चितवनमा ४ अर्ब ७२ करोड २१ लाख रूपैयाँ बजेट विनियोजन

चितवन । संघीय सरकारले चितवन जिल्लालाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि चार अर्ब ७२ करोड २१ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । जिल्लामा महानगरपालिका एक, नगरपालिका पाँच र गाउँपालिका एक छ । जिल्लामा सबैभन्दा बढी बजेट भरतपुर महानगरपालिकालाई एक अर्ब ८० करोड २४ लाख रूपैयाँ अनुदान बजेट विनियोजन गरिएको छ ।
भरतपुरले आगामी आवका लागि समपूरक बजेट दुई करोड ५० लाख रूपैयाँ र विशेष अनुदान १४ करोड आठ लाख रूपैयाँसमेत पाएको छ । त्यस्तै एक अर्ब २२ करोड ४५ लाख सशर्त अनुदान पाएको भरतपुरले वित्तीय समानीकरण अनुदानमा ५१ करोड ६९ लाख रूपैयाँ पाउने भएको छ ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)की उम्मेद्वार रेनु दाहाल निर्वाचित भएकी छन् । नगरप्रमुख दाहालकै पहलमा भरतपुरमा ठूला–ठूला आयोजना आउन सफल भएका छन् ।
संघीय सरकारले यसै वर्षदेखि सुरु गर्ने गरी भरतपुरमा शिक्षक अस्पतालका लागिसमेत बजेट छुट्याइसकेको छ । यसैगरी जिल्लामा दोस्रो बढी बजेट प्राप्त गर्ने रत्ननगर नगरपालिका छ । यस नगरपालिकाले ५९ करोड ७२ लाख रूपैयाँ बजेट संघीय सरकारबाट पाएको छ । यसमा समानीकरण अनुदान २० करोड ९६ लाख रूपैयाँ, सशर्त अनुदान ३३ करोड ७६ लाख रूपैयाँ र विशेष अनुदान पाँच करोड रूपैयाँ छ ।
त्यस्तै राप्ती नगरपालिकाले संघीय सरकारबाट ५५ करोड ५९ लाख रूपैयाँ बजेट पाएको छ । राप्तीले पाएको बजेटमध्ये समानीकरण अनुदान १८ करोड ५३ लाख रूपैयाँ, सशर्त अनुदान २४ करोड २६ लाख रूपैयाँ र विशेष अनुदानतर्फ दुई करोड रूपैयाँ रहेको छ । माडी नगरपालिकाले सङ्घीय सरकारबाट अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ४९ करोड ६० लाख प्राप्त गरेको छ ।
जसमध्ये समानीकरण अनुदान १३ करोड ९२ लाख रूपैयाँ, सशर्त अनुदान ३१ करोड ९८ लाख रूपैयाँ र विशेष अनुदान दुई करोड ५० लाख रूपैयाँ रहेको छ । खैरहनी नगरपालिकाले संघीय सरकारबाट आव २०७९/८० मा रु ४८ करोड आठ लाख बजेट प्राप्त गरेको छ । जसमध्ये समानीकरण अनुदानमा १८ करोड १८ लाख रूपैयाँ, सशर्त अनुदानमा २५ करोड १२ लाख रूपैयाँ र विशेष अनुदानमा तीन करोड ५८ लाख रूपैयाँ रहेको छ ।
त्यस्तै कालिका नगरपालिकाले ४० करोड ९८ लाख रूपैयाँ बजेट पाएको छ । जसमध्ये समानीकरण अनुदान १५ करोड ५६ लाख रूपैयाँ, सशर्त अनुदान २३ करोड ४२ लाख रूपैयाँ र विशेष अनुदान एक करोड रूपैयाँ प्राप्त गरेको छ । जिल्लाको इच्छाकामना गाउँपालिकाले सङ्घीय सरकारबाट जिल्लाका स्थानीय तहमा सबैभन्दा कम बजेट प्राप्त गरेको छ ।
गाउँपालिकाले आव २०७९÷८० मा अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत सङ्घीय सरकारबाट ३८ करोड बजेट प्राप्त गरेको छ । गाउँपालिकाले समानीकरण अनुदानअन्तर्गत ११ करोड १९ लाख रूपैयाँ, सशर्त अनुदानमा २४ करोड ३१ लाख रूपैयाँ र विशेष अनुदानमा एक करोड ७० लाख रूपैयाँ प्राप्त गरेको छ ।
प्रतिक्रिया