आइतबार, असार ८, २०८२

पाँचौं संस्करणको ‘नेपाल चेम्बर एक्स्पो २०२२’ असार २ देखि, यस्ता छन् आकर्षण !

नेपालखोज २०७९ जेठ २५ गते १४:०४

काठमाडौं । नेपाली उत्पादनहरूको बजारीकरण, व्यापारिक अन्तर्क्रिया, आयात–निर्यातको सूचना आदान–प्रदानमा विशेष जोड दिँदै पाँचौं संस्करणको ‘नेपाल चेम्बर एक्स्पो २०२२’ को आयोजना गरिने भएको छ ।

नेपाल चेम्बर अफ कमर्सद्वारा वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा आगामी असार २ देखि ६ गतेसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा एक्स्पो आयोजना गर्न लागिएको हो ।

विगतका राजनीतिक उपलब्धि आत्मसात् गर्दै नेपाल अब आर्थिक समृद्धितर्फ उन्मुख हुँदै गइरहेको अवस्थामा राष्ट्रको सर्वाङ्गिण विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेकाले एक्स्पो आयोजना गरिँदै आइएको चेम्बरले जनाएको छ ।

पछिल्ला चार संस्करणको सफलतापूर्वक आयोजना गरी सकेपछि चेम्बरले मेलाको पाँचौं संस्करणमा व्यापारिक अन्तर्क्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिएको छ ।

एक्स्पोमा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने आयोजकको विश्वास रहेको छ ।

गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हितसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिनेछ । निकासी अभिवृद्धि गर्ने उद्देश्य लिई चेम्बरले प्रदर्शनीमार्फत निकासीयोग्य वस्तुको प्रवर्द्घन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमीसमेत गर्ने उद्देश्य राखेको जनाएको छ ।

बंगलादेश पार्टनर कन्ट्री रहेको यस वर्ष वाणिज्य मन्त्रालय र ईपीबी बंगलादेशको सहकार्यमा उद्योगी व्यवसायीहरूले सहभागिता जनाउने भएका छन् । एक्स्पोमा अटोमोबाइल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, फ्लोरिङ एन्ड फर्निसिङ, होम एप्लाइन्सेस, फेसन वेयर एन्ड एसेसरिज, गार्मेन्ट एन्ड टेक्सटाइल, मोबाइल एन्ड ग्याजेट्स, एफएमसीजी, हाइड्रो, लजिस्टिक, ह्यान्डिक्राफ्ट एन्ड ह्यान्डलुमस, सुज एन्ड लेदर आइटम, कस्मेटिक्स, फुड एन्ड डेरी प्रडक्ट्स आदि सामग्रीको प्रदर्शनीले आगन्तुकका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बन्न सक्ने विश्वास गरिएको चेम्बरले जनाएको छ ।

‘नेपाल चेम्बर एक्स्पो २०२२’ को गोल्ड स्पोन्सर हुलास हिप्को सुपरबिल्ड रहेको छ । यस्तै मेलाको अफिसियल इन्स्योरेन्स प्रभु इन्स्योरेन्स रहेको छ । लर्निङ पार्टनरका रूपमा ब्रोडवे इन्फोसिस रहेको छ भने एक्स्पोको सम्पूर्ण व्यवस्थापनको जिम्मा इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालिले लिएको छ ।

एक्स्पोमा १५० स्टल रहनेछन् । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीो सहभागिता रहने एक्स्पो नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश तथा अन्य मुलुकमा उत्पादित सामग्री पनि रहने आयोजकले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया