यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन, सचेत रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आँकलन गरेको छ । आज काठमाडौंमा आयोजित मनसुन सिजनको हावापानी आँकलन कार्यक्रममा विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आँकलन गरिएको जनाएको हो ।
विभागको आँकलनअनुसार आगामी जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । प्रदेश १ का तराईका भू-भाग, वाग्मती प्रदेशका उत्तर पूर्वी भू-भाग, गण्डकी प्रदेशका दक्षिणी भू-भाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर पश्चिमी भू-भाग तथा सुदूरपश्चिम प्रदेशका उत्तरी भू-भागहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाँईले सुदूरपश्चिम प्रदेशका पूर्वी भू-भाग, कर्णाली प्रदेशका मध्य भू-भाग, गण्डकी प्रदेशका मध्य पश्चिमी भू-भाग र प्रदेश १ को मध्य भू-भागहरुमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशतसम्म रहेको बताए । उनले गण्डकी प्रदेशको उत्तरी भू-भाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिमी भू-भागहरुमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले हनुमान गरेको बताए ।
उनकाअनुसार प्रदेश १ को उत्तरी भू-भाग, वाग्मती प्रदेशको दक्षिणी भू-भाग र मधेस प्रदेशका अधिकांश भू-भागहरुमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको पनि विभागको आँकलन छ ।
मौसमविद् हुमागाँईले गत वर्ष मनसुन अवधिभर ६ वटा स्टेशनहरुमा वर्षाको रेकर्ड तोडिएको बताए । उनका अनुसार चरिकोट, खैरहनीटार, बाजुरा, दमौली, खाटमार्फा र जोमसोम स्टेशनहरुमा पहिलाको रेकर्डहरुलाई ब्रेक गरेर धेरै वर्षा मनुसुन अवधिमा भएको हो । उक्त मनसुन वर्षाले ७९ जनाको निधन भएको थियो, जसमा बाढीको कारण ४३, चट्याङको कारण २७ जना र भारी वर्षाको कारणले १६ जनाको मानवीय क्षति भएको बताए ।
त्यस्तै जल तथा मौसम विज्ञान विभागकी उपमहानिर्देशक डा.अर्चना श्रेष्ठले यो वर्ष पनि सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको बेलैमा सचेत रहन आग्रह गरिन् । उनले मौसम तथा बाढी पूर्वानुमानको सूचना दिने आ–आफ्नो क्षेत्रको कार्ययोजना बनाउन पनि सम्बन्धित निकायसँग आग्रह गरिन् । उपमहानिर्देशक श्रेष्ठले पूर्वानुमान गतिको समय जति नजिक हुन्छ त्यति नै पूर्वानुमानको विश्वसनीयता धेरै हुने गरेको र एक साताभन्दा लामो समयको मौसमको पूर्वानुमानमा विश्वसनीयता कम हुँदै जाने गरेको बताइन् ।
त्यस्तै वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले नेपालमा मौसम पूर्वानुमान गर्ने छुट्टै अनुसन्धान केन्द्र नहुँदा समस्या भइरहेको गुनासो गरिन् । उनले विभागमा अनुसन्धानका लागि स्किल ह्यूमेन रिसर्चहरुको आवश्यक रहेको बताइन् ।
आगामी मनसुन सिजनमा प्रदेश १ को उत्तरी भू-भाग, मधेस प्रदेशको अधिकांश भू-भाग र वाग्मती प्रदेका दक्षिणी भू-भागहरुमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म रहेको र बाँकी भू-भागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ ।
त्यस्तै अधिकतम तापक्रम देशको उत्तरी भू-भाग र मधेस प्रदेशका धेरै भू-भागहरुमा सरदर हुने सम्भावना ३५ देखि ५५ प्रतिशत साथै अन्य स्थानहरुमा सरदर भन्दा कम रहने सम्भावना ३५ देखि ६५ प्रतिशत रहको विभागको आँकलन छ । त्यस्तै विभागले न्यूनतम तापक्रम देशका उत्तरी भू-भागहरुमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ प्रतिशत र बाँकी भू-भागहरुमा सरदर रहने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहने अनुमान गरेको छ ।

प्रतिक्रिया