नबिलले सार्वजनिक शौचालय सञ्चालन गर्ने

काठमाडौं । नबिल बैंकले काठमाडौं महानगरपालिकामा रहेका आफ्ना तोकिएका शाखाका शौचालयहरुलाई निःशुल्क सार्वजनिक शौचालयको रुपमा उपलब्ध गराउने भएको छ ।
काठमाडौं महानगरपालिका र नबिल बैंकबीच सम्झौता भएसँगै सर्वसाधारणले अब महानगरभित्र रहेका १८ शाखाका शौचालयलाई निःशुल्क रुपमा प्रयोग गर्न सक्नेछन् । नगर कार्यपालिकाको मिति २०७९ जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउन गरेको काठमाडौं महानगरको आह्वानअनुरुप नबिलले आफ्नो ऐक्यबद्धता जनाएको हो ।
महानगरले शौचालय सार्वजनिक प्रयोगका लागि भएको सूचनासहितको संकेतबोर्ड प्रस्ट देखिने गरी बैंकका शाखाहरुमा उपयुक्त ठाउँमा जडान गर्नेछ । बैंकले सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाइ र आवश्यक सामानहरुको व्यवस्था सामाजिक उत्तरदायित्वअन्तर्गत स्वयंले गर्नेछ । साथै शौचालयको नियमित मर्मत, सम्भार र सरसफाइ, पानीको प्रबन्ध, निकासको व्यवस्था दुरुस्त राख्नेछ । बैंकका अनुसार यो सम्झौता पाँच वर्ष अवधिका लागि गरिएको हो ।
नबिल बैंकका कार्यकारी निर्देशक अनिलकेशरी शाहले महानगरका नवनिर्वाचित मेयरको काठमाडौंलाई व्यवस्थित गर्ने नीतिअनुरुप बैंकले पनि ऐक्यबद्धता जनाएको बताए । ‘नबिलको सँगै अघि बढौं भन्ने नाराका साथ हामी देश र जनताका लागि सधैं सँगै अघि बढि रहन्छौं । नबिल बैंकले दिगो बैंकिङको अवधारणाअनुरुप काठमाडौंको फोहोरमैला व्यवस्थापनमा पनि सहकार्य गर्नेछौं,” उनले बताए ।

महानगरले सञ्चालनमा आएका शौचालयको अनुगमन तथा मूल्यांकन प्रत्येक चार-चार महिनामा गर्नेछ । यस सम्झौताले आममहानगरको सार्वजनिक शौचालयको सेवालाई चुस्त र व्यवस्थित गर्न मद्दत पुर्याउने सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख नूरनिधि न्यौपानेले बताए ।
सन् १९८४ देखि आफ्ना ग्राहकलाई समयानुकूल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १५० शाखा, १८७ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रुपमा काम गर्दै आएको छ ।








प्रतिक्रिया