खाना कसरी खुवाउने ?
काठमाडौं । युनिसेफले ९१ वटा देशको विश्लेषणपछि जारी गरेको एक प्रतिवेदनअनुसार ६ देखि २३ महिनाका बालबालिकामध्ये आधालाई मात्र सिफारिस गरिएअनुसार दैनिक न्यूनतम खाना खुवाइन्छ । त्यसैगरी, एकतिहाइ बालबालिकाले मात्र उनीहरूलाई फस्टाउन आवश्यक पर्ने न्यूनतम खाना समूहहरूको उपभोग गर्छन् ।
५० वटा देशमा खाना खुवाउने गलत प्रवृत्ति पछिल्लो दशकभरी नै जारी छ । कोभिड-१९ ले अत्यावश्यक सेवामा बाधा पुर्याइरहेको र धेरै परिवारलाई गरिबीतिर धकेलिरहेको अवस्थामा, महामारीले परिवारहरूलाई उनीहरूले बालबालिकालाई कसरी खाना खुवाउँछन् भन्ने कुरामा प्रभावित गरिरहेको तथ्य प्रतिवेदनले देखाउँछ ।
इन्डोनेसिया, नेपाल, मलावी, लेसोथो र केन्याको तथ्यांकले आम्दानीमा पुगेको हानि र महामारीको प्रभावका कारण बालबालिकाको आहारको गुणस्तर बिग्रेको देखाउँछ ।
नेपालमा, युनिसेफले बालबालिकाको आहार र परिवारहरूले गुमाएको रोजगारीसहित सामाजिक-आर्थिक प्रभावहरूलाई निगरानी गर्न बालबालिका र परिवार ट्रयाकर सर्वेक्षण गर्दै आएको छ र जसले देखाएको छ कि यो महामारी भरि नै ३ मध्ये १ परिवारले दैनिक प्राप्त गर्नुपर्ने आहार प्राप्त गर्न कष्ट भोगिरहेका छन् । र बालबालिकाको विविध आहार ती परिवारका लागि ठूलो चिन्ताको विषय भएको छ । बालबालिकाले न्यून आहार र खाने अभ्यासको नराम्रो परिणाम जीवनभरी भोग्नुपर्छ ।
सानै उमेरमा उनीहरूको वृद्धिका लागि चाहिने तरकारी, फलफूल, अण्डा, माछा र मासुमा पाइने पोषक तत्त्वहरूको अपर्याप्त मात्राले बालबालिकालाई कमजोर मस्तिष्क विकास, कमजोर शिक्षा, प्रतिरक्षा, संक्रमण र सम्भावित मृत्युको जोखिममा पार्छ । पुड्कोपन र ख्याउटेपन तथा सूक्ष्म पोषक तत्त्वहरूको कमिका साथै खानाको गलत अभ्यासको कारणले हुने अधिक तौल र मोटोपनाले गर्दा दुई वर्षभन्दा कम उमेरका बालबालिका सबै प्रकारको कुपोषणको जोखिममा पर्छन् ।
बालबालिकालाई उनीहरूको प्रति किलोग्राम शरीरको तौलको निम्ति जरूरी पोषक तत्त्वहरूको आवश्यकता अन्यका लागिभन्दा अधिक हुने हुनाले र उनीहरूको आमाबुबाले उनीहरूको स्वास्थ्य प्रति देखाउने व्यवहार (जस्तै रोगको रोकथाम र उपचारको कमी)का कारण यस्ता बालबालिका सबै प्रकारको कुपोषणको जोखिममा पर्छन् । युनिसेफको अनुमान अनुसार, विश्वव्यापी रूपमा ५ वर्षभन्दा कम उमेरका ख्याउटेपन भएका बालबालिकामध्ये आधा भन्दा बढी (लगभग २ करोड ३० लाख बालबालिका) २ वर्षभन्दा कम उमेरका छन् ।
त्यसैगरी, बालबालिकाको आहार उनीहरूको बढ्दो पोषणको आवश्यकताहरूसँग तालमेल राख्न असफल हुने हुनाले ६ महिनादेखि दुई वर्षको बीचमा पुड्कोपनको प्रकोप तीव्र गतिले बढ्छ । प्रतिवेदनका अनुसार, ६ देखि २३ महिना उमेरका ग्रामीण क्षेत्रमा बसोबास गर्ने वा गरिब घरधुरीका बालबालिकाले सहरमा बसोबास गर्ने वा धनी साथीहरूको तुलनामा न्यून खाना खान्छन् ।
उदाहरणको लागि, २०२० मा, सहरी क्षेत्रहरूमा सिफारिश गरिएका खाद्य समूहहरूको न्यूनतम संख्या खुवाइएको २३ प्रतिशत बालबालिकाको तुलनामा ग्रामीण क्षेत्रहरूमा ३९ प्रतिशतको अनुपातले उच्च थियो । दक्षिण एशियामा ४ मध्ये १ भन्दा कम (१९ प्रतिशत) बालबालिकालाई न्यूनतम विविध आहार खुवाइन्छ। तर सही प्रतिवद्धता र लगानी गरेमा परिवर्तन सम्भव छ ।
बंगलादेश, बुर्किना फासो, कम्बोडिया, कोटे डी आइभोर, गाम्बिया, किर्गिस्तान, माल्दिभ्स, नेपाल, सिएरा लियोन र तिमोर-लेस्टे जस्ता दश देशहरूले सिफारिश गरिएका खाद्य समूहहरूको न्यूनतम संख्या उपभोग गर्ने बालबालिकाको अनुपात पछिल्लो दशकमा १० प्रतिशतले बढाएका छन् । सबै बालबालिकाले विविध आहारबाट लाभ उठाउन, उनीहरू बढ्न, विकास गर्न र आफ्नो पूर्ण क्षमतामा पुग्नका लागि सबै प्रकारको कुपोषणबाट उनीहरूलाई जोगाउन सबै क्षेत्रहरूमा लगानी सुनिश्चित गर्न आवश्यक छ ।
प्रतिक्रिया