सम्पत्ति सुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी प्रतिवेदन दिन समितिको निर्देशन

नेपालखोज २०७९ जेठ १८ गते १८:१४

काठमाडौं । बिमा समितिको आयोजनामा आज समितिको कार्यालय, कुपण्डोल, ललितपुरमा निर्जीवन बिमा कम्पनीहरूका परिपालन अधिकृत र सम्पत्ति सुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण हेर्ने कार्यान्वयन अधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बिमा समितिका कानुन तथा नियमन महाशाखाका प्रमुख एवं निर्देशक दिनेश कुमार लालले समितिबाट उपलब्ध गराइएको ढाँचामा परिपालन प्रतिवेदन र सम्पत्ति सुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी (एएमएल, सीएफटी) सम्बन्धी प्रतिवेदन तोकिएको मितिमा समितिमा पेस गर्न निर्देशन दिए ।

निर्देशक लालले परिपालन अधिकृतहरूले कम्पनीमा बिमा ऐन, नियम रसमितिबाट जारी निर्देशिका, निर्देशन एवं परिपत्र अनुरूप काम भएको छ छैन र समस्याहरू के के छन् भन्ने बारेमा तथ्यपरक ढङ्गले उल्लेख गरी समस्या समाधानको कार्ययोजना सहित परिपालन प्रतिवेदन पेस गर्नुपर्ने बताए ।

निर्देशक लालले बिमा क्षेत्रमा सम्पत्ती सुद्धिकरणको जोखिमलाई ध्यानमा राखेर पर्याप्त काम भएको नपाइएकाले त्यस्तो जोखिमलाई समेत विशेष ध्यान दिई एएमएल, सीएफटी सम्बन्धी प्रतिवेदन तयार गरी सम्बद्ध निकायमा समेत जानकारी दिन निर्देशन दिए । साथै, उनले एएमएल, सीएफटी सम्वेदनशील विषय भएकाले त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने
बताए ।

कार्यक्रममा बिमा समितिका नियमन शाखा प्रमुख एवं उपनिर्देशक कुन्दन सापकोटाले परिपालन प्रतिवेदन सम्बन्धी प्रस्तुती दिँदै परिपालन प्रतिवेदनमा कम्पनीका काम कारवाहीका साथै कमी कमजोरीसमेत प्रष्टसँग उल्लेख गर्न र संचालक समितिबाट स्वीकृत गरेर मात्र समितिमा पेस गर्न आग्रह गरे ।

यसैगरी, समितिका उपनिर्देशक (कानुन) हृदयश्वर पण्डितले एएमएल, सिएफटी सम्बन्धी प्रस्तुती गर्दै बिमा क्षेत्रमा सम्पत्ति सुद्धिकरणको जोखिमका आधारमा जोखिम विश्लेषण गर्न र शंकास्पद कारोबार पहिचान गरी सम्बद्ध निकायमा समेत जानकारी दिन आग्रह गरे ।

कार्यक्रममा बिमा समितिका निर्देशक पूजन ढुङ्गेल (अधिकारी), उपनिर्देशक (कानुन) शाम्भराज लामिछाने र सहायक निर्देशकहरू प्रदिप गौतम तथा गीता नेपाल आचार्य र निर्जीवन बिमा कम्पनी तथा पुनर्बिमा कम्पनीहरूका परिपालन अधिकृतहरूका साथै सम्पत्ति सुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण हेर्ने कार्यान्वयन अधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया