मंगलबार, वैशाख १६, २०८२

के छ कुरानमा, ला इलाहा इल्लल्लाह नै किन ?

नेपालखोज २०७९ जेठ २७ गते ७:०७

कलिमा (दुवै गवाहीहरू) को अर्थ र अभिलाषा ला इलाहा इल्लल्लाह नै किन ?
-किनभने यो नै मुस्लिमको पहिलो कर्तव्य हो । यदि कोही व्यक्ति इस्लाम ग्रहण गर्न चाहन्छ भने उसले सर्वप्रथम यसै कुरालाई तन-मन र वचनले स्वीकार गर्नुपर्दछ ।
-जसले अल्लाहलाई राजी पार्नका लागि विश्वासका साथ यसको गवाही दिन्छ, उसका लागि यो गवाही नरकबाट मुक्ति पाउने माध्यम बन्छ । रसल (सल्लाह अलैही व सल्लम) ले भन्नुभएको छ- ‘अल्लाहको खुसीका लागि साँचो र स्वच्छ मनले ला इलाहा इल्लल्लाहको गवाही दिने व्यक्तिमाथि अल्लाहले नरकलाई अवैध गर्नुभएको छ ।’ (बुखारी : ४१५)
अल्लाहको उपासनाले नै तन-मनलाई सुख र शान्ति प्राप्त हुन्छ ।

-जसको मृत्यु उक्त गवाहीमाथि आस्था राखेको अवस्थामा हुन्छ, ऊ अवश्य नै स्वर्गमा जानेछ । रसुल (सल्लल्लाहु अलैही व सल्लम) ले भन्नुभएको छ- ‘अल्लाहबाहेक अरु कोही सत्य ईश्वर छैन’ माथि आस्था राखेको अवस्थामा कसैको मृत्यु भयो भने ऊ अवश्य नै स्वर्ग जानेछ ।’ (अहमद : ४६४)

-तसर्थ ला इलाहा इल्लल्लाहका बारेमा जानकारी प्राप्त गर्नु अनिवार्य र अति महत्त्वपूर्ण छ ।

ला इलाहा इल्लल्लाहको अर्थ
अल्लाहबाहेक अरु कोही सत्य ईश्वर छैन । यसमा दुई वटा विषय छन्- अल्लाहबाहेकका सम्पूर्ण उपास्यहरूलाई असत्य मान्नु र मात्र अल्लाहलाई सत्य उपास्य स्वीकार गर्नु, जसको कोही साझेदार छैन ।

ईश्वर र पूज्यलाई अरबी भाषामा ‘इलाह’ भनिन्छ । त्यसैले जुनसुकै चिजबिज र सृष्टिलाई पूजा गर्नु, उसको लागि झुक्नु, ढोग गर्नु भनेको उसलाई ईश्वर मान्नु हो । त्यसैले साँचो ईश्वर अल्लाहबाहेक अन्य कसैको उपासना गर्नु ठूलो पाप हो । उपासनायोग्य मात्र अल्लाह नै हुन् । मुटुभरि उहाँकै लागि माया र आदर छ, दुआ गर्नु छ भने उहाँसित नै गरौं, मद्दत माग्नु छ भने उहाँसित नै मागौं, भरोसा गर्नु छ भने उहाँमाथि नै गरौं, सलाह पढ्नु छ भने उहाँको लागि नै पढौं, बलिदान दिनु छ भने उहाँको खुसीका लागि नै दिउँ । अत: नि:स्वार्थ भावनाले मात्र अल्लाहको उपासना गरौं ।

अल्लाहले भन्नुभएको छ- ‘उनीहरूलाई एकाग्र भएर मात्र अल्लाहको उपासना गर्ने आदेश दिइएको छ ।’ (कुरान : ९८/५)

स्मरण रहोस् ! जसले ला इलाहा इल्लल्लाहको अर्थलाई सम्झेर स्वच्छ मनले अल्लाहको उपासना गर्छ, उसले सुख, शान्ति र सहज जीवन पाउनेछ । किनभने एउटै अल्लाहको उपसनाले नै तन-मनलाई वास्तविक शान्ति मिल्दछ ।

अल्लाहले भन्नुभएको छ- ‘आस्थावान् पुरुष वा महिलामध्ये जसले सत्कर्म गर्छ, उसलाई सुखमय जीवन प्रदान गर्नेछौं ।’ (कुरआन :१६/९७)

ला इलाहा इल्लल्लाहका स्तम्भहरू-
यसमा दुईवटा स्तम्भ छन् । यसको अर्थ र अभिलाषालाई प्रस्ट पार्न यसको ज्ञान अति आवश्यक छ, यी दुई स्तम्भ निम्न छन्-
१.‘ला इलाहा’ अल्लाहबाहेक जे-जति मानिस, जनावर, देवी-देवता, मूर्ति, प्रतिमा, सूर्य-चन्द्रमा, नक्षत्र इत्यादि छन् ती सबैलाई अस्वीकार गर्नु ।

२.‘इल्लल्लाह’ उपासनाका सम्पूर्ण प्रकारहरूलाई अल्लाहका लागि मात्र खास गर्नु, जस्तै- सलाह (नमाज) पढ्नु, दुआ गर्नु, भरोसा गर्नु इत्यादि ।

उपासनाका सम्पूर्ण प्रकारलाई अल्लाहकै लागि खास गर्नु । यदि कसैले उहाँको उपासनामा अरु कसैलाई साझेदार बनाउँछ भने ऊ काफिर (अवज्ञाकारी) हुन्छ । अल्लाहले भन्नुभएको छ- ‘जसले बिनाप्रमाण अल्लाहको उपासनामा अरुलाई साझेदार बनाउँछ उसको लेखाजोखा अल्लाहले गर्नुहुनेछ । वास्तवमा काफिर (अवज्ञाकारी) हरूले कहिल्यै पनि सफलता प्राप्त गर्न सक्दैनन् ।” (कुरान : २३/११७)

ला इलाहा इल्लल्लाहको अर्थ तथा स्तम्भहरूलाई प्रस्ट पार्दै अल्लाहले भन्नुभएको छ- ‘जसले अल्लाहबाहेकक‍ा उपास्यलाई अस्वीकार गर्यो र अल्लाहमाथि इमान ल्यायो त्यसले कहिल्यै नटुट्ने बलियो सहारा थाम्यो ।’ (कुरान : २/२५६)
(फहद बिन सालिम बाहमामको नयाँ मुस्लिम निर्देशिकामा आधारित ।)

प्रतिक्रिया