बुधबार, वैशाख १२, २०८१

३०० वर्ष पहिले मृत्यु भएका मुगल सम्राट् औरंगजेब अहिले चर्चामा

नेपालखोज २०७९ जेठ ८ गते २१:३०

काठमाडाैं । तीन सय वर्ष पहिले मृत्यु भएका एक जना मुगल सम्राट् हालैका वर्षमा भारतमा चर्चाको विषय बनेका छन् । अन्तिम मुगल सम्राट्का रूपमा चिनिने औरङ्गजेबले सन् १६५८ देखि १७०७ सम्म करिब ५० वर्ष भारतमा शासन गरे तर इतिहासकारहरूका नजरमा उनी राम्रा व्यक्ति थिएनन् । उनको शासनको सुरुवात नै आफ्ना पितालाई थुनेर र दाजुको हत्या गरेर भएको मानिन्छ । अन्य मुगल शासकहरूको तुलनामा उनले गरेका कार्यका लागि पनि उनको आलोचना गरिन्छ ।

उनका जिजुबाजे अकबर धर्म निरपेक्ष शासन सुरु गर्नेका रूपमा चिनिएका थिए भने उनका हजुरबुबा जहाँगीर कला र वास्तुकलाका पारखीको रूपमा परिचित भए । उनका बुबा शाहजहाँ ताजमहल निर्माण गर्ने रसिक व्यक्ति थिए । तर मुगल साम्राज्यका छैटौँ शासक औरङ्गजेब धर्मनिष्ठ मुस्लिम थिए ।

उनलाई एक विस्तारवादी र निर्दयी शासकको रूपमा वर्णन गरिएको छ । उनले हिन्दु बासिन्दाहरूलाई संरक्षणका लागि लिइने भेदभावपूर्ण जिज्या कर लगाउने पुरानो सरिया कानुन लागु गरे । उनलाई संगीत र कला मन नपराउने शासनको रूपमा वर्णन गरिएको छ । साथै धेरै मन्दिरहरू नष्ट गर्न आदेश दिएको आरोप पनि उनीमाथि छ । उनका यस्ता गतिविधि मध्य युगका थिए तर यी सबै कामका लागि उनले हालै आएर अभूतपूर्व घृणा पाइरहेका छन् ।

अहिले किन चर्चामा ?

यसको सुरुवात चाहिँ वाराणसीमा ज्ञानवापी मस्जिदको पुन: निर्माणको थालनीबारेको विवादसँगै भएको हो । यो मस्जिद औरङ्गजेबको आदेशमा सन् १६६९ मा नष्ट गरिएको हिन्दु मन्दिर विश्वनाथको भग्नावशेषमा निर्माण भएको थियो । अहिले उनको नाम हजारौँ अपमानजनक सन्दर्भहरूसहित सामाजिक सञ्जालमा ट्रेन्डिङ भइरहेको छ ।उनको नाम अदालतका फाइलहरूमा पनि भेटिन्छ र वर्तमान हिन्दु राष्ट्रवादी शासकहरूले पनि लिइरहेका छन् । बीबीसी

प्रतिक्रिया