आँबुखैरेनी-मुग्लिन खण्डमा ठूला सवारी चलाउन नपाइने !

नेपालखोज २०७९ जेठ २८ गते ७:५७
वर्षाले भासिएको सडक : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका ४, साँखरस्थित ड्यामनजिक वर्षाका कारण शुक्रबार बिहान भासिएको सडक । सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन खण्डमा ठूला सवारी साधन नचल्ने भएका छन् । आँबुखैरेनी गाउँपालिका ४, पावर हाउसनजिक सडक भासिएकाले केही दिन ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

उक्त सडकखण्डबाट साना सवारी साधनलाई एकतर्फी रुपमा सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । सडक भासिएको ठाउँबाट माइक्रो, साना कार, मोटरसाइकल मात्रै वारपार गराइएको उनले बताए ।

सडक भासिएको ठाउँमा सडक डिभिजन कार्यालयले शुक्रबारदेखि नै भित्ता काट्न थालेको छ । ठूला सवारी साधन सञ्चालन गर्दा जोखिम हुने भएकाले केही दिन ठूला सवारी साधन सञ्चालन गर्न नसकिने सडक डिभिजन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले उक्त खण्डमा शुक्रबार राति ७ बजेदेखि बिहान ६ बजेसम्म अर्को सूचना नभएसम्मका लागि यातायात सञ्चालन पूर्ण रुपमा बन्द गरेको छ । रातिको समयमा जोखिम हुने भएकाले यातायात सञ्चालनमा पूर्ण रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताए ।

सडक भासिएर एउटा कार र एउटा मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा हेटौँडाका ३५ वर्षीय हेमबहादुर भुजेल र गोरखा घर भई आँबुखैरेनी २ बस्ने ३३ वर्षीय केशव घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । -रासस

प्रतिक्रिया