शुक्रबार, चैत १६, २०८०

प्रवासी नेपालीलाई मताधिकार दिने व्यवस्थाकाे नेपाल विवेकशील पार्टीद्वारा स्वागत

नेपालखोज २०७९ जेठ ११ गते १४:४१

काठमाडौं । नेपाल विवेकशील पार्टीले प्रवासमा रहेका नेपालीलाई मताधिकार दिने व्यवस्थाको स्वागत गरेको छ । पार्टीका प्रवक्ता विजयबाबु शिवाकोटीद्वारा बुधबार हस्ताक्षरित प्रेस विज्ञप्तिमा सरकारले मंगलबार संयुक्त सदनमा पेश गरेको नीति तथा कार्यक्रमको बुँदा नं १३७ मा उल्लिखित विषय स्वागतयोग्य रहेको जनाइएको छ । ‘आधुनिक सूचना प्रविधिको प्रयोग गरी प्रवासमा रहेका नेपालीहरूलाई समेत निर्वाचन प्रणालीमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाउने’ भन्ने व्यवस्थाप्रति नेपाल विवेकशीलले खुसी व्यक्त गरको हो ।

निर्वाचन प्रक्रियालाई सरल बनाउने र चुनावमा सबैको सहभागिता सुनिश्चित हुने कार्यलाई तदारुकताका साथ सक्न पार्टीले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । संसदको चालु अधिवेशनबाट एकीकृत विधेयकहरूलाई टुंग्याई आगामी संघीय तथा प्रादेशिक निर्वाचनमा प्रवासमा रहेका तथा नेपालमा नै रही विभिन्न कारणले मतदान केन्द्रमा पुग्न नसक्नेलाई पनि लाभ लिन सक्ने व्यवस्था मिलाउन पनि नेपाल विवेकशील पार्टीले निर्वाचन आयोग तथा सरकारको ध्यानाकर्षण गराएको छ ।

सरकारले अहिले सदनमा प्रस्तुत गरेको विषयलाई तत्कालीन विवेकशील नेपाली पार्टीले विगत सात वर्षदेखि उठाउँदै आएको र नेपाल विवेकशील पार्टीले पनि योजनाबद्ध रूपमा अगाडि बढाउँदै आएको जनाइएको छ । सर्वोच्च अदालतले २०७४ मा दिएको परमादेशको कार्यान्वयनको सन्दर्भमा विभिन्न मन्त्रालय तथा निर्वाचन आयोगसँग छलफल गरी त्यस कामलाई तदारुकताका साथ अगाडि बढाउन आग्रह गरेको उक्त पार्टीको दाबी छ ।

सरकारले महँगी नियन्त्रण तथा देशको समष्टिगत आर्थिक प्रणालीलाई सन्तुलनमा राख्न ठोस कार्यक्रमहरू नल्याएकोप्रति पार्टीले खेद व्यक्त गरको छ । नीति तथा कार्यक्रमका आधारमा आउने बजेट तथा त्यसको कार्यान्वयनमा सरकारी संयन्त्रको कमजोरी देखिएकाले निराकरणका लागि काम गर्नुपर्ने अवस्था देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया