मंगलबार, वैशाख ११, २०८१

‘निजामती राष्ट्रसेवकमा शासक होइन सेवककै भावना हुनुपर्छ’

नेपालखोज २०७८ फागुन ३० गते ९:५५

मधेस प्रदेशको सर्लाही जिल्लाको प्रशासनिक नेतृत्व अहिले रतुवामाई ६, मोरङका थानेश्वर गौतमको काँधमा छ । २०७८ पुस १३ गतेदेखि सर्लाहीको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गौतम कुशल प्रशासकका रूपमा परिचित छन् ।
निजामती सेवा प्रवेश, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ गौतमलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । निजामती सेवामा झन्डै ३२ वर्ष बिताएका सर्लाहीका प्रजिअ गौतम यसअघि गृह मन्त्रालयमा कार्यरत थिए । त्यसअघि कास्की जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा समेत उनी कार्यरत थिए ।
प्रजिअ गौतम सेवाग्राहीलाई सदैव सहज सेवा प्रवाह गर्नुपर्नेमा जोड दिन्छन् । सेवाग्राहीले नबुझेको कुरा बुझाएर पठाए कार्यसम्पादनमा पनि सहज हुने उनको विश्वास छ । ‘कार्यालयमा भिड भएकाले साथीहरुले तपाईंको हुँदैन पछि आउनू मात्र भन्नुहुन्छ । अनि अर्कोपटक आउँदा अर्को डकुमेन्ट हुँदैन, फेरि आउँदा अर्को डकुमेन्ट हुँदैन अनि सेवाग्राही इरिटेड हुन्छ,’ प्रजिअ गौतमले नेपालखोजसँग भने, ‘ऊ त सेवाग्राही हो अनि ऊ निराश हुन्छ । राज्यप्रति नै आक्रोशित हुन्छ ।’
सर्लाहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) थानेश्वर गौतमसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ४८औं शृंखला :

हाइलाइट्स :
-सेवाग्राहीप्रति एउटा राष्ट्रसेवक गर्नुपर्ने व्यवहारअनुरुप नै काम गरेको छु । हामी निजामती राष्ट्रसेवकले शासक होइन सेवकको भावना हुनुपर्छ भनेर सेवा दिँदै आएको छु ।
-हामीलाई कर्मचारीकै समस्या छ । अहिले हाम्रो कार्यालमा ठूलो भिड छ । राष्ट्रिय परिचयपत्र, मतदाता नामवली नागरिकतालगायतले अझ पनि भिड छ । हामीसँग जनशक्ति अभाव भयो । सबैभन्दा पहिले जनशक्ति नभएकाले लोकसेवाबाट आउन समय लाग्छ, हामी नियुक्त गर्न सक्दैनौं त्यही भएर जनशक्ति म्यानेज र डेक्स पनि थप गरेर काम गरिएको छ ।
-कार्यालयमा भिड भएकाले साथीहरुले तपाईंको हुँदैन पछि आउनू मात्र भन्नुहुन्छ । अनि अर्कोपटक आउँदा अर्को डकुमेन्ट हुँदैन, फेरि आउँदा अर्को डकुमेन्ट हुँदैन अनि सेवाग्राही इरिटेड हुन्छ । ऊ त सेवाग्राही हो अनि उ निराश हुन्छ ।
-स्थानीय तहमा विकासको स्रोत-साधन गएको छ । त्यहँका समस्या र जनताको गुनासाहरु कसले हेर्ने त ? एक समय यसबारेमा हेर्ने अधिकार सीडीओलाई थियो । अनि केही मानिसहरु पहिलाकै हिसाबले आउनुहुन्छ । त्यो हाम्रो क्षेत्र अधिकारभित्र छैन अहिले ।
-जतिबेला म निजामती क्षेत्रमा प्रवेश गरेँ त्यो बेला म बेरोजगार थिएँ । मलाई रोजगारी चाहिएको थियो । जाँच दिएँ पास भइयो अनि यही क्षेत्रमा आइयो ।
-धेरै अपेक्षा नराख्ने हो भने निजामती सेवाको जागिर ठीक छ । राम्रोसँग पढेपछि पास होइन्छ ।
-बोर्डिङ (निजी) पढेका, राम्रो स्कुल पढेका केही त निजामती सेवामा आएका छन् । तर मध्यम र निम्न वर्गका मात्र आएका छन् ।
-मलाई पुराना प्रशासकहरुले लेखेका किताबहरु अवकाशप्राप्त प्रशासकले लेखेका किताब पढ्न मन पर्छ । उहाँहरुले लेखेको अनुभव काम लाग्छ हामीलाई । इतिहास भनेको हाम्रा लागि ठूलो शिक्षा हो ।
-चाँडो-चाँडो सरुवाले त कार्यसम्पादनमा एकदम प्रत्यक्ष प्रभाव पार्छ । नकारात्मकै प्रभाव पार्छ ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
व्यक्तिगत रुपमा भन्नुपर्दा सफल नै छु जस्तो लाग्छ । सेवाग्राहीप्रति एउटा राष्ट्रसेवक गर्नुपर्ने व्यवहारअनुरुप नै काम गरेको छु । विभिन्न कार्यालयमा विभिन्न पदमा रहेर जिम्मेवारी निर्वाह गर्दा सेवाग्राहीप्रति हामी निजामती राष्ट्रसेवकले शासक होइन सेवकको भावना हुनुपर्छ भनेर सेवा दिँदै आएको छु । सेवाग्राहीको समस्या राम्रोसँग सुन्ने र सम्बोधन गर्ने भएकाले र उहाँहरुकबाट पनि मैले राम्रो फिडब्याक पाएको हुनाले, कुरा राम्रोसँग सुनिदिनुभयो भनेर तत्काल र पछि पनि राम्रो फिडब्याक पाएको हुनाले आफूले राम्रै गरेको छु भन्ने लाग्छ ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
त्यसलाई दबाबकै रुपमा त नलिऔं । मैले त अहिलेसम्म दबाबको महसुस गरेको छैन । विभिन्न क्षेत्र तहबाट यस्तो गरिदिएहुन्थ्यो भन्ने आग्रहचाहिँ हुन्छ । दबाब त मैले महसुस गरेको छैन ।

