शनिबार, वैशाख १५, २०८१

संकेत स्पष्ट छ- तमरा दैलोमा संकट आयाको छ

जयप्रकाश आनन्द २०७९ जेठ १० गते ९:४७

स्थानीय निर्वाचनमा महानगरपालिका तथा उप महानगरपालिकामा मूलतः चारजना स्वतन्त्र उम्मेदवारको चर्चा छ । काठमाडौं, जनकपुर, धनगढी र धरानको । जनकपुर र धनगढीका स्वतन्त्र उम्मेदवार रहेकाहरू त्यस स्थानका चर्चित व्यक्तिहरू हुन् । उनीहरू आ-आफू संलग्न रहेका दलहरूबाट टिकटको अपेक्षा गरेका थिए, नदिईएपछि ठूलो संगठनात्मक संरचनाको एकहदको सहयोग पाए । यसर्थ, उनीहरू कानूनी रूपबाट मात्र स्वतन्त्र देखिएका हुन् । दलहरूबाट विद्रोही उम्मेदवार भए ।

वास्तविक स्वतन्त्र र दलहरूको विरोधको सामना गरेर उम्मेदवार भएका त बालेन शाह र धरानका हर्क साम्पाङ मात्र हुन् । बालेनलाई मैले तस्बिरमा बाहेक देखेको छैन । हर्कलाई भने धरानको एक चोकमा तीनपांग्रे टेम्पुमा माइक लगाई बोल्दै गरेको देखे सुनेको हुँ ।

राजधानी महानगरपालिकामा अन्य सबै उम्मेदवारलाई पछाडी पारेका बालेनको सर्वाधिक चर्चा हुनु स्वभाविक नै हो । यता मधेसतिर पनि उनको ठूलो चर्चा छ । केहीले सामाजिक सन्जालमा मधेसी मूलका भनि लेखिरहेका छन् । यसो लेख्नु ठीक होइन । यो मपाईंको कुरो हो । बालेनले आफू मधेसी भएको कहीँ भनेको छैन । मधेसी भनिएर न्यारेसन अन्यत्र मोडिन्छ भनी पूरै सचेतता अपनाएको देखियो । पूरै प्रचार अभियानका दौरान उनले राष्ट्रिय ध्वजलाई समाई रहे । एमालेका केशव स्थापितले मधेसी नभनिन्जेलसम्म सायदै कसैलाई उनी मधेसी परिवारसँग जोडिएको थाहा पनि थिएन होला । यसर्थ, यस्तो मधेसी पहाडी भनी बालेनको चर्चा गर्नु हुन्न ।

अहिले केहीले बालेनले पाएको मतलाई विरोधको भोट वा ‘नो भोट’ भनेका छन् । यो त झनै गलत कुरो हो । नेपालको कुल जनसंख्यामा १५-२५ उमेर समूहको जनसंख्या भाग लगभग चालीस प्रतिशत रहेको छ । यस मध्ये मतदाता हुन योग्य उमेर समुहको संख्यालाई आँकलन गर्दा लगभग यति नै भोट बालेनले पाएको देखिन्छ । बालेनलाई मत दिने युवा समुह पढेलेखेका उच्च शिक्षित देखिन्छ । यस्ता युवाहरू हामी सबैको परिवारमा छन् र हामीले आफ्ना यस्ता शिक्षित सन्तानहरूमा गर्व गरिरहेका हुन्छौ । उनीहरूका नयाँ बिचारहरूलाई, बिद्रोही चेतलाई बडो ध्यानले सुनि रहेका हुन्छौ । यिनीहरूले उपयोग गरेको ‘मत’ किमार्थ पनि नकारात्मक भोट होईन । ‘नो भोट’ होईन । जहाँ नो भोटको चलन छ, तेहाँ नो भोटले परिणाम दिदैन । उदेक वा अरूहरूको अयोग्यताको सन्देश मात्र दिई रहेको हुन्छ । बालेनले पाएको मत तेस्तो प्रकृतिको होईन । बालेनका मतदाताहरूले सार्थक रूपमा मतको शक्तिलाई उपयोग गरेको हो । बालेन स्वयं तथा उनका प्रचारकहरूले कही पनि धार्मिक कुरो, संधीयताको बिरोध, पूर्व राजाको पक्षपोषण, बैदेशिक बिवाद जस्ता कुराहरू उठाएका छैनन् यसर्थ, बरिष्ठ पत्रकार किशोर नेपालले लगाएको आक्षेप ठिक ठहर्दैन ।

