अमेरिकामा गर्भपतन गैरकानुनी बन्ने सर्वोच्च अदालतको मस्यौदाको संकेत
काठमाडाैं । अमेरिकी सर्वोच्च अदालतले गर्भपतन अधिकारसम्बन्धी राष्ट्रव्यापी कानुन उल्ट्याइदिन सक्ने विवरण भएको चुहाइएको एउटा मस्यौदा दस्ताबेजले पूरै अमेरिकालाई स्तब्ध बनाइदिएको छ ।
पोलिटिकोमा छापिएको ९८ पानाको दस्ताबेजमा न्यायाधीश स्यामुअल अलिटोले सन् १९७३ को गर्भपतन अधिकार स्थापित गर्ने निर्णय ‘अत्यन्त गलत’ भएको लेखेका छन् ।
यदि सर्वोच्च अदालतले रोविरुद्ध वेड मुद्दाको निर्णयलाई उल्टाएमा २२ राज्यमा गर्भपतन गैरकानुनी हुने छ । न्यायाधीशहरूले जुलाई महिनाको सुरुवातभन्दा अगाडि यो विषयमा निर्णय नसुनाउने ठानिएको छ ।
पोलिटिकोमा दस्ताबेज छापिएपछि डेमोक्र्याटहरूले यसको विरोध गरेका छन् भने सर्वोच्च अदालतअगाडि गर्भपतन अधिकारको पक्ष र विपक्षमा प्रदर्शन भएका छन् ।
अमेरिकामा अहिले रिपब्लिकनहरूको नियन्त्रणमा भएका राज्यहरूमा गर्भपतनसम्बन्धी अधिकार जोखिममा परिरहेको छ ।अमेरिकी संसद्को तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी र माथिल्लो सदनका बहुमत नेता चक सुमरले एक संयुक्त वक्तव्य निकाल्दै यो सामग्री पुष्टि भए ‘गएको ५० वर्षमै अधिकारमाथि सबैभन्दा ठूलो प्रतिबन्ध लगाउन सर्वोच्च अदालत उद्यत भएको’ बताएका छन् ।
सर्वोच्च अदालत र ह्वाइट हाउसले चुहिएको उक्त दस्ताबेजबारे सोमवार प्रतिक्रिया दिन चाहेनन् । प्रकाशित दस्ताबेजमा अलिटोले भनेका छन्, ‘रो सुरुदेखि नै अत्यन्त गलत थिए ।’
‘सो निर्णयको तर्कहरू अभूतपूर्व रूपमा कमजोर छन् र निर्णयको हानिकारक परिणामहरू देखिएका छन् ।’
‘गर्भपतन गर्ने अधिकार राष्ट्रको इतिहास र परम्परामा गहिरोसँग जरो गाडेको छैन,’अनुदारवादी उनले त्यसो भनेको दस्ताबेजमा बताइएको छ।
उक्त दस्ताबेज चुहिएपछि वाशिङटनमा प्रदर्शनकारीहरू सर्वोच्च अदालत अगाडि जम्मा भएका थिए।
उनीहरूले मेरो शरीरमाथि प्रतिबन्ध लगाएको र महिलाको अधिकार मानव अधिकार मेरो शरीर मेरो निर्णय भन्ने प्लेकार्डहरू बोकेका थिए ।
गर्भपतन विरोधी अभियन्ताहरू पनि उत्सव मनाउन जम्मा भएका थिए । मुलुकको गर्भपतन विरोधी संस्थामध्ये एक न्याश्नल राइट टु लाइफले सर्वोच्च अदालतको औपचारिक निर्णय आएपछि मात्रै बोल्ने बताएको छ ।
पोलिटिकोका अनुसार चुहिएको दस्ताबेज पहिलो मस्यौदा भनिएको छ र त्यो गत फेब्रुअरी महिनामा बाँडिएको थियो । मस्यौदा प्रक्रियामा न्यायाधीशहरूको मत विभाजन भएको बताइएको छ ।
सर्वोच्च अदालतका नौ न्यायाधीशहरूमध्ये छ जना रिपब्लिकन राष्ट्रपतिले नियुक्त गरेका हुन्। अन्य तीन डेमोक्र्याट राष्ट्रपतिको छनौटमा परेका हुन् ।
पोलिटिकोका अनुसार सो दस्ताबेजमा चार न्यायाधीश निर्णय उल्टाउने पक्षमा छन्। प्रधानन्यायाधीश जोन रोबर्ट्स कुन पक्षमा ढल्केका छन् भन्ने स्पष्ट छैन ।
यदि बहुमतको निर्णय आयो भने न्यायाधीश एलिटोको धारणाले अमेरिकामा गर्भपतन गर्ने संवैधानिक अधिकार उल्ट्याइदिने छ र हरेक राज्यका लागि गर्भपतनमाथि प्रतिबन्ध लगाउने या थप कडाइ गर्ने बाटो खुल्नेछ ।
अमेरिकन सिभिल लिबर्टीज युनियनले यदि यस्तो निर्णय भयो भने त्यसले ‘देशको आधा जनसङ्ख्या ५० वर्षदेखि प्राप्त मौलिक र संवैधानिक अधिकारबाट वञ्चित’ हुने बताएको छ ।
बीबीसीको अमेरिकी सहयोगी सीबीएस न्यूजका अनुसार यो दस्ताबेज चुहिएको घटनाले अमेरिकाको सम्मानित संस्थामाथि घातक प्रभाव पर्नेछ ।
त्यहाँको सङ्घीय अनुसन्धान निकाय एफबीआईसहित अन्य सुरक्षा निकाय यो दस्ताबेज कसरी चुहियो भन्ने बारे छानबिनमा जुट्नेछन् । बीबीसी
प्रतिक्रिया