बुधबार, असार ११, २०८२

कुरानमा के छ ? यी हुन् पाँच आवश्यक कुरा !

नेपालखोज २०७९ जेठ २० गते ५:०१

मानिसको सुखमय जीवनका लागि यी पाँचवटा कुरा अत्यन्तै महत्त्वपूर्ण छन् । सम्पूर्ण शास्त्रहरूले ती कुराहरूको सुरक्षा गर्न र त्यसको विपरीत क्रियाकलापहरू रोक्न आदेश दिएका छन् ।

इस्लामले यी महत्त्वपूर्ण कुरालाई पूर्ण रुपमा सुरक्षित गरेको छ । ताकि एउटा मुस्लिमले सुख र शान्तिले सास फेर्न सकोस्, लोक-परलोकका लागि कर्म गर्न सकोस् । मुस्लिम समुदाय एउटा बलियो पर्खाल झैं आपसमा मिलेर जीविका निर्वाह गर्दछ । जसरी कुनै अंगमा काँडा बिज्छ भने पूरै शरीर नै ज्वरो र पीडाले ग्रस्त हुन्छ, त्यसरी नै यिनीहरूबीच नङ-मासुको सम्बन्ध हुन्छ । निम्न दुई तरिकाले यसको सुरक्षा गर्न सकिन्छ-

अल्लाहले ज्यानलाई सुरक्षा गर्ने आदेश दिनुभएको छ चाहे त्यो वर्जित तरिकाले किन नहोस् ।
१ . स्थापित र राम्रो हेरचाह गरेर ।
२ . कमी-कमजोरी र गडबडीबाट बचाएर ।

क. धर्मको सुरक्षा –
धर्म नै हाम्रो जीवनको असल उद्देश्य हो । यसैका लागि अल्लाहले हामीहरूलाई सृष्टि गर्नुभएको छ । यसैको प्रचार-प्रसार र
सुरक्षाका लागि रसुलहरू (सन्देष्टाहरू) लाई पठाउनुभएको छ । अल्लाहले भन्नुभएको छ- ‘हामीले प्रत्येक समुदायमा रसुल पठायौं । केवल अल्लाहको उपासना गर र उहाँबाहेक सम्पूर्ण मिथ्या उपास्यको उपासनादेखि नै टाढा रहने गर ।’ (कुरान : १६/३६)

इस्लामको स्वच्छ सन्देशलाई सुरक्षित राख्नका लागि बहुदेववाद, अन्धविश्वास, पाप र अवैध कुराहरूदेखि सचेत रहने आदेश दिइएको छ ।

ख. शरीरको सुरक्षा –
अल्लाहले मानव जातिलाई आफ्नो ज्यानको सुरक्षा गर्ने आदेश दिनुभएको छ, यद्यपि त्यो वर्जित तरिकाले किन नहोस्, किनकि कठिन परिस्थितिमा वर्जित कार्यलाई पनि माफी दिइएको छ । अल्लाहले भन्नुभएको छ- ‘तर जो परिबन्धमा परेको छ, ऊ अवज्ञाको मनसाय नराखी र सीमा उल्लंघन नगरीकन अवैध खाने कुरालाई पनि सेवन गर्छ भने उसलाई कुनै पाप लाग्दैन । वास्तवमा अल्लाह नै अति क्षमाशील र परम दयाल् हुन् ।’ (कुरान : २/१७३)

अल्लाहले ज्यान मार्ने र मानवलाई क्षति पुर्याउने हरेक क्रियाकलापलाई अवैध गर्नुभएको छ । अल्लाहले भन्नुभएको छ- ‘आफ्नो
खुट्टामा आफैंले बन्चरो नहान ।’ (कुरान : २/१९५)

जुनसुकै धर्म मान्ने व्यक्तिहरूमाथि बिनाआधार अत्याचार गर्नेहरूका लागि अल्लाहले कानुन, सजाय र मृत्युदण्डलाई अनिवार्य गर्नुभएको छ । अल्लाहले भन्नुभएको छ- ‘हे आस्थावानहरू हो ! तिमीहरूमाथि हत्याको मामिलामा मृत्युदण्ड (किसास) अनिवार्य गरिएको छ ।’ (कुरान : २/१७८)

