मंगलबार, वैशाख २३, २०८२

क्षमतावान् बालबालिकालाई नि:शुल्क शिक्षा : रामेश्वर श्रेष्ठ

नेपालखोज २०७९ वैशाख २१ गते १९:२७

काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट काठमाडौंको उपमेयर उम्मेद्‍वार बनेका रामेश्वर श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने बताएका छन् । पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेद्‍वार बनेका उनले नेपालखोजसँग विशेष कुरा गर्दै गरिबीबाट आएका बालबालिकालाई समेत इन्जिनियर र डाक्टर बन्नका लागि पहल गर्ने बताएका हुन् ।

उनले क्षमतावान् बालबालिकालाई नि:शुल्क शिक्षा दिनेसमेत बताए । उनले सामुदायिक विद्यालयमा धनीले विद्यार्थी नपठाउने बताए । उनले भने, ‘सामुदायिक विद्यालयको स्तर एकदमै नराम्रो छ । दुई-तीनवटा विद्यालय सरकारी भएँ पनि एकदमै राम्रो छ । तर अधिकांश विद्यालयहरुमा क्वालिटी छैन । त्यसोभएका हुनाले हाम्रा नाता-नातिनाहरु छोरा-छोरीहरु त्यो विद्यालयमा पढ्न जाँदैनन् पनि पठाउदैनन् पनि । धेरै पैसा छैन गरिब परिवारकाे हो भने पठाउछ । क्रमिकरुपमा सरकारी विद्यालयहरु गुणस्तरीय बनाउनुपर्छ । ८९ वटा विद्यालयलाई नैतिकवान क्षमतावान बनाइदिनु भने सबैले सरकारी विद्यालय नै पढाउँछ ।’

स्वास्थ्यको क्षेत्रमा परिवर्तन गर्न पनि शिक्षालाई गुणस्तरीय बनाउनुपर्नेमा उनले जोड दिए । उनले ट्यालेन्ट भएर पनि डाक्टर इन्जिनियर पढ्न नपाउने विद्यार्थीहरुको अवस्थाप्रति चिन्ता व्यक्त गरे । उनले भने, ‘एउटा विद्यार्थीमा भित्री रुपबाट ट्यालेन्ट छ । म गर्न सक्छु भन्ने छ । तर उसको अभिभावकसँग पैसा नभएका कारण उसले पढ्न पाउँदैन ।’

उनले शिक्षा र स्वास्थ्यमा भएको राजनीतिलाई चिरेर मात्र अगाडि बढ्न सकिने बताए । उनले राजनीतिले महत्त्वपूर्ण क्षेत्रलाई गाँजेको कुरामा दुख व्यक्त गरे । उनले सरकारी इन्जिनियरिङ कलेजहरुमा नाम निकालेर बाँकी पैसा पनि तिर्ने नभएँ आफूहरुले तिर्दिने बताए । उनले जेहेनदार विद्यार्थीको महानगरले जिम्मा लिने बताए । उनले ट्यालेन्टलाई मर्न नदिने पनि बताए । उनले भने, ‘टिचिङमा कसैले नाम निकाल्छ भने त्यहाँ पनि ऊसँग तिर्ने पैसा नहोला । हामी तिर्दिन्छौं पैसा । उसको पढ्ने इच्छा मर्नु हुँदैन । सरकारी कलेजहरुमा नाम निकालेर त्यति पनि तिर्ने पैसा छैैन भने हामी तिर्दिन्छौं । यति गरेउ भने हामी क्रान्ति गर्ने छौं स्वास्थ्यको क्षेत्रमा ।’

