नेप्सेमा देखिएन बजेटको प्रभाव, एकै दिन ५० अंकले घट्दा १ अर्ब ३३ करोडको कारोबार
काठमाडौं । अर्थमन्त्री जर्नार्दन शर्माले आइतबार संघीय संसद्समक्ष आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब रुपैयाँबराबरको बजेट घोषणा गरे । बजेटमार्फत पुँजी बजारमा वैदेशिक रोजगारीमा रहेकालाई १० प्रतिशत सेयर कोटा छुट्याइने, पुँजी बजार सुधारका लागि काम गर्ने, एक अर्ब रुपैयाँसम्म कम भएका कम्पनीहरूले अनिवार्य रूपमा आईपीओ जारी गर्नुपर्नेलगायत धेरै विषय अघि सारियो ।
तर यी सबै कुराको प्रभाव बजेट घोषणापछिको पहिलो दिनको सेयर कारोबारमा देखिएन । नेप्से आज ५० दशमलव ३३ अंकले घटेर २१ सय ७३ दशमलव ४४ अंकमा झरेको छ । सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ३३ अंकले घटेर चार सय २२ दशमलव ७४ अंकमा झरेको छ । दुई सय २७ कम्पनीको २६ हजार नौ सय ४९ पटकको कारोबारमा ३४ लाख ५६ हजार पाँच सय २९ कित्ता सेयर खरिद–बिक्री भएका छन् । जसबाट आज कुल कारोबार एक अर्ब ३३ करोड ८८ लाख ५६ हजार दुई सय ८२ रुपैयाँ पुगेको छ ।
१३ समूहको कारोबार भएकामा आज १३ वटैको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक २१ दशमलव ८५ अंकले घटेर १५ सय २७ दशमलव दुई अंकमा झरेको छ । विकास बैंक समूहको सूचक ९७ दशमलव ५१ अंकले घटेर ३७ सय १५ दशमलव ६० अंकमा झरेको छ ।
जलविद्युत् समूहको सूचक ६७ दशमलव १३ अंकले घटेर २४ सय ८५ दशमलव ३३ अंकमा झरेको छ । निर्र्जीवन बिमा समूहको सूचक पनि आज दुई सय ४८ दशमलव ९५ अंकले घटेर नौ हजार दुई सय २३ दशमलव ५० अंकमा झरेको छ ।
यसैगरी जीवन बिमा समूहको सूचक तीन सय ६ दशमलव ६९ अंकले घटेर १० हजार चार सय ७२ दशमलव ८८ अंंकमा झरेको छ । फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज बलेफी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर एक सय २४ रुपैयाँ ४० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा नेपाल इन्भेस्टमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेर तीन सय ६७ रुपैयाँ ७० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज नेपाल टेलिकमको प्रतिकित्ता ९३५ रुपैयाँ अन्तिम मूल्यमा चार करोड ९६ लाख ३८ हजार नौ सय ७५ रुपैयाँ २० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया