नेपाल बैंकको वित्तीय साक्षरता पुस्तिका सार्वजनिक

काठमाडौैं । नेपाल बैंकले ‘आर्थिक समृद्धिका लागि वित्तीय साक्षरता’ नामक वित्तीय साक्षरता पुस्तिका प्रकाशन गरी सार्वजनिक गरेको छ ।
प्रधान कार्यालय काठमाडौंमा हिजो (सोमबार) आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, नायब प्रमुख कार्यकारी अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र होमबहादुर खड्का, प्रधान कार्यालयका विभिन्न विभाग तथा डिभिजनका प्रमुखलगायतको उपस्थितिमा पुस्तिका विमोचन गरिएको थियो ।
बैंकको मार्केटिङ तथा रिसर्च डिभिजनले तयार गरेको विमोचन समारोहमा बैंकका सम्पूर्ण प्रदेशका प्रमुख र शाखा प्रबन्धकहरूको समेत भर्चुअल रूपमा उपस्थिति थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले सम्पूर्ण नेपालीमा वित्तीय ज्ञान र चेतनाको स्तरमा अभिवृद्घि गर्न पुस्तिका उपयोगी हुने विश्वास व्यक्त गर्दै वित्तीय साक्षरता कार्यक्रमहरुको प्रभावकारिताबाटै आर्थिक समृद्घि हुन सक्ने बताए ।
सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्काले नेपाल राष्ट्र बैंकको मार्गनिर्देशनबमोजिम वित्तीय साक्षरताका कार्यक्रमहरू अगाडि बढाइएको धारणा व्यक्त गर्दै यस पुस्तिकाले वित्तीय साक्षरता अभिबृद्घि गर्न महत्वपूर्ण भूमिका खेल्ने बिश्वास व्यक्त गरे ।
मार्केटिङ तथा रिसर्च डिभिजन प्रमुख अर्जुनबहादुर कँडेलले वित्तीय साक्षरता वित्तीय समावेशीकरणको महत्त्वपूर्ण आयामका रूपमा रहेको उल्लेख गर्दै आगामी दिनमा सो पुस्तिकामा अझ सुधार र परिमार्जन गर्दै लैजाने प्रतिबद्घता व्यक्त गरे ।








प्रतिक्रिया