आइतबार, असार ८, २०८२

राष्ट्रिय बिमा नीतिको मस्यौदालाई अन्तिम रुप दिन अर्थमन्त्रीको निर्देशन

नेपालखोज २०७९ जेठ २९ गते १२:२८

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितीकरणबाट समावेशीतातर्फ बजेट प्रस्तुत गर्न राष्ट्रिय बिमा नीतिको मस्यौदालाई अन्तिम रुप दिन सम्बद्ध पदाधिकारीलाई निर्देशन दिएका छन् ।

राष्ट्रिय बिमा नीतिको मस्यौदामाथि छलफल गरी सुझावहरु संकलन गर्ने उद्देश्यले ललितपुरमा आयोजित अन्तर्क्रियामा अर्थमन्त्री शर्माले सरकारले बजेटमा बिमासहित पुँजी बजारलाई प्राथमिकता दिएको बताए । देशका सबै क्षेत्र र वर्गलाई समेट्ने गरी समावेशीकरणमा जोड दिने, बिमा कम्पनीले नाफामुखी मात्र नहेरी सेवा सहितको उत्तरदायित्व बहन गर्ने र सचेतनापूर्वक ढंगले स्वतःस्फूर्तरुपले बिमा गर्ने अवस्था सिर्जना गर्ने गरी राष्ट्रिय बिमा नीतिको मस्यौदालाई अन्तिम रुप दिन, उनले निर्देशन दिएका हुन् ।

अर्थमन्त्री शर्माले लघुवित्त र लघुबीमालाई तालमेल गरी दुवैलाई सँगसँगै जनता नठगिने किसिमले दूरदराजका गरिब एवं साना किसानसम्म पुर्‍याउन निर्देशन दिँदै ठूला टावरका साथै सरकारी र निजी क्षेत्रका संरचनाहरुको समेत बिमा गर्ने र कृषि तथा पशुपन्छी बिमाको दाबी सजिलै पाउने गरी कृषि तथा पशुपन्छी बिमा गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।

अर्थमन्त्री शर्माले राष्ट्रिय पुँजी निर्माण र उत्पादनमा बिमालाई परिचालन गर्नेतर्फ गम्भीरतापूर्वक ध्यान दिन आग्रह गर्दै बिमा सूचना केन्द्र स्थापना गर्न र हरेक जिल्ला तथा पालिकामा बिमासम्बन्धी शिक्षा एवं चेतना फैलाउन बिमासम्बन्धी तालिमप्राप्त जनशक्ति तयार गर्नुका साथै प्रविधि विकासमा समेत जोड आग्रह गरे ।

साथै, उनले सरकारको मुख्य उद्देश्य गरीबी न्यूनीकरण भएकाले गरीबी न्यूनीकरणमा ठोस योगदान पुग्ने गरी राष्ट्रिय बिमा नीतिको मस्यौदालाई अन्तिम रुप दिनसमेत निर्देशन दिए । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बिमालाई आम जनताले विश्वास गर्ने गरी सुरक्षित, व्यवस्थित र विश्वसनीयरुपमा अगाडि लगेमा मात्र नागरिकको हित हुने बताए । अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुष्करले बिमा क्षेत्रमा व्यवसाय र सेवाबीच सन्तुलन कायम गरी ज्येष्ठ नागरिक, बिरामी र अपांगता भएकालाई समेत बिमामा कसरी समेट्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने बताए ।

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सम्बद्ध सबै सरोकारवालाहरुको सुझाव र बिमासम्बन्धी अन्तर्राष्ट्रिय प्रचलन एवं अभ्याससमेतका आधारमा राष्ट्रिय बिमा नीतिको मस्यौदा तयार गरिएको जानकारी दिँदै राष्ट्रिय बिमा नीति आएपछि सोही नीतिअनुरुप प्रदेश र स्थानीय बिमा नीति तर्जुमा हुने विश्वास व्यक्त गरे ।

बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुको स्वागत गर्नुका साथै कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा बिमा समितिका निर्देशक सुशीलदेव सुवेदीले राष्ट्रिय बिमा नीतिको मस्यौदासम्बन्धी प्रस्तुति गरेका थिए ।

प्रतिक्रिया