ग. बुद्धिको सुरक्षा –
इस्लामले बुद्धि र सोचविचारलाई नष्ट पार्ने सम्पूर्ण कुरालाई अवैध गरेको छ, किनकि बुद्धि अल्लाहको एउटा अमूल्य वरदान हो । त्यसैले नै हामीले सर्वश्रेष्ठ प्राणीको उपाधि पाएका छौं । लोक-परलोकमा हिसाब-किताब पनि यसैमाथि निर्भर छ । तसर्थ अल्लाहले सम्पूर्ण मादक पदार्थहरूलाई अवैध मात्र होइन, बरु अपवित्र एवं सैतानी कार्यसमेत घोषित गर्नुभएको छ । अल्लाहले भन्नुभएको छ- ‘हे आस्थावानहरू हो ! मदिरा सेवन गर्नु, जुवा खेल्नु, थान (अल्लाहबाहेकको नाममा बलि दिनु) तथा तीर (हानेर भाग्य पत्ता लगाउनु) अपवित्र र सैतानी कार्य हुन् । त्यसैले यी कुराहरूबाट टाढा बस, यसरी तिमीहरू सफल हुनेछौ ।’ (कुरान : ५/९०)

घ. वंशको सुरक्षा –
इस्लामले वंशको सुरक्षा, परिवारको निर्माण र उच्च संस्कारको शिक्षाका लागि अतलुनीय भूमिका निर्वाह गरेको छ । तीमध्ये केही निम्नलिखित छन् :

-इस्लामले कम खर्चमा विवाह गर्न, गराउन र अनावश्यक खर्च नगर्न प्रेरणा दिन्छ । अल्लाहले भन्नुभएको छ- ‘अविवाहितहरूलाई विवाह गराइदेऊ ।’ (कुरान : २४/३२)

-वंशको सुरक्षाकै लागि इस्लामले हरेक प्रकारको अनैतिक सम्बन्धलाई अवैध गरेको छ र यसका सम्पूर्ण स्रोत र साधनहरूमाथि प्रतिबन्ध लगाएको छ । अल्लाहले भन्नुभएको छ- ‘जिना (व्यभिचार) को नजिक पनि नजाऊ, किनभने त्यो अति निर्लज्ज कार्य र कुमार्ग हो ।’ (कुरान : १७/३२)

-इस्लामले कसैको वंश र इज्जतमाथि आरोप लगाउन मनाही गरिएको छ । यसलाई महापाप घोषित गर्दै संलग्न व्यक्तिहरूका लागि दुनियाँमा यातनापूर्ण सजाय तोकेको छ र परलोकमा कठोर यातनाले उसको स्वागत हुनेछ ।

-इस्लामले पुरुष र महिलाको मान-मर्यादालाई जोगाउन आदेश दिएको छ । यदि कोही आफ्नो र परिवारको इज्जतको सुरक्षा गर्दागर्दै हताहत हुन्छ भने उसलाई सहिदको दर्जा दिइएको छ ।

ङ. धनको सुरक्षा –
इस्लामले धन-सम्पत्तिको सुरक्षा र रोजगारिका लागि भागदौडलाई अनिवार्य गरेको छ । विभिन्न कारोबार, मुद्रा विनिमय र व्यवसायलाई वैध गरेको छ । इस्लामले धन-सम्पत्तिकै सुरक्षाको लागि ब्याज, चोरी, डकैती, लुटपाट, धोका, छलकपट र विश्वासघातलाई अवैध गरेको छ । यस्तो कार्य गर्ने व्यक्तिहरूलाई कुराले ठूलो यातनाको धम्की दिएको छ ।
(फहद बिन सालिम बाहमामको नयाँ मुस्लिम निर्देशिकामा आधारित ।)

प्रतिक्रिया