कुमारी हलमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । आज र भोलि चल्ने प्रशिक्षण काठमाडौंको कुमारी हलमा सुरु भएको हो ।
स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानुन निर्माणलगायत विषयमा अध्यक्ष पुष्पकमल दाहाल, स्थानीय विभाग प्रमुख उर्मिला अर्याललगायत पार्टीका नेता र विज्ञहरुले प्रशिक्षण दिनेछन् । उद्घाटन सत्रमा अध्यक्ष दाहाल र नेता नारायणकाजी श्रेष्ठले सहभागीलाई राजनीतिक प्रशिक्षण दिँदै छन् । साथै पहिलो सत्रमा ‘स्थानीय सरकारको कानुनी क्षेत्राधिकार, काम, कर्तव्य र अधिकार’ विषयमा पूर्वमहान्याधिवक्ता मुक्ति प्रधानले प्रशिक्षण दिँदै छन् ।

यस्तै ‘संघीयता र स्थानीय सरकार’ विषयमा स्थानीय तहका विज्ञ डा. खिमलाल देवकोटा, ‘स्थानीय तह र सामाजिक न्याय’ विषयमा पार्टीको स्थानीय तह विभागका प्रमुख उर्मिला अर्याल र ‘स्थानीय सरकार र सुशासन’ विषयमा पूर्वमुख्यसचिव लीलामणि पौड्याल, ‘स्थानीय तहमा स्वास्थ्य र शिक्षा’ विषयमा पार्टी स्कुल विभाग प्रमुख गिरिराजमणि पोखरेलले प्रशिक्षण दिनेछन् ।
प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका मेयर, उपमेयर, केही स्वन्तन्त्र निर्वाचित उम्मेदवार गरी २६० जनप्रतिनिधि र पार्टीका शीर्ष नेता सहभागी छन् ।
दोस्रो दिन अर्थमन्त्री जनार्दन शर्माले ‘आव ०७९/८० को सरकारको नीति तथा कार्यक्रम र बजेट’, राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलले ‘स्थानीय तहको नीति, योजना र कार्यक्रम’, पार्टीको श्रम, अर्थ तथा योजना विभागका प्रमुख वर्षमान पुनले ‘स्थानीय अर्थतन्त्रको निर्माण र नेपाली विशेषताको समाजवाद’, चन्द्रकान्त भण्डारीले ‘स्थानीय तहको लेखा प्रणाली’बारे प्रशिक्षण दिनेछन् ।
‘स्थानीय तहको बजेट निर्माण’ विषयमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ, ‘स्थानीय तहको विद्यालय शिक्षण सिकाइ’, विषयमा सुलभ बुढाथोकी, ‘स्थानीय तहमा विज्ञान प्रविधिको प्रयोग’ विषयमा पार्टीको विज्ञान तथा प्रविधि विभागका प्रमुख गणेश साह, ‘स्थानीय तहमा सूचना प्रविधि’ विषयमा शैलेन्द्र गिरी र ‘स्थानीय तहमा वन, वातावरण र विपत् व्यवस्थापन’सम्बन्धमा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले प्रशिक्षण दिनेछन् ।


प्रतिक्रिया