बिहीबार, वैशाख १३, २०८१

महन्थ ठाकुरलाई उपेन्द्रको एकता प्रस्ताव !

जयप्रकाश आनन्द २०७९ असार ३ गते १६:२१

‘संसारी से प्रीतडी, सरै न एको काम ।
दुविधा में दोनो गए, माया मिली न राम ॥’

मधेसका नेताहरू पढे लेखेका छन् । अगाडिका पुस्ताले सुख सागर, रामायण तथा महाभारत पढेको हुनुपर्छ । आजका प्रभावशाली नेताहरूमध्ये धेरैले चार्वाक, गुरू पतंजली, पाणिनी आदि पढेका छन् । तर, कृषि, इन्जिनियरिङ आदि गहन प्राविधिक विषय पढ्नेहरू पनि केही छन् । पछिल्लो पुस्ताका प्रजातन्त्रवादी विचारका केहीले भने ‘व्यवहारिक राजनीतिका प्रारम्भिक रूपरेखा’ पढेका र बुझेका छन् ।

यस ज्ञानगंगाका बाहेक केही मधेसी नेता भने राजनीतिमा कहिल्यै पनि सत्तारथको पांग्रा फुस्कन न दिनका लागि चाहिने कुरा पढेका छन् । यसमा यहाँ उल्लेखनीय एक मात्र नाम ‘उपेन्द्र यादव’ हो । उपेन्द्रले युवावस्थामै ‘सेलेक्टिभ वर्कस अप लेनिन’ मा रहेको संयुक्त मोर्चाका बारेमा लेनिनको लेखलाई टुप्पीलाई दलानमा बाँधेर पढेका हुन् । अद्योपान्त आत्मसात् गरेका छन् । हुनत् उनको राजनीतिक सोचले पनि लेनिन पढ्नलाई उत्प्रेरित गरेको हुनुपर्छ ।

सन् १९१७ को रूसी क्रान्तिकालमा रूसी संसद ‘डुमा’ मा मेनसेविकहरूको बहुमत हुँदा-हुँदै लेनिनले यही उपक्रमको माध्यमबाट बोल्सेभिकहरूको सत्ता कायम गर्न सकेको कुरा उपेन्द्रले बुझेको छ ।

लोसपाका नेता महन्थ ठाकुरले गान्धीलाई पढ्नुभएको होला, राजेन्द्र महतोले गजेन्द्रनारायण सिंहलाई । तर, ‘आफ्नो कमजोर पार्टीलाई शक्तिशाली बनाउनु छ भने समान विचारका पार्टीहरूको मोर्चा बनाई, त्यसको नेतृत्व लिएर आफ्नो पार्टीको शक्तिमा गुणात्मक विकास गर्नुपर्दछ’- लेनिनले सन् १९१८ मै व्यक्त गरेको यो विचार उपेन्द्रका झैं महन्थ ठाकुर र राजेन्द्रको रणनीतिक सोच बनेन ।

लेनिनले ‘पुँजीवादी पार्टीहरू’ लगायत अन्य पार्टीहरूसँगको सम्झौता गर्नु कम्युनिस्टहरूको रणनीतिको अनिवार्य अंग भएको कुरा ‘टू ट्याक्टिस’ मा औंल्याएका छन् । उनले आफ्ना दार्शनिक-विचारक मित्र ज्याँर्जी दिमित्रीवमार्फत कम्युनिस्टहरूले आफू शक्तिशाली हुनका लागि अनिवार्य रूपमा ‘संयुक्त मोर्चा’ बनाउनुपर्ने कुरा सन् ३५ मा सम्पन्न कम्युनिस्ट इन्टरनेसनलको सातौं कांग्रेसमा प्रस्तुत भई पारित गराएको दस्ताबेज अन्य मधेसी नेताहरूको सरोकारको विषय रहँदैन । लेनिनले रूसी क्रान्तिको क्रममा बोल्सेभिक पार्टीले अन्य धेरै पक्षहरूसँग सम्झौताहरूसँग सम्झौताहरू गरेको तथा तिनै सम्झौताहरूको कारणले आफ्नो पार्टीलाई एकल रूपमा बलियो बनाएको । यसै आधारमा कमजोरहरूको आन्दोलनलाई फुटाउन सकेको लेनिनको स्वीकारोक्ति लोसपाका प्रभावशाली नेता जितेन्द्र सोनलहरूले ध्यान दिएको विषय रहेन । यस ज्ञानमा उपेन्द्र यादवको एकाधिकार रहेको ।

यही ज्ञानको आलोकमा उपेन्दले अहिले फेरि एकपटक ‘लोसपा’ समक्ष पार्टी एकीकरण वा संयुक्त मोर्चाको अंगुर पस्केको छ । संसद्‌मा राम्रो स्थान बनाउन नसके आजीवन सत्ताबाट टाढा रहनुपर्नेछ भन्ने त्रासले भौंतारिएका महन्थ ठाकुर तथा राजेन्द्र महतोजीका ‘लोसपा’ पार्टीभित्र उपेन्द्रको प्रस्ताव सञ्जीवनी हुन सक्छ कि भनेर चर्चा सुरु भएको छ ।

हुनत् लोसपाको हृदयमा प्राणवायू भए अवश्य पनि सोच्ने छन् होला कि आजसम्म यिनीहरूले उपेन्द्रसँग बारम्बार सम्झौता गरे । तर कति बलियो हुन सके त ?

लोसपा वा महन्थजी र महतोजीको लागि उपेन्द्रको प्रस्तावः
‘संसारी से प्रीतडी, सरै न एको काम ।
दुविधा में दोनो गए, माया मिली न राम॥’

कि कसो लोसपाका नेताजीहरू ?

प्रतिक्रिया