बजेटमा समावेश कार्यक्रम कार्यान्वयनको तयारी सुरु

नेपालखोज २०७९ जेठ १९ गते १६:०४

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश भएका विषय कार्यान्वयनका लागि पूर्वतयारी सुरु गरेको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले मन्त्रालयमा आज (बिहीबार) आगामी आर्थिक वर्ष (आव) का लागि आएको नीति तथा कार्यक्रम र बजेटमा समावेश कार्यक्रम कार्यान्वयनको विषयमा बैठक राखी यसको प्रभावकारी कार्यान्वयनमा लाग्न माताहतका निकायलाई निर्देशन दिइन् ।

विकासमा देखिएको असारेपना अन्त्य गर्दै समयमै आवश्यक नीति, कार्यविधि तथा कार्ययोजना बनाइ साउन १ देखि नै कार्यक्रम र बजेट प्रभावकारी रूपमा कार्यान्वयनमा लैजाने गरी काम गर्नसमेत मन्त्री श्रेष्ठले निर्देशन दिइन् ।

हाम्रो समस्या बजेटभन्दा पनि कार्यान्वयनमा रहेको ढिलासुस्ती प्रमुख रहेको औंल्याउँदै उनले आगामी दिनमा बजेटको मात्रै पछि नलागी प्रभावकारी कार्यान्वयन र जनताले महसुस गर्ने खालको उपलब्धि हासिल गर्न मातहतका सबै निकायलाई उच्च मनोबल साथ लाग्न निर्देशन दिइन् ।

यसैबीच, भूउपयोग ऐनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन मन्त्रालयका सह–सचिव एव भूमि प्रशासन महाशाखा प्रमुख पद्मनिधि सोतीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठनसमेत गरिएको छ ।

प्रतिक्रिया