उनले नेपाली युवा नेपालमा नबसे देश नबन्ने दाबी गरे । उनले रेमिट्यान्सलेमात्र देश नबन्ने बताए । उनले भने, ‘रेमिट्यान्सको पैसाले देश घिचघिच-घिचघिच गरेर चल्ला तर देश बनाउने हो भने रेमिट्यान्सलेमात्र देश बन्दैन । युवाहरुको पसिना युवाहरुको रगत युवाहरुको कार्य क्षमता यहीँ देशमा प्रयोग गर्नुपर्‍यो । युवाहरु कतार मलेसिया गएर देश बन्दैन । बन्दै बन्दैन म दावाका साथ भन्छु । यो महानगरपालिकाले गर्न सकिन्छ किन कि महानगरसँग बजेट छ । यो बजेट युवाहरुको रोजगारको लागि खर्च गर्न सक्नुपर्‍यो । केही प्रतिशत बजेट खर्च गर्नुपर्‍यो । युवाहरुको रोजगारीका लागि कति खर्च गर्ने । ५ प्रतिशत १० प्रतिशत कति सकिन्छ खर्च गुर्नपर्‍यो । त्यो गर्न सकेउँ भने देशमा क्रान्ति गर्न सकिन्छ । किन गर्न सकिन्छ भने हामीसँग योजना पनि छ, भिजन छ र बजेट पनि छ ।’

उनले काठमाडौंमा चर्को मूल्यमा भाडा तिर्नुपर्ने गरेकोमासमेत गुनासो गरे । उनले युवाका लागि नि:शुल्क इन्टरनेट उपलब्ध गराउनेसमेत बताए । उनले भने, ‘प्राविधिक शिक्षामा जोड दिनुपर्छ । थ्वेरिटिकलमामात्र ध्यान दिनु हुँदैन । मोबाइल बनाउने, ल्यापटप बनाउने, वकिल, इन्जिनियर र डाक्टर प्राविधिक शिक्षा जति छ । यो सबैलाई प्रोत्साहन गर्नुपर्छ । यो काम गर्न सक्ने वातावरण बनाउनुपर्छ । यसमा खर्च गर्न सकियो भने युवाहरु देशमै बस्छ । नेपालमै काग गर्‍यो भने राम्रो हुन्छ ।’

उनले नेपालबाट निर्यात बढ्वा गर्नुपर्नेमा जोड दिए । उनले निर्यात बढाउन नसके आयात रोक्नुपर्नेमा जोड दिए । उनले भने, ‘अर्थतन्त्रलाई राम्रो बनाउने हो भने जति पनि बिलासिताका सामान छन् त्यो अहिलेलाई रोक्नुपर्छ । हाम्रो अर्थतन्त्रलाई चलायमान बनाउनका लागि यस्तो गर्नुपर्छ । हामीसँग बिजुली छ तर हामीसँग के छैन । हामीसँग ग्यास छैन, पेट्रोल र डिजल छैन । यस्ता बस्तुहरु रोक्न सक्नुपर्‍यो । इन्डक्सन चुलो सहुलियतमा दिनुपर्छ । एक भान्छा एक इन्डक्सन बनाउनुपर्छ । ई-भ्याकल गाडीलाई प्रोत्साहन गर्नुपर्छ ।’

उनले जेष्ठ नागरिकका लागि डे-केयर सेन्टर बनाउनुपर्नेमा जोड दिए । भत्ताले मात्र केही हुन नसक्ने उनको दाबी थियो । उनले भने, ‘जेष्ठ नागरिक डे-केयर सेन्टर यसले युवाहरुलाई टच नगर्ला तर बुढाबुढीहरुलाई टच गर्छ है । बिहान १० बजेदेखि ५ बजेसम्म डे केयर सेन्टर खोलेर के भन्न सक्नुपर्‍यो भने आफ्ना उमेरकासँग खुशी साटासाट गर्नु दुख साटासाट गर्नु । दिनभर नाच्ने गाउने समय बित्ताउने । रात्ति घर फर्कने । हामीसँग बजेट छ हामी गर्न सक्छौं ।’

