मंगलबार, वैशाख ११, २०८१

स्याबास बालेन स्याबास… ! (भिडियोसहित)

नेपालखोज २०७९ जेठ ९ गते २१:११

काठमाडौं । ऊबेला सांगीतिक समूहका संगीतकर्मी नित्य डी’ कुँवरले बालेनलाई समर्थन र मेयर पदमा जीतपश्चात राम्रो काम गर्न अभिप्रेरित गर्न ‘स्याबास् बालेन स्याबास्’ नामको नयाँ गीत हालै सार्वजनिक गरेका छन् युट्युब च्यानेल ऊबेला (wubela) मार्फत् । यस गीत सिर्जना गर्नुको पछाडि बालेनको आँट, आत्मविश्वास र अघिल्लो चुनावअघिदेखिको अठोट, अनुसन्धान र हालको चुनावी गृहकार्यका साथै उनलाई पत्याउने मतदाताहरुलाई समेत तारिफ गर्नु रहेको नित्यले बताए ।

उनका अनुसार राम्रो कामको प्रशंसा गर्न कञ्जुस्याइँ गर्नुहुँदैन । यस्तो गरेमा अरुलाई पनि राम्रो काम गर्न प्रेरित गर्छ र प्रशंसा गरिएका व्यक्तिलाई नराम्रो बाटोमा लाग्नुअघि झक्झकाउने गर्छ । ‘नराम्रो बाटो भन्नाले अल्मलमा पर्नु पर्दैन, स्पष्ट छ जनताको लागि काम नगरीकन आफ्नो र आसेपासेको मात्र भलो चिताउने- जस्तो हाल धेरैले गरिरहेका छन्, भ्रष्ट कामकारवाही र भ्रष्टाचारलगायतका कुराहरु पर्छन् मेरो विचारमा’, नराम्रो बाटो भन्नाले कस्तो भनेर सोधिएको प्रश्नमा नित्यले भने । परिवर्तनको राम्रो शुरुआत नेपाल देखिसकिएको र यसको निरन्तरतालाई प्रेरित गर्न आफ्नो तर्फबाट केही न केही त गर्नैपर्छ भन्ने सोचस्वरुप दैनिन्दिय व्यस्तताका बाबजूद यस गीत तयार गरेको नित्य बताउँछन् ।

ऊबेला सांगीतिक समूहमा नित्यलगायत उनका बाल्यकालका साथी सुकदेव केसी रहेका छन् । गत महिना ९० को दशकमै तयार भएको तर हालसालै मात्र निकाल्न सकिएको भनेर ‘मलाई लाग्दैन तिम्रो माया’ नामको गीत सुकदेवको स्वरमा सोही च्यानलमा आइसकेको छ । समूहले स्लो रक र ९० को दशकमा चर्चित सांगीतिक स्वादलाई अनुसरण गर्ने र अन्य विधाका गीतहरुमा पनि बिस्तारै काम गर्ने नित्यले जानकारी दिए ।

प्रतिक्रिया