शनिबार, वैशाख १५, २०८१

हेमजामा तिब्बती शरणार्थी !

सुनील उलक २०७९ जेठ ७ गते १०:५२

तिब्बतीहरुको आफ्नो राज्य थियो । आफ्नो राजाका रुपमा दलाई लामा थिए । ल्हासा राजधानी रहेको बलियो राज्य थियो । कहिले लडाइँ र कहिले मित्रता गर्दै नेपालसँग सम्बन्ध थियो । चीनमा सत्ता परिवर्तनपछि बिस्तारै तिब्बतमाथि पनि आँखा गाड्न थालेको चीन सरकारले अन्तत: फागुन २७, २०१५ मा चिनियाँ सेनाका जनरल याङ चेङग्वुले चिनियाँ नृत्य अवलोकनका लागि तिब्बती अधिकारीहरु तथा दलाई लामालाई निम्तो पठाए । तर सर्त राखिएको थियो सैनिकहरु उपस्थित हुन पाउने छैन तथा दलाई लामाको सुरक्षार्थ आउने सैनिकहरु पनि हतियारविहीन रुपमा आउनुपर्नेछ ।

यो निमन्त्रणापछि तिब्बती जनतामा एउटा डर पैदा भयो । अब दलाई लामाको जीवनमाथि खतरा सुरु भएको छ । यस नृत्य प्रदर्शनमा तिब्बती अधिकारी तथा उच्च अधिकारीहरु गएनन् । एक सप्ताहपछि उच्च अधिकारीहरुसंगको सल्लाहपछि दलाई लामाले देश छोड्ने निर्णय गरे । चैत ४ गते बिहानको दश बज्न केही मिनट बाँकी हुँदा दलाई लामाले सदाका लागी आफ्नो पोटाला दरबार त्याग्दै केही खम्पाहरुको सुरक्षा घेरामा क्यूछु (ल्हासा) नदी तरे । यसरी यात्रा थालेका दलाई लामाको टोलीले दुई सातापछि चैत १८ गते पूर्वी भारत अरुणाञ्चलको बोमडिला पुगे । भारतीय सुरक्षा घेरामा सुरक्षित रहेका दलाई लामा तथा उनका साथ आएका शुभचिन्तक अनुयायी तथा तिब्बती नागरिकहरुलाई भारतले शरणार्थीको रुपमा स्वीकार्न तयार भयो । यसको करिब एक महिनापछि २०१६ वैशाख ७ गते उत्तरप्रदेशको मसुरी पुर्याइयो । दलाई लामाको त्यहाँ भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुसँग भेटघाटपछि अन्य व्यवस्थाको टुंगो लगाइयो ।

तिब्बत छोड्ने र भारतमा शरण लिनेहरुको क्रम बढ्दै गयो । अन्तत एक वर्षपछि २०१६ फागुन २७ मा दलाई लामा तथा उनका अनुयायीहरु हिमाञ्चल प्रदेशको धर्मशालातर्फ लागे ।

जसरी भारततर्फ तिब्बती शरणार्थीहरुको घुइँचो लाग्यो । त्यसरी नेपालको उत्तरी सीमादेखि नजिक पर्ने तिब्बती राज्यहरुबाट नेपालमा पनि तिब्बती शरणार्थीहरुको प्रवेश पनि तीव्र रुपमा बढ्न थाल्यो । यसरी प्रवेश गर्ने शरणार्थीहरुलाई रेडक्रस, स्विस सरकार तथा नेपाल सरकारको संयुक्त प्रयासमा विभिन्न स्थानमा व्यवस्थापन गराइयो । पोखरामा पनि हेमजा क्षेत्रमा तथा छोरेपाटन क्षेत्रमा तिब्बती शरणार्थीहरुको बसोबासको व्यवस्थापन गराइएको थियो ।

No description available.

यहाँ तस्बिरमा यही हेमजा क्षेत्रमा बसोबास गर्ने तिब्बती शरणार्थीहरुका बच्चाहरुलाई खाना खुवाउँदै गरेको देख्न सकिन्छ । राज्य गुमाएको कथा यी बच्चाहरुलाई केही थाहा छैन पीडा त यिनका अविभावकहरुले झेले । महिनौं हिँडेर नेपाल प्रवेश गरे । चीनका सैनिकले हत्या गरिदिने त्रास थियो सबैमा । त्यसैले राज्य नै त्यागेर हिँडेका थिए । तस्बिरमा भएका बच्चाहरु आज सबै ६० वर्ष कटिसकेका होलान् । कतिले आफ्नो त्यो कष्टको समयको अनुहार पनि बिर्सिसके होलान् । यहाँ तस्बिर राख्नुको अर्थ उनीहरुको दयनीयताको प्रदर्शन गर्नु होइन । उनीहरुको जीवनको एउटा पाटो केलाउन खोज्नु हो ।

आज पोखरामा बस्ने धेरै तिब्बती शरणार्थीहरुसँग मेरो राम्रो सम्बन्ध छ । तर मसँग भएका तस्बिर देखाउँदै को-को हुनुहुन्छ भनेर सोध्न सक्दिनँ । किनकि उनीहरुले एउटा संकटको त्यो क्षण पार गरेर आज एक प्रकारको सुखको दिनमा जीवन बाँचिरहेका छन् । देश गुमाउनुको पीडाजस्तो पीडा केही पनि हुँदैन । बाबुआमा गुमाउनुभन्दा ठूलो पीडा भनेको देश गुमाउनु हो । आफ्नो राष्ट्रियता गुमाउनु हो । आफ्नो अस्तित्व गुमाउनु हो ।

प्रतिक्रिया