बिहीबार, जेठ १२, २०७९

मुखमा बुझो

अम्बिका धिताल २०७९ वैशाख ३१ गते १०:३७

पालिकाभित्र अवस्थित सबैका घरघरमा कदेखि जसम्म दलका उम्मेदवारहरू हरेक दिन भोट माग्न आउँदा हजुरबुबाले भन्नुभयो, ‘हुन्छ किन नहुनु हामी तपाईंहरूलाई नै भोट हाल्छौँ, तपाईँहरुले गाउँमा क्याम्पस बनाउनुभयो, शिक्षाको दियो जगाउनुभयो, अस्पताल बनाउनुभयो, त्यतिमात्र कहाँ हो र हजुर, तुइनको ठाउँमा पुल बनाएर धेरैको ज्यान जोगाउनुभयो ।’ उनीहरू भन्ने गर्थे, ‘थोरै प्रयास गरेको बा ती सबै काम बिस्तारै हुन्छ ! यसपालि हामीलाई भोट दिनुस् अवश्य गरेर देखाउँछौँ ।’

उत्तरमा हजुरबुबा भन्नुहुन्थ्यो,’ हुन्छ बाबु हुन्छ । तपाईंहरूलाई नै हो भोट । त्यही तपाईंहरूलाई जिताएर त हामी यति माथि पुगेका हौँ । ‘नत्र त कहाँ गाउँमा यति धेरै अग्ला घर बन्थे होला र !’ उनीहरू फेरि भन्थे, ‘अब हाम्रो होइन जनताको घर अग्ला बन्छन् बा, यो कुरा हाम्रो प्रतिबद्धता पत्रमा नै छ । तपाईंले टोलका सबैलाई भन्दिनुस् है ? ‘तपाईँहरू स्वयम् आउनुभएको छ भन्नुहोस्’ भन्दै हजुरबुबा हरेक दलसँग रूष्ट हुनुहुन्थ्यो । वल्लोपल्लो घरकालाई पनि ‘भोट हालेर के हुन्छ र उनीहरूलाई मोटाउन किन भोट हाल्नु’ भन्नुहुन्थ्यो ।

मौन अवधि सुरू भएपछि गाउँमा दिउँसो समूह समूहमा भोट माग्न आउँदा बज्ने गीत, नारा, जुलुस सबै बन्दभयो । भोट हाल्न एकदिन बाँकी थियो । बेलुका ‘घ’ दलका एक व्यक्ति आएर हजुरबुबालाई छुट्टै कोठामा लगेर खै के भने कुन्नी। हजुरबुबा त रातारात गाउँमा सबैको घरघरमा पो पुग्नुभयो । सबैको विरोध गर्दै हिड्ने हजुरबुबाको मुखमा तिनले के को बुझो लगाइदिए हामी छक्क पर्यौँ ।
हाल : कमलविनायक भक्तपुर

प्रतिक्रिया