शनिबार, जेठ ५, २०८१

समितिले दियो तीनवटा जीवन बिमा कम्पनीलाई मर्जरको सैद्धान्तिक सहमति

नेपालखोज २०७९ जेठ ३ गते १७:०३

काठमाडौं । बिमा समितीले तीनवटा जीवन बिमा कम्पनीहरूलाई मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । समितिका अनुसार ‘बिमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका– २०७६’ को दफा ६ बमोजिम प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लि., गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लि. र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लि. लाई आपसमा गाभ्न र गाभिन मंगलबार सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

साथै सोही निर्देशिकाको दफा ७ बमोजिम मूल्यांकनकर्ता नियुक्त गरी समितिमा विवरण पेस गर्न पनि समितीले निर्देशन दिएको छ । ती कम्पनीहरूले आफूहरूबीच आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्ने सहमति भएको जानकारी दिँदै त्यसका लागि संयुक्त रूपमा निवेदन दिई सहमति माग गरेकाले समितिले त्यस सम्बन्धमा आज (मंगलबार) सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

यसअघि वैशाख २३ मा समितिले ‘बिमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०७६’ को दफा ६ बमोजिम हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. र एभरेस्ट इन्स्योरेन्स कम्पनी लि. लाई आपसमा गाभ्न र गाभिन सैद्धान्तिक सहमति प्रदान गरेको थियो । ती दुई कम्पनीले आफूहरूबीच आपसमा गाभ्ने र गाभिने सम्बन्धमा सहमति गरी त्यसका लागि सहमति पाउन संयुक्त रूपमा समितिमा निवेदन दिएका थिए ।

प्रतिक्रिया