आइतबार, वैशाख ३०, २०८१

जापान !

डा. सुरेन्द्र सिटौला २०७९ असार २१ गते १५:१९

म उड्दै
गोलार्धको पूर्वी क्षीतिजतिर गएँ
जहाँ सूर्य पहिले उदाउँछ
धरतीले मानव मुक्तिको गीत गाउँछ
त्यहाँ !
गजबको अनौठो परिवेश रहेछ
त्यही परिवेशमा
`जापान´ भन्ने देश रहेछ
उसले मलाई
‘वाहियो गोजाइमास’ (नमस्ते) भन्दै
स्वागतको मीठो गीत गायो
मलाई
‘आरिगातो गोजाइमास’ (धन्यवाद) भन्न सिकायो
जापानी आतिथ्यको संस्कार पढायो
‘अतिथि देवो’ भन्दै
मेरो अनि मेरो देशको
मीठो गुणगान गायो
मलाई थाहा छैन
किन हो मेरो स्वागतार्थ
मैले हेर्दा
ऊ निक्कै रमायो
बिस्तारै मैले चाल पाएँ
अनि मलाई लाग्यो
दुखान्त इतिहास बिर्सेर
जापान वर्तमानमा रमाउँछ
हर क्षण पसिनाको आहुति दिँदै
साझा तरक्किको गीत गाउँछ
ऊ सफा छ शुद्ध छ
आफैंमा बुद्ध छ
ऊ झट्ट हेर्दा सालिन छ
व्यवहारमा मलिन छ
कर्मयुद्धमा माहिर छ
हारेर पनि जित्छ भन्ने
इतिहासकै प्रमाण जाहिर छ
बिर्सेर विगतका कथाहरु
वर्तमानमा खुसीले जिउन
ऊ माहिर छ
गजबको शुद्ध छ देश
त्यहाँ भ्रष्टाचारका सिनोहरु
कहीँ कतै गन्हाउँदैनन्
सिनो लुछाचुँडी गर्न
हुँडार र स्यालहरु आउँदैनन्
त्यहाँ कहीँ कसैले
भ्रष्टाचारीको जय-जयकार गाउँदैनन्
राष्ट्रिय ढिकुटीमा
लुटको उत्सव मनाउँदैनन्
जापान शान्त छ
देश बचाउने बहानामा
ऊ आफ्नै नागरिकहरुलाई
विदेशी मरुभूमिमा पठाउँदैन
ऊ आफैंमा पूर्ण छ
अनि आफैंभित्र सम्पूर्ण छ
त्यो पूर्ण देशमा
म अपूर्ण अतिथि !
सम्झेर आफैंलाई ‘घर ज्वाइँ’ जस्तो
म पलपलमा विह्वल हुन्थें
सम्झेर आफ्नै देशको बेथिति
‘सायोनारा’
टोकियो

प्रतिक्रिया