संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

नेपालखोज २०७९ जेठ ३ गते ११:२८

काठमाडौं । स्थानीय तहको निर्वाचनको मतपरिणाम आइरहेका बेला आज (मंगलबार) देखि संघीय संसदका बजेट अधिवेशन सुरु हुने भएको छ । अपराह्न ४ बजेदेखि संसद्का दुवै सदनको बैठक सुरु हुने कार्यसूची छ । स्थानीय तहको निर्वाचनका कारण यसपालीको वजेट अधिवेशन ढिलागरी आह्वान भएको छ । विगतका वर्षमा वैशाख तेस्रो सातासम्म सुरु गर्ने गरिन्थ्यो ।

अधिवेशनमा यसपालिको बजेटका प्राथमिकता र सिद्धान्तको छलफल नियम निलम्बन गरेर अघि बढाउने तयारी भएको बुझिएको छ । प्रतिनिधिसभा नियमावलीअनुसार संसदमा बजेट पेस गर्नुभन्दा कम्तीमा १५ दिनअघि प्रि–बजेटको छलफल सक्नुपर्ने व्यवस्था रहेको छ । नियमावलीले तोकेको समयसीमा प्रि–बजेटको छलफल पूरा नहुने भएपछि नियम निलम्बन गर्ने तयारी गरेको जनाइएको छ ।

सरकारका तर्फबाट बजेटको सिद्धान्त र प्राथमिकता आजको पहिलो बैठकमै पेस गरिने कार्यसूची रहेको छ । सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले आजको बैठकमा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्ताव पेस गर्ने भएका छन् । जेठ ४ र ५ गते अर्थमन्त्रीले पेस गरेको विषयमाथि छलफल हुने कार्यसूची छ । यस्तै जेठ ७ गते संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने तयारी भएको बुझिएको छ ।

प्रतिक्रिया