रेस स्वतन्त्रता हननका घटनाको सार्वजनिकीकरण र स्वतन्त्रताको प्रतिरक्षा एबं पत्रकारिता पेशा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरूप्रति श्रद्धा व्यक्त गर्ने यो दिनको विशेष महत्व छ । यस अवसरमा म नेपाल र विश्वमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निम्ति योगदान पुर्‍याउने महानुभावहरूप्रति उच्च सम्मान व्यक्त गर्दै सम्पूर्ण पत्रकार एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । नेपालमा पनि पत्रकार महासंघको आयोजनामा आज देशभर यस्ता चर्चा परिचर्चाहरु हुँदैछन् । काठमाडौंमा महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा काम गर्दागर्दै मृत्युवरण गर्न पुगेका पत्रकारहरुको स्मरणमा बनाइएको स्मारकमा माल्यार्पण गर्दै वर्षभरिको प्रेस स्वतन्त्रताको अवस्थाको समीक्षा गर्दै अब कसरी अगाडि बढ्ने भन्ने बारेमा निष्कर्षको खोजी गर्र्नेगरी कार्यक्रमको आयोजना गरेको छ ।

नेपाली पत्रकारिता क्षेत्र अझै पनि सुरक्षाका दृष्टिकोणले सन्तोष गर्न सकिने अवस्था छैन । भौतिक हमला र पेशागत असुरक्षा दुबैले पत्रकारहरुलाई त्रासमा राखेको अवस्था छ । नेपाल पत्रकार महासंघ सञ्चार अनुगमन इकाईको तथ्यांक हेर्ने हो भने यस वर्ष पत्रकारहरुको पेशागत सुरक्षाको अभाव जनाउँदै ३ सयभन्दा बढी उजुरीहरु आएका छन् भने प्रेस स्वतन्त्रता हननका ७५ वटा घटनाहरु भएको देखिन्छ । प्रेस स्वतन्त्रता हननका सबैभन्दा बढी घटना बागमती प्रदेशमा भएको देखिन्छ । त्यहाँ ५४ वटा त्यस्ता घटनाहरु भएका छन्, जसले यहाँको प्रेस स्वतन्त्रताको अवस्थालाई दर्साउँछ । १ नं प्रदेश र मधेस प्रदेशमा बराबरी अर्थात ६-६ वटा हननका घटना भएका छन् । त्यस्तै कर्णाली प्रदेशमा ५ र लुम्बिनी तथा गण्डकीमा २–२ वटा घटना भएका छन् । सुदूरपश्चिम प्रदेशमा भने योपटक हननका घटनाहरु भएको पाइएको छैन । प्रेस स्वतन्त्रता हननका यी ७५ वटा घटना हुुँदा २७२ जना सञ्चारकर्मी र ९ सञ्चारगृह पीडित भएका छन् । २७२ मध्य ३३ जना महिलाहरु पीडित भएका छन् । अघिल्लो वर्षको पत्रकार महासंघको अभिलेखमा प्रेस स्वतन्त्रतामाथिको प्रहारका घटनाहरू ४५ वटा थिए भने ती घटनाबाट जम्मा ५ सय ८४ पत्रकार र ३ वटा संचारसंस्था पीडित बनेका थिए । ५ सय ८४ पत्रकारमध्य ७७ पत्रकारहरू महिला रहेका थिए । पत्रकार महासंघको अभिलेखअनुसार यो वर्ष ३ जना पत्रकार गिरफ्तारीमा परे भने आक्रमण, दुव्र्यवहार र धम्कीबाट २९ जना पत्रकार पीडित भएका छन् । त्यस्तै पेशागत असुरक्षाको मार ३१ जना पत्रकारले खेप्दै छन् । त्यस्तै कानुन बनाएर प्रेस स्वतन्त्रतालाई संकुचन गर्न खोज्ने काम ३ पटक भएको छ । उल्लिखित तथ्यांकका आधारमा नेपाली प्रेस अझै पनि पेशागत र भौतिक सुरक्षाका सवालमा सन्तोष गर्न सकिने अवस्थामा छैन भन्न सकिन्छ ।

मुलुकले संविधानसभामार्फत निर्मित संविधानको आधारमा संघीयताको अभ्यास गर्दैछ । यो अभ्यास गर्ने क्रममा आवश्यक कानुनहरू निर्माणको चरण अझै जारी छ । यसरी तीन तहहरूमा बन्दै गरेका प्रेससँग सम्बन्धित कानुनका मस्यौदाहरूले संविधानको मूल मर्मसँग मेल खाइरहेका छैनन् । प्रेस स्वतन्त्रताको पक्षमा सिंगो नागरिक समाजलाई समेत जोड्दै प्रेस स्वतन्त्रताको आन्दोलनलाई अझै उचाईमा पुर्‍याउने हाम्रो दायित्व हो । यो दिशामा पनि हामीले काम गर्न जरुरी छ । प्रेस स्वतन्त्रताप्रति हाम्रो राज्य अझै पनि अनुदार रहेको अनुभूति हुँदै आएको छ । हाम्रो लडाईका कारण स्थगित भएका कानून निर्माणका प्रक्रियाहरुलाई अझै सच्चाएर अगाडि बढाउन राज्य तयार छैन । भर्खरै संशोधन गरिएको प्रसारण नियमावलीका प्रावधान सच्याउन हामीले अझै दवाव दिइराख्नु परेको छ । यी घटनाक्रमहरुले हामी प्रेस स्वतन्त्रताको सवालमा अत्यन्त सचेत भएर उभिनुपर्ने अवस्था कायमै छ भन्ने देखाउँदै छ । विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा हुने अन्तरक्रियाहरूमा नेपालको यो अवस्थाका बारेमा पनि छलफल हुनेछ र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले यो अवस्थामा सुधार ल्याउनका लागि राज्यका संरचनाहरूका साथै सरोकारवालाहरूको ध्यानाकर्षण गराउने छन् भन्ने मैले विश्वास लिएको छु ।

प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा हैन । नागरिकहरूको सूसुचित हुन पाउने संवैधानिक हकलाई प्रचलनमा ल्याउनका लागि पनि प्रेस स्वतन्त्रता अनिवार्य हुन्छ । त्यतिमात्र हैन प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रिकीकरणको अभियानको एउटा महत्वपूर्ण अंग पनि हो । नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता लेखिएको भएतापनि व्यवहारमा त्यसअनुरूप वातावरण बन्न सकेको छैन । त्यसकारण प्रेस स्वतन्त्रताको आन्दोलनलाई अझ उचाईमा पुर्‍याउन पत्रकार महासंघ तथा प्रेस स्वतन्त्रताका पक्षधरहरू एक ठाउँमा उभिन जरुरी छ । हामी अहिले स्थानीय निर्वाचनको मुखमा छौं ।

संघीय निर्वाचन पनि यही वर्षमा हुने प्रवल सम्भावना रहेको छ । निर्वाचनका समयमा पत्रकारहरुलाई प्रयोग गर्न चाहने कुत्सित मानसिकता पनि देखिने गर्दछ । त्यस्तो प्रस्तावलाई अस्वीकार गर्दा पत्रकारमाथि शारीरिक र मानसिक आक्रमण हुने खतरा रहन्छ । त्यसकारण यो वर्ष हाम्रा लागि चुनौतिपूर्ण हुने सम्भावना छ । यसतर्फ सबै पक्ष सतर्क रहन जरुरी हुन्छ । त्यस्तै निर्वाचनका बेलामा प्रेसले विशेष भूमिका खेल्न जरुरी पनि हुन्छ । जनमत जाँच्ने वैधानिक प्रक्रिया हो निर्वाचन ।

त्यसकारण जनताको सही अभिमत आउने गरी निर्वाचनलाई सम्पन्न गर्ने दिशामा प्रेसले पनि भूमिका निर्वाह गर्नु पर्दछ । पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता पालना गर्दै र अरु पक्षलाई पनि निर्वाचन आचारसंहिता पालना गर्न प्रेरित गर्दै निश्पक्ष, निर्भय र उत्साहप्रदरूपमा निर्वाचन सम्पन्न गराउने दिशामा नेपाली प्रेसले ऐतिहासिक भूमिका निर्वाह गर्ने मेरो विश्वास रहेको छ । प्रेस स्वतन्त्रताको आन्दोलनलाई उचाईमा पु¥याउनका लागि प्रेस आफै उत्तरदायी र मर्यादित हुन जरूरी छ । पत्रकार आचारसंहिता र पत्रकारिताका स्थापित मान्यताहरूलाई अनुशरण गर्दै आफूप्रतिको सामाजिक विश्वास अभिबृद्धि गर्ने दिशामा पनि पत्रकारहरूले आफूलाई प्रतिबद्ध बनाउनु पर्ने हुन्छ । त्यसैगरी राज्यले पनि पत्रकारिता क्षेत्रलाई स्वनियमनतर्फ प्रोत्साहित गर्दै लोकतान्त्रिक मूल्यभित्र रहेर पत्रकारिताको प्रवद्र्धनका लागि थुप्रै कामहरू गर्न बाँकी नै छ । यो दिशामा सबैको ध्यान जान जरुरी पनि छ ।

अन्त्यमा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्भिकतापूर्वक उभिई पत्रकारिताको माध्यमबाट राष्ट्र र समाजको हितमा काम गर्न हामी सबैलाई प्रेरणा मिलोस् भन्दै विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

विपुल पोखरेल अध्यक्ष, नेपाल पत्रकार महासंघ

प्रतिक्रिया