काठमाडौं क्षेत्र ५ मा नेपाल विवेकशीलकी अध्यक्ष कर्मा तामाङको उम्मेद्वारी

काठमाडौं । आगामी प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र ५ मा नेपाल विवेकशील पार्टीले संघीय अध्यक्ष कर्मा तामाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । पार्टीको २०७९ जेठ २१ गते बसेको संघीय समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता विजयबाबु शिवाकोटीले विज्ञप्तिमार्फत जनाएका छन् ।
‘महिला, बालबालिका र सीमान्तकृत समूहहरूको हित हुने तथा सुरक्षा गर्ने, सूचना प्रविधिमार्फत देशको अर्थतन्त्रमा टेवा पुर्याउने, वातावरण, संस्कृति र भाषा सुरक्षित गर्ने जस्ता कानूनहरुको लागि वकालत गर्ने उद्देश्य राखी म संसद्मा प्रतिनिधित्व गर्न प्रतिबद्ध भएकी हुँ,’ उम्मेद्वार कर्मा भन्छिन्, ‘निर्वाचनमा नतिजा जे आए पनि आगामी पाँच वर्षका लागि काठमाडौं क्षेत्र ५ को समग्र विकासका लागि म प्रतिबद्ध भएर काम गर्नेछु । काठमाडौं ५ का मतदाताले आफ्ना समस्याहरू मलाई सुनाउनु हुनेछ, मेरा कुराहरू सुन्नुहुनेछ र हामी सहकार्य गर्नेछौं भन्ने मैले आशा राखेकी छु ।’
‘यो देशमा सही नेता सदनमा पुग्दै सही नीति निर्माण गर्न आवश्यक छ । यसैका लागि कर्मा तामाङजस्तो उम्मेद्वारलाई नागरिकमाझ विकल्पका रूपमा प्रस्तुत गर्न पाउँदा हामी खुसी छौँ । उहाँको उम्मेद्वारीलाई आम मतदाताले परख गर्नुहुनेछ भन्ने हामीले आशा लिएका छौं,’ पार्टी उपाध्यक्ष अजीता राईले भनिन् ।
कर्मा तामाङको करिब २० वर्षको पेसागत अनुभव छ । पढ्दै गर्दा पनि समानान्तर रूपमा विश्वविद्यालयमा आंशिक समय काम गर्थिन् । उनले जर्मनीमा करिब १३ वर्ष सूचना प्रविधि क्षेत्रमा काम गरिन् र करिब चार वर्ष जर्मनीको सरकारी क्षेत्रमा पेसागत योगदान गरिन् । कामको सन्दर्भमा जर्मनीभित्र र युरोपमा धेरै योजनाहरु सफलतापूर्वक टुंग्याउन सफल भइन् । उनी अहिले बेलायतको बर्मिङघम विश्वविद्यालयमा राजनीतिशास्त्रमा विद्यावारिधि गर्दै छिन् । उनले University of Kiel, जर्मनीबाट कम्प्युटर विज्ञान तथा व्यवसायमा स्नातकोत्तर अध्ययन पूरा गरेकी छन् ।
विवेकशील अभियानमा उनी सुरुवातकालदेखि नै सक्रिय थिइन् । विवेकशील नेपाली दलको अन्तर्राष्ट्रिय संयोजक, वाग्मती प्रदेश संयोजक र नेपाल विवेकशील पार्टीको अध्यक्षका रुपमा राजनीतिक जिम्मेवारी लिएकी तामाङ नेपालको आर्थिक सामाजिक रुपान्तरणमा आफ्नो हिस्साको योगदान दिन नेपाल फर्किएको करिब तीन वर्ष भयो । जेके कन्सल्टिङ नामक आईटी कम्पनीमार्फत नेपालमा सूचना प्रविधिको काम पनि अघि बढाउन उनी प्रयासरत छन् ।

प्रतिक्रिया