‘ओलीसँग भोट माग्ने नैतिक आधार छैन’

काठमाडाैं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको दाबी गरेका छन् । प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
उनले गत ५ वर्षमा नेपाल कम्युनिष्ट पार्टीका विभिन्न घटकहरुले गरेको उपलब्धिको बारेमा जानकारी गराउनु पर्ने पनि बताए । महामन्त्री थापाले २०७४ साल यताको ५ वर्ष कम्युनिष्टले सरकार चलाएको र यो समय खेर फालेको आरोपसमेत लगाएका थिए । उनले कम्युनिष्ट नेता र पार्टीहरुले खेर फालेको ५ वर्षको समयका लागि जनतासमक्ष माफी माग्नुपर्ने बताए । महामन्त्री थापाले कम्युनिष्ट पार्टीहरुले जनताले देश विकासका लागि जिताएर पठाएको भएपनि ५ वर्षको अवसर खेर फालेकोले त्यसको लागि जनतासमक्ष क्षमा, याचना माग्नुपर्ने बताए ।
महामन्त्री थापाले भने, ‘२०७४ देखि २०७९ सालसम्म ५ वर्षसम्मको जिम्मा नेपाल कम्युनिष्ट पार्टीले पाएको हो । उसैले आज २०७९ सालको चुनाव गराउनु पर्दथ्यो । ५ वर्षमा उसले गरेको उपलब्धिको आधारमा चुनावमा जानुपर्दथ्यो । आज जुन मुद्दाहरुमा चुनाव लडिँदैछन् यी मुद्दाहरु चुनावमा हुनुपर्ने नै होइन । ५ वर्षमा एकपटक जनताको बीचमा उभिएर मैले ५ वर्षको लागि म्याण्डेट पाएको थिएँ, मैले चलाउन सकिन, यसको लागि मलाई क्षमा देउ, मैले ५ वर्ष संसद चलाउन सकिन, मैले ५ वर्षको अवसरलाई प्रयोग गर्न सकिन भन्ने कुराको क्षमा एकपटक नमागिकन, माफीको याचना नगरीकन जनताको बीचमा एक किसिमले भन्दा मत माग्ने नैतिक आधार पनि छैन भन्ने नेपाली काँग्रेसको आफ्नो ठम्याइ हो ।’
महामन्त्री थापाले अबको ५ वर्ष नेपाली काँग्रेसलाई सबै तहको सरकारको जिम्मा दिनुपर्ने बेला भएको बताउनु भयो । उहाँले समुन्नत नेपाल निर्माण गर्ने संकल्प नेपाली काँग्रेसँग रहेको पनि स्पष्ट पर्नुभयो । महामन्त्री थापाले अबको ५ वर्ष काँग्रेसले खेर फाल्न नचाहेको बताउनु भयो । उहाँले विगतका ५ वर्षमा कम्युनिष्टहरुले खेर फालेको समयलाई काँग्रेसले त्यो क्षतिलाई पूरा गर्ने गरेर काम गर्ने दाबी गर्नुभयो ।
महामन्त्री थापाले भने, ‘समुन्नत नेपाल निर्माण गर्ने हामीसँग संकल्प पनि छ । हामीसँग योजना पनि छ । ५ वर्ष यही गरिनुपर्दथ्यो । २०७९ देखि २०८४ सालसम्मको ५ वर्ष यो संकल्प हामी पूरा गर्न चाहन्छौं । यो वाचा पूरा गर्न चाहन्छौं । यो संकल्प र वाचा पूरा गरेर हामी गएको ५ वर्षको जुन क्षति छ, त्यो क्षतिलाई पनि पूरा गर्न चाहन्छौं । हामीले समुन्नत नेपाल भन्ने संकल्प अघि सार्दै गर्दा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोईरालाले सार्नुभएको समुन्नत नेपालको बारेमा सोच्ने हो । त्यसमै टेकेर हामीले हाम्रो अगाडिको यात्रा तय गर्ने कोशिस गर्नेछौं ।’
महामन्त्री थापाले यसपटकको स्थानीय निर्वाचनमा कांग्रेसबाट जित्ने सदस्यहरुले श्रोत, साधनको अपचलन नगर्ने दाबी गरे । उनले अबको ५ वर्ष विगतको ५ वर्ष भन्दा फरक रहने पनि बताए। महामन्त्री थापाले कुनै पनि ठाउँमा विधि मिचेर मनलाग्दी श्रोत, साधनको दुरुपयोग नगर्न पनि निर्देशन दिएका थिए । महामन्त्री थापाले नेपालको समृद्धि र समुन्नतिको बारेमा विभिन्न पार्टीपंक्तिबीच विस्तृत छलफल हुन आवश्यक रहेको बताएका थिए ।

प्रतिक्रिया