शुक्रबार, वैशाख १४, २०८१

९ महिनामा १ खर्ब ५ अर्ब ४७ करोड रुपैयाँबराबरको आन्तरिक ऋण परिचालन

नेपालखोज २०७९ जेठ १ गते १८:१९

काठमाडौं । संघीय सरकारले कुल सात खर्ब ९४ अर्ब २६ करोड रुपैयाँ खर्च गरेको छ । महालेखा नियन्त्रकको कार्यालयलाई उद्धृत गर्दै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा संघीय सरकारले उक्त परिमाणमा रकम खर्च गरेको हो ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा चालु खर्चतर्फ ६ खर्ब २५ अर्ब ५० करोड, पुँजीगत खर्चतर्फ एक खर्ब तीन अर्ब ७९ करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्चतर्फ ६४ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । चालु आर्थिक बर्षको पछिल्लो नौ महिनामा सरकारको कुल राजस्व रकम भने सात खर्ब ८९ अर्ब २६ करोड रुपैयाँ परिचालन भएको छ । यसमा प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँड हुने रकम समेत समावेश भएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसमध्ये कर राजस्व तर्फ सात खर्ब २७ अर्ब ७९ करोड र गैर–कर राजस्व तर्फ ६१ अर्ब ४७ करोड परिचालन भएको छ ।

यसैगरी चालु आर्थिक बर्षको पछिल्लो नौ महिनामा संघीय सरकारले ट्रेजरी विलमार्फत ५० अर्ब र विकास ऋणपत्रमार्फत ५४ अर्ब ५० करोड र नागरिक बचतपत्रमार्फत ९७ करोड रुपैयाँसमेत गरी कुल एक खर्ब पाँच अर्ब ४७ करोड आन्तरिक ऋण परिचालन गरेको छ । नगद मौज्दातअन्तर्गत भने २०७८ चैत मसान्तमा राष्ट्र बैंंकमा रहेको सरकारका विभिन्न खातामा तीन खर्ब ३३ अर्ब आठ करोड रुपैयाँ छ । यो रकममा प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकमसमेत समावेश रहेको राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तमा यस्तो मौज्दात दुई खर्ब अर्ब १८ करोड थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा प्रदेश सरकारको स्रोत प्राप्ति एक खर्ब २५ अर्ब ५३ करोड रहेको छ । यसमा संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको अनुदान र संघीय विभाज्य कोषबाट बाँडफाँड हुने राजस्वसमेत गरी ९० अर्ब चार करोड र प्रदेश सरकारहरूले परिचालन गरेको राजस्व र अन्य स्रोतबाट ३५ अर्ब ४८ करोड छ । त्यसैगरी, यस अवधिमा प्रदेश सरकारहरूको खर्च ८० अर्ब ६२ करोड रुपैयाँ रहेको राष्ट्र बैंकको भनाइ छ ।

यस्तो छ सरकारी खर्च तथा राजस्व (रकम रु. अर्बमा, परिवर्तन प्रतिशतमा)



(स्रोत महालेखा नियन्त्रकको कार्यालय र नेपाल राष्ट्र बैंक)

प्रतिक्रिया