गृहमन्त्री खाँणले भने- बर्दियाकाे आन्दोलनमा गोली चलाउने आदेश दिएकै छैन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बाघको आक्रमणबाट जोगाउन माग गर्दै आन्दोलनमा उत्रिएका नागरिकमाथि गोली चलाउने आदेश नदिएको दाबी गरेका छन् । संसदमा घटनाबारे सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले बर्दियाको घटनामा दोषीलाई कारबाही गर्ने आश्वासन दिएका छन् ।
गृहमन्त्री खाँणले भने, ‘नागरिकहरुको यस्तो अवरोधमा गोली प्रहार गर्ने आदेश नै छैन । सम्झाई बुझाइ गर्ने, कमभन्दा कम शक्ति प्रयोग गर्ने भनेका छौं । सीडीओले पनि आदेश दिएको छैन भन्नु भएको छ । तर त्यहाँ गोली चलेको छ र एक युवतीको निधन भएको छ ।’
मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजारको अवस्था तनावपूर्ण भएको छ । बाघको आक्रमणबाट जोगाउन माग गर्दै गरिएको आन्दोदनमा ज्यान गुमाउनेमा कक्षा १२ मा अध्ययनरत नविना थारु छिन् । अवरुद्ध गरेको बाटो खुलाउने क्रममा ढुंगामुढा भएपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । प्रहरी हवल्दार पार्वता खड्कालगायतका घाइते भएका छन् ।
सुरक्षाको माग राख्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् । घाइते किशोरीको उपचारका क्रममा आज (मंगलबार) विहान मृत्यु भएको जनाइएको छ । ओराली बजारका सर्वसाधारण बाघको आक्रमणबाट हैरान भएका छन् ।
घरमा रहँदा र घाँसपात गर्दा उनीहरू बाघको आक्रमणमा पर्ने गरेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको नजिकै रहेको ओराली बजारमा एक वर्षको अवधिमा बाघले २६ जनालाई आक्रमण गरेको छ । आक्रमणबाट केहीको मृत्यु भएको छ ।
अधिकांश गम्भीर घाइते भएका स्थानीय युवा सागर चौधरीले जनाए । बाघले आक्रमण गर्ने डरमा स्थानीयलाई हिँडडुल गर्न, बनपाखा जान र गाइबस्तु चराउन समेत डर छ । बाघको उचित व्यवस्थापन गरेर आक्रमण हुनबाट जोगाउन उनीहरूले माग गरेका छन् ।

प्रतिक्रिया