अर्थमन्त्रीले भने, ‘हाम्रो उद्देश्य व्यवसायीलाई अप्ठ्यारो पार्ने होइन’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर मुलुकभित्रै औद्योगीकरण विस्तार गरी आर्थिक गतिविधि अघि बढाउन खोजिएको बताएका छन् । अर्थ मन्त्रालयमा पूर्वका उद्योगी, व्यवसायीसँग भेटमा उनले यस्तो बताएका हुन् ।
‘बजेटमार्फत हाम्रो उद्देश्य व्यवसायीलाई कतै पनि अप्ठ्यारो पार्न खोजिएको होइन,’ उनले भने, ‘हाम्रो नीति त्यस्तो पनि छैन । सबैसँग छलफल गरेर बजेट ल्याएकाले सबै पक्षलाई समेट्ने प्रयास भएको छ ।’
भेटमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रदेश नम्बर १ का प्रतिनिधिले आव ०७९–८० को बजेटले वायर, घिउ–तेल र स्यानिटरी उद्योगमा पारेको प्रभावबारे अर्थमन्त्रीसमक्ष गुनासो राखेका थिए ।
आम महिलावर्गलाई राहत हुने गरी स्यानिटरी प्याड आयातमा ठूलो भन्सार छुट उपलब्ध गराएको र यस्तो छुटले स्वदेशी उद्योगलाई केही समस्या भएको पाए समाधान निकाल्न तयार रहेको पनि शर्माले बताए । कच्चा तेल आयात गरी स्वदेशमा उद्योग चलाउने र रोजगारी सिर्जना गर्नेलाई बजेटले सम्बोधन गरेको उनको भनाइ थियो ।

बजेटमार्फत स्वदेशी उद्योगलाई संरक्षण गरेर लैजाने नीति लिएको उनले प्रस्ट्याए । ‘बजेट तपाईंहरू (व्यवसायी) का लागि गरेको हो । देशका लागि गरेको हो,’ अर्थमन्त्री शर्माले भने, ‘हामीले स्वदेशी उद्योगलाई राम्रो गर्ने भनेर बजेटमा विभिन्न व्यवस्था गरेको हो ।’
छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष नवीन रिजालले वायर, घिउतेल तथा स्यानिटरी उद्योगमा बजेटले पारेको प्रभावका विषयमा छोटो प्रस्तुति दिएका थिए । उनले सरकारी नीति आउँदा आत्मसात् गर्ने वातावरण बनाइदिन आग्रह गरे । ‘हामी (व्यवसायी) लाई पनि पोलिसीले साथ दिनुस् । हामीले पनि बजेट आउँदा मुक्तकण्ठले प्रशंसाा गर्ने स्थिति आओस्,’ उनले भने ।
प्रतिक्रिया