शनिबार, वैशाख १३, २०८२

मुलुकको अर्थतन्त्र थप कमजोर, १० महिनामा १४ खर्ब ३१ अर्ब रुपैयाँको व्यापार घाटा

नेपालखोज २०७९ जेठ २७ गते १७:२४

काठमाडौं । मुलुकको अर्थतन्त्र थप कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी १० महिनाको प्रतिवेदनअनुसार मुलुकको निर्यात व्यापार बढे पनि आयात बढेको र त्यसको तुलनामा रेमिट्यान्स रकम घट्दा मुलुकको अर्थतन्त्र थप कमजोर बनेको देखिएको हो ।

राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनामा मुलुुकको कुल वस्तु निर्यात ५९ दशमलव आठ प्रतिशतले बढेर एक खर्ब ७३ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३२ दशमलव दुई प्रतिशतले राष्ट्र बैंकले जनाएको छ । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ७२ दशमलव नौ प्रतिशत र २५ दशमलव ६ प्रतिशतले बढेको देखिए पनि चीनतर्फको निर्यात भने २४ दशमलव नौ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, धागो (पोलिस्टर तथा अन्य), ऊनी गलैंचा, पिनालगायत वस्तुको निर्यात बढ्दा अलैंची, चिया, औषधि (आयुर्वेदिक), दन्त मञ्जन, तारलगायत वस्तुको निर्यात घटेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनामा मुलुकको कुल वस्तु आयात २८ प्रतिशतले बढेर १६ खर्ब चार अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २२ दशमलव तीन प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २२ प्रतिशत, २३ दशमलव आठ प्रतिशत र ४९ दशमलव नौ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, सुन, अन्य मेसिनरी तथा पार्ट्सलगायत वस्तुको आयात बढ्दा एमएस बिलेट, रासायनिक मल, सिमेन्ट, दाल, धान तथा चामललगायत वस्तुको आयात घटेको राष्ट्र बैंकको भनाइ छ । निर्याततर्पm भने कञ्चनपुर र मेची भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात बढेको छ । आयाततर्पm भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयात बढेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो १० महिनामा मुलुकको कुल वस्तु व्यापार घाटा भने २४ दशमलव नौ प्रतिशतले वृद्धि भई १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २१ दशमलव पाँच प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दशमलव आठ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दशमलव ६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब ८३ अर्ब ९४ करोडबराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब ५५ अर्ब आठ करोड रुपैयाँबराबरको रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया