आइतबार, वैशाख १६, २०८१

प्रश्न

कृष्ण कँडेल २०७९ जेठ १४ गते ७:०७

मेरै ल्याप्चे सहिछापले
रंगिएको शिरपोश लगाएका
ए महाशय के म प्रश्न सोध्न सक्छु ?
हिजो आज
मेरो देशको गाऊँमा
जन्ती भेटीन छाडेका छन्
मलामी भेटीन छाडेका छन्
कि बुढ़ा बा मात्र छन्
कि बुढी आमा मात्र छन्
कि नवजात शिसु र सुत्तकेरी आमा मात्र छन्
महाशय
किन यस्तो भयो
मेरो प्रश्न तिमीलाई नै हो
तिमी त हाम्रो गाऊँको मुखिया
गाऊँको पाटो बाँझो हुँदा
तिम्रो छाती दु:ख्नु पर्ने होईन र ?
खेत खलीहान पट पटी फुट्दा
तिम्रो मन दु:ख्नु पर्ने होईन र ?
गाऊँका ठिटा ठिटीहरू
हुल बाँधेर मुग्लान भासीदा
तिनलाई रोक्नु पर्ने होईन र ?
खाडीको तातो घाममा छाला सेकेर
घर फर्कने सपना बोकेको
वीरवहादुर रातो बाकसमा फर्केको
समाचार कहिले सम्म सुनिरहन्छौ मुखिया ?
माफगर मुखिया
प्रश्न धेरै गरें क्यारे
के गर्ने म संग प्रश्न मात्र छन्
मैले रोजेर पठाएका मेरै नायकहरू
खलनायकमा रूपान्तरण भएपछी
मैले प्रश्न त गर्नै पर्यो नि महाशय
उहीले बाजेका पालामा
बाजेलाई नै दोष दिएँ
बाजे तिम्रो चाला ठिक छैन भनेर
जीन्दावाद र मुर्दावादका हातहरू उठाऊँदै
बाजे र बाजेका सन्तानहरूलाई धपाएँ
आज राखेको छु तिमीलाई सिंहासनमा
त्यतिवेला मलाई लाग्थ्यो
हिजो जस्तो अव भोलीहुने छैन
नवजात वुद्धहरू अपहरणमा पर्ने छैनन्
सगरमाथाको उचाई घटाउने
जालझेल कहीं कतैवाट हुनेछैन
जीवन जीउनकै लागी
युवाहरू पलायन हुनुपर्ने छैन
मुखिया बा
हिजो तिमीले
गाऊँका ठिटाठिटी भेला पारेर
आगो ओकल्ने भाषण गरेको विर्सेको छैन
आला काँचा केटाकेटीको झोलामा
परिवर्तनको मिठो सपना भरेका थियौ
खोई त त्यो सपनाको फल
विपनामा कहिले पाउने ?
महाशय
के मैले ति ठिटाठिटीको पक्षमा प्रश्न सोध्न सक्छु ?

प्रतिक्रिया