सेवाग्राहीलाई सहज सेवा प्रवाहका लागि कार्यालयमा कस्तो खालको संयन्त्र बनाउनुभएको छ ?
सर्लाहीको कुरा गर्दा हामीसँग जनशक्ति एकदम न्यून छ । हामीसँग दरबन्दीअनुसार कर्मचारी हुनुहुन्न । हामीसँग सहायक प्रजिअ हुनु हुँदैन । दशजना नासुमा तीनजना मात्र हुनुहुन्छ । अन्य कार्यालय, कारागार, पालिकाहरुबाट सहयोग मागेर काम गर्नुपरेको छ । हामीलाई कर्मचारीकै समस्या छ । अहिले हाम्रो कार्यालमा ठूलो भिड छ । राष्ट्रिय परिचयपत्र, मतदाता नामावली नागरिकतालगायतले अझ पनि भिड छ । त्यो भएकाले हामीसँग जनशक्ति अभाव भयो । सबैभन्दा पहिले जनशक्ति नभएकाले लोकसेवाबाट आउन समय लाग्छ, हामी नियुक्त गर्न सक्दैनौं । जनशक्ति म्यानेज र डेक्स पनि थप गरेर काम गरिएको छ । अर्कोचाहिँ कर्मचारीको बैठकमा के भनेको छु भने तपाईं मिठो र सेवाग्राहीको कुरा मजाले सुन्नुभयो भने आधा कुरा समाधान हुन्छ । सेवाग्राहीसँग राम्रोसँग बोल्नुभएन, कुरा सुन्नुभएन, झर्कोफर्को गर्नुभयो भने ऊ पनि आक्रोशमा आउँछ र समस्या खडा हुन्छ । नम्र व्यहार गर्नुभयो भने समस्या समाधान हुन्छ मैले पहिलेदेखि नै स्टाफ मिटिङमा भन्दै आएको छु । सबै कार्यालयमा यो हुन जरुरी छ । एकपटकमा यस्ता कुरामा सुधार हुँदैन पनि । हामी सबै एउटा-एउटा फरक समुदाय र संस्कारमा हुर्किएका हुन्छौं । यो समाजमा अलि ठूलो स्वरले बोल्नुपर्ने खालको संस्कार छ हामी त्यसरी नै विकसित भएका छौं । हाम्रा केही साथीहरु यसमै बानी पर्नुभएको छ । म उहाँहरुलाई बेलाबेला सचेत गर्छु । आएको काम यो कारणले हुन सकेन भनेर यो डकुमेन्ट पुगेन भनेर एकैपटक भने पुग्छ । आमसमस्या के छ भने यहाँ मात्र होइन सबैतिर भिड हुन्छ त्यहाँ डिल गर्न फुर्सद हुँदैन । भिड भएकाले साथीहरुले तपाईंको हुँदैन पछि आउनू मात्र भन्नुहुन्छ । अनि अर्कोपटक आउँदा अर्को डकुमेन्ट हुँदैन, फेरि आउँदा अर्को डकुमेन्ट हुँदैन अनि सेवाग्राही इरिटेड हुन्छ । ऊ त सेवाग्राही हो अनि ऊ निराश हुन्छ । राज्यप्रति नै आक्रोशित हुन्छ ।

संघीयताअघि र अहिलेको निजामती सेवाको कार्यसम्पादनमा के फरक पाउन सकिन्छ ?
केही कार्यालयका कामहरु स्थानीय तहतिर गएका छन् । समग्रमा तीन तह भनेको नै सरकार हो । कार्यसम्पादनमा ठ्याक्कै फरक भन्ने होइन । तर पनि संघीयताले तल अधिकार लगेको छ । स्थानीय तहमा धेरै अधिकारहरु त छन् । जनशक्ति छैन तल अनि अर्को जति अधिकार मलाई छ मैले त्योअनुसार काम गर्नुपर्छ भन्ने माहोलको अभाव देख्छु म सबैतिर एउटै हो खासगरी जहाँ शिक्षा र चेतनाको कम छ । तराईमा चाहिँ मैले अलि बढी नै देखेँ । जस्तो चार तहको न्याय प्रणाली स्थापना भयो । तीन तहको अदालत र स्थानीयतहलाई पनि न्यायिक अधिकार दिएको छ । त्यहाँको न्यायिक समितिले गर्नुपर्ने काम नै नगरेको र स्थानीय निकायले हुर्नुपर्ने विषय नै प्रमुख जिल्ला अधिकारीकोमा निवेदन लिएर आइरहेको हुन्छन् योचाहिँ मैले यहाँ अझ बढी देखेँ । सीमा मिचेको, बाटो विवाद समान्य झै-झगडाको विषय त त्यहीँ तपाईंको स्थानीय न्यायिक समितिले हेर्छ यहाँ आउनु नै पर्दैन भन्दा त्यहाँ वास्ता हुन्न हेर्दै हेर्दैन भन्ने गुनासो हुन्छ । स्थानीय तहको पदाधिकारीको भनाइ के छ भने हामीले भनेको मान्दैन तपाईं प्रहरी लगाएर गरिदिनुपर्‍यो भन्ने छ । स्थानीय तहमा विकासको स्रोत-साधन गएको छ । त्यहँका समस्या र जनताको गुनासाहरु कसले हेर्ने त ? एक समय यसबारेमा हेर्ने अधिकार सीडीओलाई थियो । अनि केही मानिसहरु पहिलाकै हिसाबले आउनुहुन्छ । त्यो हाम्रो क्षेत्र अधिकारभित्र छैन अहिले ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
जतिबेला म निजामती क्षेत्रमा प्रवेश गरेँ त्यो बेला म बेरोजगार थिएँ । मलाई रोजगारी चाहिएको थियो । जाँच दिएँ पास भइयो अनि यही क्षेत्रमा आइयो । मलाई थाहै थिएन । के राम्रो के नराम्रो मलाई त बैंक राम्रो हो कि जस्तो लाग्थ्यो । किनभने राष्ट्र बैंक र कृषि विकास बैंकमा काम गर्ने साथीहरुको राम्रो सुविधा हुन्थ्यो जस्तो लाग्थ्यो । जब यस क्षेत्रमा प्रवेश गरेँ अनि यहाँको स्कोपको बारेमा थाहा भयो । अफिसर नहुँदासम्म अरु संस्था र संस्थानतिर पनि परीक्षा दिइयो । अफिसर (शाखा अधिकृत) भइसकेपछि यसमा स्कोप रहेछ, करिअरको हिसाबले माथिसम्म पुग्न पाइन्छ भन्ने भयो, त्यसबेला लोकसेवाले फेयर जाँच लिन्छ भन्ने भयो । त्यतिबेला संस्थानहरुले आफैं जाँच लिन्थे त्यहीँ फेयर (निष्पक्ष) हुन्छ भन्ने थिएन । लोकसेवामा निष्पक्ष हुन्छ त्यसैले पढेपछि पास होइन्छ भन्ने थियो । धेरै अपेक्षा नराख्ने हो भने निजामती सेवाको जागिर ठीक छ । राम्रोसँग पढेपछि पास होइन्छ ।

निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
एउटा उच्च वर्ग छ । जसको बाउबाजेको बिजनेस छ सहरमा बसेको छ । केही न केही पेसा गरेको छ । उसको पुस्ता निजामती सेवामा आउँदैन । हामीजस्तो मध्यम वर्गीय परिवारको जागिर खायो एउटा पदमा ओहोदामा पुग्यो । त्यसका बच्चा पनि राम्रै स्कुलमा पढे । राम्रै ठाउँमा बसे । सुविधा पनि उपयोग गरे उनीहरु पनि आउँदैनन् । अधिकांश यो क्षेत्रमा आउँदैनन् । केहीको मात्र आउँछन् । लोकसेवामा को आकर्षित भयो भन्दा हामी जुनबेला गाउँबाट उठेर आयौं त्यही मध्यम वर्ग, त्यही सरकारी स्कुल पढेको वर्ग मात्र आयो । बोर्डिङ (निजी) पढेका, राम्रो स्कुल पढेका केही त आएका छन् । तर मध्यम र निम्न वर्गका मात्र आएका छन् । मध्यमवर्गको पनि सुविधा भोगेको, सहरमा बसेको, पढेको साथी-संगत जीवनशैली हेर्छ ऊ पनि आउँदैन ।

फुर्सदमा कस्ता पुस्तक पढ्न रुचाउनुहुन्छ ?
मलाई पुराना प्रशासकहरुले लेखेका किताबहरु अवकाशप्राप्त प्रशासकले लेखेका किताब पढ्न मन पर्छ । उहाँहरुले लेखेको अनुभव काम लाग्छ हामीलाई । इतिहास भनेको हाम्रा लागि ठूलो शिक्षा हो । ए त्यतिबेला यस्तो रहेछ भन्ने हुन्छ । पहिला लोकसेवा आयोगलाई काम लाग्ने किताबहरु पढिन्थ्यो । एकदम लोकसेवा आयोगको पोइन्ट अफ भ्युबाट पढिन्थ्यो । सहसचिव भइहालियो, अब कम्पिटिसन गर्नु छैन । सहित्यिक र अनुभवका किताब पढिन्छ ।

कर्मचारीको बैठकमा के भनेको छु भने तपाईं मिठो र सेवाग्राहीको कुरा मजाले सुन्नुभयो भने आधा कुरा समाधान हुन्छ ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
चाँडो-चाँडो सरुवाले त कार्यसम्पादनमा एकदम प्रत्यक्ष प्रभाव पार्छ । नकारात्मकै प्रभाव पार्छ । अरु सामान्य अफिसमा पनि असर पर्छ । प्रत्येक कार्यालयको नेचर फरक पर्छ । यो मान्छे यो अफिसमा मात्र भनेर तोकेको अवस्था छैन । त्यही नयाँ कार्यालयमा गएर काम सिक्न सिक्न लागेको हुन्छ त्यही बेलामा सरुवा हुन्छ, फेरि अर्को जान्छ सिक्न सिक्न लागेको हुन्छ सिक्दा-सिक्दै जान्छ । जानेर काम गर्ने मौका मिल्दैन । एउटा योजना बनाएको हुन्छ यसरी जान्छु भन्ने योजना हुन्छ । काम गर्नै पाइँदैन । तसर्थ चाँडो सरुवाले कार्यसम्पादनमा प्रभाव त पार्छ नै ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले कर्णाली प्रदेशको जुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईसँग कुराकानी गरेका थियौं । यसपटक हामीले मधेस प्रदेशको सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

विजयाकुमारी प्रसाई, प्रजिअ, जुम्ला – ‘स्रोत-साधन एकदमै थोरै, जनताका अपेक्षा धेरै’

किरण थापा, प्रजिअ, कैलाली – ‘निजामती सेवा फराकिलो क्षेत्र हो, गर्छु भन्नेलाई देखाउने ठाउँ पनि छ’

कृष्णप्रसाद लम्साल, प्रजिअ, धादिङ – ‘मुलुकको सेवा गर्नुपर्छ भन्ने सोचले निजामतीतर्फ लाग्ने प्रेरणा मिल्यो’

शंकरबहादुर विष्ट, प्रजिअ, डोटी – ‘सेवाग्राहीले नतिजा खोज्छ, हामी प्रक्रिया फलो गर्छौं’

दिलकुमार तामाङ, प्रजिअ, ओखलढुंगा – ‘सार्वजनिक प्रशासनको मियो नै निजामती सेवा हो’

नवराज जैशी, प्रजिअ, रसुवा – ‘अनुभव पढेर होइन गरेर आफैं पाइने कुरा हो’

कृष्णबहादुर कटुवाल, प्रजिअ, बारा – ‘हामी जनताकै छोरा हौं, जनताले दु:ख नपाउने गरी काम गर्नुपर्छ’

खिमराज भुसाल, प्रजिअ, प्युठान – ‘जनतालाई सेवा गर्ने उपयुक्त अवसर’

सिद्धराज जोशी, प्रजिअ, दार्चुला – ‘जनता नै जनार्दन हुन् भन्ने भावना राखेर काम गर्नुपर्छ’

गोपालकुमार अधिकारी, प्रजिअ, बाजुरा – ‘चाँडो-चाँडो सरुवा, फाइदाभन्दा हानि धेरै’

फणीन्द्र दाहाल, प्रजिअ, खोटाङ – ‘निजामती प्रणालीका केन्द्रविन्दु भनेकै जनता हुन्’

जगन्नाथ पन्त, प्रजिअ, पाल्पा – ‘सेवाग्राहीको चाप हुने अड्डामा कर्मचारी थोरै छन्’

रुद्रबहादुर मल्ल, प्रजिअ, अछाम – ‘कानुन छाडेर काम गर्दैनौं’

अनोजकुमार घिमिरे, प्रजिअ, तेह्रथुम – ‘नागरिकको खुसी नै हाम्रो खुसी हो’

रमेश न्यौपाने, प्रजिअ, सिन्धुली – ‘नीति-नियम र प्रक्रियालाई आधार मानेर काम गर्छु’

हरि प्याकुरेल, प्रजिअ, दैलेख – ‘लोकसेवाको छनोट प्रक्रिया एकदमै उत्कृष्ट’

मनमाया भट्टराई पंगेनी, प्रजिअ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) – ‘सेवाग्राहीको माया मेरो आशीर्वाद’

टेकराज निरौला, प्रजिअ, दोलखा – ‘नोकरी गर्नेलाई निजामती सेवा आकर्षणको प्रमुख थलो’

उमेशकुमार ढकाल, प्रजिअ, पर्सा – ‘जनताको समस्या सुन्ने पहिलो काम प्रजिअकै हो’

गणेशविक्रम शाही, प्रजिअ, सोलुखुम्बु – ‘आफूले बनाएको योजना आफैं सम्पादन गर्न पाए नतिजा पनि उत्कृष्ट आउँछ’

लक्ष्मीप्रसाद बास्कोटा, प्रजिअ, रुकुम पूर्व – ‘निजामती सेवामा आकर्षणको दायरा बढेको छ’

देवी पाण्डे खत्री, प्रजिअ, पर्वत – ‘निजी क्षेत्रको पीडा निजामतीमा छैन’

प्रतिक्रिया