आइतबार, वैशाख २८, २०८२

महिलालाई बुर्का लगाउन तालिवानको आदेश, महिला र पुरुष एकै समय पार्कमा जान नपाइने

यसको कार्यान्वयन नगर्ने महिलाका श्रीमान् वा पुरुष अभिभावकहरूलाई छोटो जेल सजाय सहितका कारबाही गर्ने चेतावनी दिइएको छ ।

नेपालखोज २०७९ वैशाख २५ गते ८:०३

काठमाडाैं । तालिवान अधिकारीहरूले सार्वजनिक स्थानहरूमा अनुहार पूरै ढाक्ने गरी बुर्का लगाउन अफगान महिलाहरूलाई आदेश दिएका छन् ।

अघिल्लो वर्ष सत्ता कब्जा गरेयता उनीहरूले लगाएको कठोर नियन्त्रणका रूपमा यसलाई हेरिएको छ । आफ्नो पहिलो शासनकालमा यस्तै व्यवस्था लागु गरेका उनीहरूले अघिल्लो वर्ष सत्ता हातमा लिएपछि बुर्का अनिवार्य गर्नेबारे कुनै आदेश दिएका थिएनन् । नैतिक आचरणमाथि नियमन गर्ने तालिवान मन्त्रालयले यो प्रतिबन्धलाई सुझाव भनेको छ ।

तर यसको कार्यान्वयन नगर्ने महिलाका श्रीमान् वा पुरुष अभिभावकहरूलाई छोटो जेल सजाय सहितका कारबाही गर्ने चेतावनी दिइएको छ ।

तालिबानहरूले सत्ता हातमा लिएपछि कतिपय महिलाहरूले बुर्कासँग अफगान संस्कृतिको सम्बन्ध नभएको भन्दै प्रदर्शन गरेका थिए । तालिवानको पछिल्लो कदमलाई महिलाहरूको स्वतन्त्रतालाई थप कुण्ठित गर्ने उनीहरूको प्रयासका रूपमा हेरिएको छ ।

बीबीसीका सिकन्दर केरमानी भन्छन्, ‘नैतिक आचरणमाथि नियमन गर्ने तालिबान मन्त्रालय हालैका सातामा सक्रिय बन्दै गएको छ ।’

उनका अनुसार उक्त मन्त्रालयले महिलाहरूलाई पुरुषबिना एक्लै लामो दूरीको यात्रा गर्न रोक लगाएको छ एवं महिला र पुरुषलाई एकै समयमा पार्कमा जान रोक लगाएको छ ।

केरमानीका अनुसार कुनै महिलाले बुर्का नलगाएको अवस्थामा पहिलो चरणमा बुर्का नलगाउने महिलाको घर पहिचान गरी उनको परिवारका पुरुष सदस्यहरूलाई सुझाव दिइने छ ।

फेरि पनि उक्त निर्णय पालना नगरिएको खण्डमा पुरुष अभिभावकलाई मन्त्रालयमा बोलाउनेदेखि अदालतसम्म लगेर कारबाही गर्नेसम्म भनिएको छ ।

तालिवानहरूले अनुहार नढाक्ने महिलाका पुरुष अभिभावकहरूलाई तीन दिनसम्म जेलमा थुन्नसक्ने पनि चेतावनी दिएका छन् ।

प्रतिक्रिया