१०औं अन्तर्राष्ट्रिय ज्योतिष, वास्तु र वैदिक सम्मेलन भएका चारबुँदे निर्णय यस्ता !

काठमाडौं । भारतको रामनगरमा १०औं अन्तर्राष्ट्रिय ज्योतिष, वास्तु र वैदिक सम्मेलन सम्पन्न भएको छ । यही जेठ २०, २१ र २२ गते भएको सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको समेत सहभागिता रहेको दक्षिण एसियाली ज्योतिष महासंघले विज्ञप्तिमार्फत जनाएको छ ।
सम्मेलनको उद्घाटन विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकराज पौडेल, भारतका वयोवृद्ध ज्योतिषी डा. बेणिमाधव गोस्वामी र भारतमा ६८औं पटकसम्म सम्मेलन गर्न सफल राजिय शर्मालगायतका व्यक्तित्वहरुले संयुक्त रुपमा गरेका हुन् । उद्घाटन समारोहमा नेपाल र भारतको राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । सम्मेलनमा सहभागीहरुलाई योग्यताअनुसारको सम्मान गरिएको थियो ।

सम्मेलनमा नेपालका वरिष्ठ वास्तुविद डा. माधवमंगल जोशीले वास्तुशास्त्रको विषयमा प्रस्तुति दिएका थिए । भारतका वरिष्ठ ज्योतिषीहरुले कालसर्पयोगको दुश्प्रचार बढ्दै गएकाले त्यस्ता गतिविधि रोकिनुपर्नेमा जोड दिएका थिए । सम्मेलनको समापन रामनगर (नैनीताल/उत्तराखण्ड) को स्थानीय विधायक दिवानसिंह विष्टले गरेका थिए । सम्मेलनका अवसरमा दक्षिण एसियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिको बैठकले चारबुँदे निर्णयसमेत गरेको छ ।
यस्तो छ निर्णय :
निर्णय नं. (१) : २०२२ मे ७ र ८ मा जयपुर भारतको अन्तर्राष्ट्रिय ज्योतिष, वास्तु तथा वैदिक सम्मेलनका अवसरमा दक्षिण एसियाली ज्योतिष महासंघको बैठकले गरेको प्रस्ताव अनुसार र महासंघको सचिवालय समितिको निर्णयलाई पारित गर्दै अन्तर्राष्ट्रिय समितिको रिक्त रहेको सभापतिमा आचार्य लक्ष्मण पन्थी (नेपाल), सह-अध्यक्षमा आचार्य अशोककुमार मिश्र (भारत), महासचिवमा आचार्य सुरेशप्रसाद शर्मा (नेपाल), कोषाध्यक्षमा आचार्य लक्ष्मण गौतम (नेपाल) र भारत समितिको सभापतिमा आचार्य हरिप्रिया मिश्र (पटना, विहार) लगायतलाई चयन गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरिएको थियो ।
निर्णय नं. (२) रामनगर, उत्तराखण्ड, अन्तर्राष्ट्रिय सम्मेलनपूर्व २०७२ जेठ १९ गते नेपाल ज्योतिष परिषद्, विश्व ज्योतिष महासंघ र दक्षिण एसियाली ज्योतिष महासंघको संयुक्त भेला महेन्द्रनगरको होटेल सिद्धार्थमा आयोजना गरिएको थियो । उक्त भेलाका अवसरमा बसेको दक्षिण एसियाली ज्योतिष महासंघको बैठकले महासंघको सुदूरपश्चिम प्रदेश संयोजकमा शुभ पन्चाङ्गका पन्चाङ्गकार दामोदर अठोला जोशीलाई चयन गरियो ।
निर्णय नं. (३): विश्व ज्योतिष महासंघ, दक्षिण एसियाली ज्योतिष महासंघ र नेपाल ज्योतिष परिषद्ले पारित गरेको नियमावली अनुसार नेपालबाट विदेशमा कार्यक्रम गर्दा वा विदेशी संस्थाले नेपालमा कार्यक्रम गर्दा तत् देशका संस्थाहरुसँग सहमति लिएर गर्नुपर्ने अन्यथा ३ वटै संस्थाले भाग नलिने भन्ने नियमलाई कडाइका साथ लागुगर्ने निर्णय गरिएको थियो ।
निर्णय नं. (४) : देश तथा विदेशमा हुने ज्योतिष, वास्तु या अन्य धार्मिक सम्मेलनमा सहभागी हुन जानेहरुका लागि ३ वटै संस्थाले संयुक्त रुपमा यात्रा निर्देशिका जारी गरी कार्यान्वयनमा ल्याउने निर्णय गरिएको थियो ।
अन्त्यमा : सम्मेलनका आयोजक डा. राकेश डागर, डा. रेखा जोशी डागर र सह-आयोजक दक्षिण एसियाली ज्योतिष महासंघका सह-अध्यक्ष आचार्य अशोककुमार मिश्रलाई सम्मेलनलाई शव्य र भव्य रुपमा सफल बनाएकामा हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दै विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकराज पौडेलले सम्मेलनमा सहभागी सम्पूर्ण ज्योतिषीहरुलाइ समेत बधाई तथा धन्यवाद दिनुभएको थियो । सम्मेलनमा सहभागी हुनेक्रममा ज्योतिषीहरुको आध्यात्मिक तथा प्राकृतिक स्थलहरुको अवलोकन दर्शन तथा भ्रमण भएको थियो । सहभागीहरु रामनगरको गिरिजा देवी मन्दिर, हनुमान धाम, भिमताल, कथी धाम, नैनितालमा नयना देवि मन्दिर र भिम तालमा भिमेश्वरको दर्शनसमेत गराएको अध्यक्ष डा. सहदेव विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया