आइतबार, भदौ ३०, २०८१

यामाहाको आरवानफाइभ एम नेपाली बजारमा, मूल्य कति ?

नेपालखोज २०७९ जेठ ९ गते १९:५९

काठमाडौं । यामाहाको सुविधासम्पन्न बाइक R15 M आजबाट आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपस्थित कम्पनीद्वारा वैशाख १५-२१सम्म आयोजित ‘महा एक्सचेन्ज मेला’ को अवसर पारेर उक्त बाइक सार्वजनिक गरेको थियो ।

जेनेसिस क्याफेमा पत्रकार सम्मेलन गरी लन्च गरिएको सो बाइक नेपालमा ल्याइएको यामाहाको मोटरसाइकलहरूमध्ये सबैभन्दा उत्कृष्ट प्रविधि र विशेषताहरू सम्मिलित गरी तयार पारिएको बाइक रहेको कम्पनीको दाबी रहेको छ ।

एम र आर-सिरिजजस्ता रेसिङ दुनियाँमा ख्याति कमाएका बाइकको पाँचौं जेनेरेसन भनिएको यस R15 M मूलतः ट्रयाक स्पिड, कर्भ, र स्पोर्टस् बाइकमा रुचि राख्ने युवा वर्गलाई लक्षित गरी तयार पारिएको बाइक हो । नयाँ ग्राफिक, थ्रिडी एम्ब्लेम, वाइ-कनेक्ट र उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टू-लेभल सिट’ जस्ता विशेषताहरूले यस बाइकलाई अझ आकर्षक, विश्वसनीय, स्मार्ट, कार्यकुशल र आरामदायक बनाएको कम्पनीले जनाएको छ ।

यसका अतिरिक्त, ‘एसिस्ट एण्ड स्लिपर क्लच’ र ‘भीभीए’ जस्ता प्रणालीले R15 M १५५ लाई अझ चुस्त, छरितो र प्रभावकारी बनाई बाइकको समग्र पर्फमेन्सलाई नयाँ उचाइ प्रदान गरेको कम्पनी बताउँछ । ‘एसिस्ट एण्ड स्लिपर क्लच’को एडप्टेसनले बाइकको गति कम गर्ने क्रममा क्लचको वजन कम गरी ‘लो-स्ट्रेस’ कायम गर्न मद्दत पुर्याउँछ, जसले गर्दा गियरको ‘डाउन्ड-स्फिटिङ’ प्रक्रियालाई आरामदायक र सहज बनाउँछ । त्यसैगरी, उच्च कार्यसम्पादन क्षमता भएको ‘भीभीए’ प्रणालीले भने बाइक न्यून आरपीएमको अवस्थामा समेत उल्लेखनीय पावर र टोर्क प्रदान गर्दछ ।

R15 M १५५ को विशेषताहरूबारे जानकार गराउँदै यस बाइकलाई दुई प्रकारको मोडमा चलाउन मिल्ने गरी तयार पारिएको पनि कम्पनीले उल्लेख गरेको छ । राइडरले सडकको अवस्थाको अनुकूलता मध्य नजर गर्दै आफूले चाहेअनुसार उच्च कार्यसम्पादका लागि ‘ट्रयाक मोड’ र सहरभित्र मितव्ययी कार्यसम्पादनका साथ गरिने यात्राका लागि ‘स्ट्रिट मोड’मा स्विच गर्न सक्ने सुविधा रहेको छ ।

कम्पनीका अनुसार राइडरलाई उच्च गतिमा छिटो पुर्याउन एयरफ्लोलाई अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सुधारिएको एरोडाइनामिक डिजाइन र सही र भरपर्दो ब्रेकिङका लागि डुअल च्यानल एबीएसका साथ बजारमा ल्याइएको यस अल-नेयू R15 M, १५५ सीसी एलसीभी एसओएचसी फ्युल-इन्जेक्टेड (एफआई) इन्जिनको साथ तयार पारिएको शक्तिशाली बाइक हो । ट्रयाक्सन कन्ट्रोल र क्विक सिफ्टर जसले क्रमशः चिप्लो बाटोमा ह्विलस्पिनको कारण चक्काले घर्षण गुमाई चिप्लने सम्भावनालाई कम गराउँछ र क्लच/थ्रोटलरहित गियर सिफ्टिङलाई प्रभावकारी बनाउने प्रविधिले R15 M लाई अझ विशेष बनाएको कम्पनीको ठम्याई रहेको छ । यसले १०,००० आरपीएममा १८.४ एचपी अधिकतम पावर र ७५०० आरपीएममा १४.२ एनएम टर्क जेनेरेट गर्दछ ।

यसैगरी, ‘कनेक्ट एक्स’भन्दा उन्नत प्रविधिको ‘वाइ कनेक्ट’ समावेश गरिएको एलसिडी इन्स्ट्रुमेन्ट क्लस्टरले R15 M लाई स्मार्ट मात्र नभइ बहुआयमिक पनि बनाएको यामाहा नेपालको सीईओ राजु क्षेत्रीले बताएका छन् ।

एन्ड्रोइड र एप्पल प्रयोग गर्ने राइडरहरूका लागि क्रमशः ‘गुगल प्ले स्टोर’ र ‘एपस् स्टोर’मा उपलब्ध ‘वाइ कनेक्ट’ एप बाइकसँग ब्लूटुथमार्फत जोडेपछि निम्न फङ्शनहरू एलसिडी क्लस्टरमा डिस्प्ले हुने कम्पनीले जानकारी दिएको छ ।

-गियर सिफ्ट इन्डिकेटर
-फ्यूल कन्जम्पसन इन्डिकेटर
-सिफ्ट-टाइमिङ लाइट
-भीभीए इन्डिकेटर
-ट्रयाक्सन कन्ट्रोल इन्डिकेटर
-मोबाइलफोनको ब्याट्री लेभल
-मेन्टेनेन्स रिकमेन्डेसन
-पार्किङ लोकेसन
-मालफङ्सन नोटिफिकेसन
-रेभ ड्यासबोर्ड र स्मार्टफोनमा रेङ्किङ

यसका साथै वाई कनेक्टमार्फत चालकले फोनकल, एसएमएस र इमेल अलर्टजस्ता नोटिफिकेसन पनि बाइकको एलसीडी क्लस्टरमा हेर्न मिल्ने सुविधा रहेको छ ।

आइतबारबाट नेपालभरिका यामाहा शोरुममा उपलब्ध हुने जनाइएको R15 M को मूल्य नेपाली बजारमा ५ लाख ७९ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

आरवान १५ एमको लन्चसँगै कम्पनीले आफ्नो नयाँ स्किम ‘रोड टू मोटो जीपी’ पनि सार्वजनिक गरेको छ । ‘रोड टू मोटोजीपी’ यामाहा बाइक खरिदकर्ताहरूका लागि त्यस्तो स्किम हो जसमा चार भाग्यशाली विजेताले यामाहा प्याडकबाट च्याङ अन्तर्राष्ट्रिय सर्किट, थाइल्यान्डको प्रत्यक्ष मोटोजीपी प्रसारण हेर्ने सुवर्ण अवसर पाउनेछन् । यो स्किम आजबाट यामाहाका जुनसुकै बाइक र स्कुटरको खरिदमा लागु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया