प्रचण्डले भने- ओलीले एसपीपी सम्झौता गरे, दोष देउवालाई जाँदै छ

नेपालखोज २०७९ असार २ गते ११:१३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आत्मसमर्पण गर्नेले नै राष्ट्रवादको हावा दिने गरेको दाबी गरेका छन् । रितबहादुर खड्का स्मृति दिवसका अवसरमा बिहीबार पार्टी कार्यालय, पेरिसडाँडामा भएको कार्यक्रममा प्रचण्डले राष्ट्रवादको पाखण्डी प्रचार गर्ने प्रयास भएको बताए ।

प्रचण्डले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यान्वयनको सम्झौता ओली सरकारकै पालामा भएको जिकिर गरेका छन् । यो सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ मा केपी ओली नेतृत्वको सरकारले गरिसकेको तथ्य इतिहासमा भएको उनले दाबी गरेका छन् ।

अध्यक्ष प्रचण्डले हिजो आज एसपीपी सम्झौता हुँदैछ रे भनेर भइसक्यो भनेजस्तो प्रचार गरिएको जनाएका छन् । प्रचार बिल्कुल झुटो भएको उनको दाबी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि हालतमा एसपीपीलगायतको सम्झौतामा जान्न भनेर प्रतिवद्धता जनाएको पनि प्रचण्डले दाबी गरेका छन् ।

प्रचण्डले भने, ‘प्रधानमन्त्रीसँग र हामो गठबन्धनमा भएको छलफलमा त्यस्तो कुनै सम्झौता भएको छैन । कुनै सैन्य सम्झौता हुने छैन । यो घोषणा गर्न चाहन्छु ।’

प्रतिक्रिया