मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम

नेपालखोज २०७९ वैशाख २५ गते ७:३०

वीरगञ्ज । आसन्न स्थानीय तहको निर्वाचनमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन गरिएको छ । जिल्लाका १६७ मतदानस्थल गरी ४०४ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको हो ।

जिल्लामा १६७ मतदानस्थलको ४०४ मतदान केन्द्रमा खटिएका ती अधिकृतलाई दुई दिनसम्म तालिम दिएको जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिए । तालिममा मतदानको प्रक्रिया, कानुनी, व्यवहारिक र सैद्धान्तिक पक्षका कुरा सिकाइएको छ ।

उनीहरूलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकार क्षेत्र, मतदान केन्द्र निर्माण गर्ने तरिकालगायत विषयमा तालिम दिइएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए । पर्सामा एक लाख ९१ हजार ५३७ पुरुष, एक लाख ४८ हजार २८३ महिला र १६ अन्य गरी कूल तीन लाख ३९ हजार ८३६ मतदाता छन् ।

मतदान र सहायक मतदान अधिकृतको नियुक्तिसँगै मतदानस्थल, निर्वाचन अधिकृतको कार्यालय र अन्य सुरक्षा व्यवस्थालाई चुस्त पारिएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए ।

प्रतिक्रिया