बालेनका बारेमा मैले तीनवटा कुरालाई बढी ध्यानमा राखेको छु । पहिलो, उनि लोकप्रिय रयाप गायक हुन् । युवाहरूका बीच अत्यन्त लोकप्रिय छन । र उनले गाएका लगभग सबै गीतहरू शासकीय बेथितीको बिरूद्धमा गाइएको छ । यो हिजोका प्रगतिवादी गीत वा क्रान्तिकारी गीतको बिकल्पको नयाँ पुस्ताले रूचाएको समानान्तर धार यही हो । यसले उनलाई चर्चित बनाएको थियो ।
दोस्रो कुरा, आजका धेरै युवाहरूले राजनीतिलाई फोहरी खेल भन्ने गरेको जस्तो उनले कहिल्यै भनेनन् । मत प्रणालीको बिरोध गरेर उनले नेपालका मण्डले सोचलाई हौस्याएनन् । बरू मतलाई उपयोग गरी बेथितीको शासनमा रूपान्तरण गर्न सकिन्छ भने दृढता उनमा देखियो । राजनीतिमा सुधार ल्याउनु छ भने राजनीतिलाई नै माध्यम बनाउन सकिन्छ-यो सोच मैले पाएँ ।

तेस्रो कुरा, उनको प्रवेशलाई संयोग भन्न मिल्दैन । उनले योजनावद्ध रूपमा काम गरेको हुन् । यस निम्ति दुईवटा उद्धरण दिन चाहन्छु । भरखरै बि.स. २०७४ को निर्वाचन ताका उनले लेखेका एक ट्वीट पुनः चर्चामा आयो,देखियो । यसमा उनले अर्को निर्वाचनमा स्वयंलाई नै भोट हाल्ने भनेका छन् । यसबाट उनको तयारी तथा सोच बुझिन्छ । अर्को, यौटा अर्को तस्वीर सामाजिक संजालमा देखियो । यस तस्वीरमा बालेन शाह आफ्ना टिमका साथ राष्ट्रपति भवन शितल निवासमा देखिन्छन् जहाँ उनले राष्ट्रपतिलाई राजधानीको खानेपानी समस्याको समाधानका उपायहरू ब्रिफिंग गरिरहेको देखिन्छ । यस्तै लेखिएको छ तस्वीरको क्याप्सनमा । यी दुई कुराले जनाउँछ कि काठमांडू महानगरपालिका पहिल्यै देखि उनको नजरमा रहेको हो । यो उम्मेदवारी फगत संयोग होईन । योजना नै हो ।
यस्तै धरान उप महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार(यो लेखुन्जेल निर्वाचित भैसकेको) हर्क साम्पाड. को उम्मेदवारी संयोग हैन । धरानमा बिद्यमान अनेकन बेथितिहरूका बिरूद्ध उनको सचेतनाको वा खबरदारी अभियानका कारण हर्क साम्पाड. चर्चित रहेका हुन ।

व्यक्तिगत रूपमा उनी एक सुपरिचित क्रान्तिकारी गायक एवं गीतकार पनि हुन् । काठमाडौंका ठूलो प्रेक्षागारहरूमा नाम चलेका अवार्डहरू नपाए पनि उनी हिजोका दिनमा अदृश्य रहेका मानिस होइनन् । उनका गीतहरू धेरैले सुनेका थिएनन् । तर, आज उनको बिजयी व्यक्तित्वको खोज पडताल गर्ने क्रममा उनका गीतको भावार्थ थाहा हुन्छ । उनि परिवर्तनका पक्षधर लोकपाल देखिन्छन् ।
मरेको मान्छे सडेको बस्ती
भ्रष्ट र दुष्टको शासन छ मस्ती
सिनोको टुक्रामा झिँगा रमाउछन्
गिद्ध र हुडाँरको छ लुछाचुडी
देशको माया के लाग्दो रैछ र
पार्टी कै भक्ति र भाव ठूलो
हिमाल झरोस् कि सीमा सरोस्
बस्ती जलाउदै बगाउँछन् धुलो
लोकतन्त्र भन्दै दासत्व भित्र
झण्डाले आखाँ छोरेर हेर्छन्
सही र गलत थाहा हुन्न केही
जे देख्न लगायो तेही देख्छन्…..
चुनाव अभियानकै दौरान हर्कले यो गीत लेखेर धराने जनतालाई सुनाए । यस गीतका शब्दहरूले नै वर्तमानको विरूद्ध उनको चेत तथा प्रतिबद्धतालाई जनाउँछ । धरान सुरुदेखि नै प्रगतिवादी गीतहरू गाइने र मन पराइने सहर हो । विसंगतिहरूका विरूद्ध एक्लो संघर्ष, संघर्षका लागि एक्लै जनताका बीच पुग्नु र रोषलाई लयमा अभिव्यक्ति दिनु-हर्क साम्पाङले यसरी सत्तालाई पछारेका छन् ।

यसपटकको स्थानीय निर्वाचनका बालेन र हर्क प्रतिनिधि पात्रहरू हुन् । हर्क चुनाव जिते, बालेनको अग्रता छ । तर, परिणाम आउन बाँकी छ । तर सन्देश स्पष्ट छ-दैलोमा संकट आएको छ ।

प्रतिक्रिया