‘सरकारले कलाकारका समस्या पहिचान गरेर समाधान गर्नुपर्छ’

नेपालखोज २०७९ जेठ २८ गते २१:४६
फाइल तस्बिर

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कलाकारलाई सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । राष्ट्रिय जनसंगीत कलाकार संघले आज आयोजना गरेको सम्मान कार्यक्रममा उनले सरकारले कलाकारका समस्या पहिचान गरेर समाधान गर्नुपर्ने धारणा राखे ।

उनले मुलुकलाई अगाडि बढ्न सजिलो नभएको सुनाउँदै भने, ‘हामीजस्तो स्वाभिमान र स्वाधिनता भएको देशलाई अगाडि बढ्ने कुरामा विभिन्न व्यवधान खडा हुने गरेका छन् ।’ आजको २१औं शताब्दी बलको शताब्दी नभएर बुद्धिको शताब्दी भएको बताउँदै उनले न्याय र सत्यविपरीत राष्ट्रमाथि दुष्प्रभाव पर्न दिन नहुने उल्लेख गरे ।

अध्यक्ष ओलीले भने, ‘डराएर, धम्क्याएर, छक्याएर वा फकाएर कुनै पनि हिसाबले हाम्रो राष्ट्रियतामाथि प्रहार गर्न पाइँदैन ।’ पूर्वप्रधानमन्त्री ओलीले देशको हकको अधिकार, सार्वभौमसत्ता, स्वाभिमान र स्वतन्त्रताको रक्षाका निम्ति सबैलाई अगाडि उभिन आग्रह गरे । उनले देशलाई माया गर्न सबैलाई आग्रह गरे ।

नेता ओलीले नेपालकै चिकित्सकले मिर्गौला प्रत्यारोपण गरेर ब्युँझिदा मुलुकमा हामीले केही प्रगति गरेका छौँ भनेर आनन्द लागेको बताए । उनले १२ वर्षअघि नेपालमा मिर्गौला प्रत्यारोपण सुरु नभएकाले भारतको नयाँ दिल्लीमा जानुपरेको बताए । ‘बाह्र वर्षपछि नेपाल आफ्नै देशमा मिर्गाैला फेर्न पाएँ । त्यसले मलाई बेग्लै आनन्द अनुभूति भयो’, उनले भने ।

प्रतिक्रिया