उनले शिशु स्याहार केन्द्र पनि महानगरले बनाउने बताए । उनले शिशु स्याहार केन्द्रलाई नि:शुल्क बनाउनेमा जोड दिए । उनले भने, ‘धनीका छोराछोरीलाई त के मतलब पैसा छँदैछ, जहाँ पनि लगेर पढाउछन् राख्छन् । तर, गरिबलाई महानगरले हेर्नुपर्छ ।’

उनले स्वतन्त्र उम्मेद्‍वारलाई चुनाव जित्न गाह्रो हुनसमेत बताए । तर योग्यलाई चयन गर्नुपर्नेमा उनको जोड थियो । उनले भने, ‘स्वतन्त्रहरु उठिरहेको साथीहरु उहाँहरुको अधिकार हो । चुनिएँ र चुनिने अधिकार हरकोहीमा हुन्छ । स्वतन्त्र छ राम्रो छ गर्छु भनेर आएको छ भने उसको अधिकार सुरक्षित हुनुपर्छ । पार्टी सिस्टम भएकाले स्वतन्त्रलाई जित्न सजिलो भने हुँदैन । किनभने पार्टीका कार्यकर्ता हुन्छन् । कार्यकर्ताहरुले तलसम्म योजनाहरु बुझाइदिन्छन् किनभने उनीहरु पनि उम्मेदवार हुन्छन् । पार्टीले त तलैसम्म उम्मेद्वार उठाउने हो नि त । त्यसो भएको हुनाले स्वतन्त्रलाई गाह्रो छ । उनीहरुसँग पनि चुन्न चुनिन् पाउने अधिकार छ ।’

उनले आफूले भनेका योजनाहरु साधारण भएको र लागू गर्न सकिने दाबी गरे । उनले ठुला-ठुला सपनाहरु नदेखाएको समेत बताए । काठमाडौंमा रेल गुडाइदिन्छु लगायतका हावादारी भाषणमा आफूले समय नखर्चिने उनको दाबी थियो । उनले काठमाडौंमा बरु गाडी जाम हटाउन फ्लाई ओभर बनाउनुपर्नेमा सबैले ध्यान दिनुपर्ने बताए । उनले सार्वजनिक गाडीहरुलाई सबैले प्रयोग गर्नुपर्ने बताए । उनले महिलाहरुलाई पहिलो प्राथमिक्ता दिनुपर्ने बताए । उनले महिलाहरुको सुरक्षाका लागि गाडीमा स्वाप सिस्टम चलाउनुपर्ने बताए । उनले कानुन नै बनाएर महिलाहरुको लागि खलासीरहित गाडी बनाउनुपर्नेमा जोड दिए ।

उनले भित्रि सहरमा सांस्कृतिक सम्पदाको संरक्षण गर्न आवश्यक रहेकोसमेत बताए । उनले भने, ‘सारा संसारका मानिस यहाँको रहनसहन संस्कृति हेर्न आउछन् । ती कुराहरुको पनि हामीले संरक्षण गर्नुपर्छ । हामीले कोष खडा गरेर संरक्षण गर्न सक्छौं । कुनै बाजा संरक्षण गर्नुपर्‍यो । बाजाका लागि कोष खडा गर्नुपर्‍यो । जात्राहरुलाई निरन्तरता दिन पैसा दिन सक्नुपर्छ । त्यो पैसा व्यक्तिलाई होइन कोषलाई दिनुपर्छ जात्रा संरक्षणका लागि । कुनै मन्दिर भत्केको छ । कुनै देवालय त्यस्तो छ भने कोष खडा गरेर संरक्षण दिन सक्नुपर्छ । यी कुराहरुलाई समाउने हो भने हाम्रो महानगरलाई राम्रो बनाउन सकिन्छ । जनताले सानो कुरा चाहेको छ । हामीले साधारण कुराहरु दिएर जनताको मुहारमा खुसी ल्याउन सक्छौं ।’

प्रतिक्रिया