सोमबार, असोज १७, २०७९

शिव महिमा !

सुनील सापकोटा २०७९ साउन २३ गते ८:११

साउनको महिना । शिव महिमा गर्ने महिना । हिजोआज जताततै शिव/महादेवको पूजा भएको पाइन्छ । भनिन्छ कि यो साउन महिना शिवजीको विशेष महिना ।

मलाई त लाग्दैन कि शिवजीलाई बढी पुज्ने पनि कुनै निर्देशित महिना हुन्छ । शिवलाई बुझ्ने आ-आफ्नो बुझाइ होला । कसैले ईश्वरलाई मान्ला कसैले नमान्ला पनि ।

जो शून्य छ, अनन्त छ । जसको न मान छ, न अपमान छ । वैदिक सनातन संस्कृतिमा यस्तो ज्योतिपुञ्ज जो दिगम्बर छ । जसलाई कुनै वस्त्र वा कुनै चिजले छोप्न सकिँदैन । जो नग्न छ अर्थात् जो सत्य छ त्यो शिव हो ।

आममानिसमा शिवको जो रूप छ, त्यो राजा रवि बर्मा भन्ने एउटा भारतीय चित्रकारले पुराणहरुका पुस्तकहरुमा बनाएको चित्रको रुप हो । हिन्दुधर्मको अधिकांश मान्यता कपोलकल्पित, अन्धभक्ति, रुढीवादी विचारहरुमा आधारित बनाइएको छ । धर्मको नाममा आ-आफ्नो पसलहरु खोलेर बसेका ठग गुरुहरु, ठग ब्राह्मणहरु, ठग संतहरु, ठग योगीहरु, ठगाहा जोगीहरु, ठगाहा बाबाहरु आदिले हिन्दु सनातन संस्कृतिलाई दैनिक बदनाम र विकृत बनाएको समाचारहरु सञ्चारमाध्यममा बेलाबेला सुन्न पाइन्छ । तर सबै ठग भने होइनन् ।

दिक्‍कालाद्यनवच्छिन्‍नानन्‍तचिन्‍मात्रमूर्तये ।
स्‍वानुभूत्‍येकमानाय नमः शान्‍ताय तेजसे ।।

प्राच्‍यादिदिशाभिः, कालैः च यस्‍य मापनं नैव शक्‍यं विद्यते, भनेर भनिएको छ ।

अर्थात जो दिशा र कालबाट अविछिन्न छ । जसको न कुनै मान छ, न कुनै माप-नाप छ । जो दिशाहरु र कालहरुमा समाहित छैन । जो अनन्‍त तथा चैतन्‍यस्‍व रूपमा शान्त छ । जो व्‍यक्तिगत अनुभवहरुबाट मात्र बुझ्न सकिन्छ । त्यो ज्योतिपुञ्ज नै शिव हो ।

यसलाई नै शिव भनिन्छ । वैदिक साहित्यमा शिवको शाब्दिक अर्थ ‘शव’ अर्थात् पार्थिव माने पूर्ण । जो पूरा छ। यसैकारण मृत शरीरलाई पार्थिव भनिएको हो । पूर्णको अर्थ शून्यमा परिभाषित गरिएको देखिन्छ । शिव केही पनि होइन । जो केही नभए पनि सबै कुरा हो ।
ईशोपनिषद्‌का अनुसार…
ॐ पूर्णमदः पूर्णमिदं पूर्णात्, पूर्ण मुदच्यते,
पूर्णस्य पूर्णमादाय, पूर्ण मेवा वशिष्यते।
यश श्लोकको शब्दार्थ हो । शून्यमा शून्य जोडियो भने शून्य । शून्यमा शून्य घटाइयो भने, गुणा र भाग गरे पनि शून्य नै हुन्छ । यसको भावार्थ हो । जो (परब्रह्म) देखिँदैन तर अनन्त र पूर्ण छ । पूर्णबाट पूर्णको उत्पति हुन्छ । यो दृश्यमान जगत् पनि अनन्त छ । त्यही अनन्तबाट विश्वको आएको हो ।

उपनिषदीय व्याख्याहरुमा यही ज्योतिपुञ्ज र जीवात्माको संयोग नै ‘लिंग’ का रुपमा लिइएको देखिन्छ । लिंगको अर्थ हो रूप । जसलाई हेर्न सकियोस् । सायद रूपबिना सिर्जन सम्भव नभएर होला । शिवलिंग त्यसै रुपको प्रतीक हो ।

शून्यबाट जन्म लिएर शून्यमै विलिन हुने यो सिर्जनलाई नै जीवन भनिएको हो । जो वस्तुतः केही होइन । अर्थात् शिव त्यही होला ।
शिवलाई साहित्यमा विभिन्न नामबाट लेखकहरुले सम्बोधन गरेको देखिन्छ ।

शिवलाई दुर्धुर्ष भनिएको छ । समय (काल) कसैबाट हार्दैन। जो हार्छन् त्यो कालसँग हार्छन् ।

शिव अनघ हो, त्यो न पाप हो न पुण्य हो ।
शिव स्पन्दनरहित हो ।

‘स्थाणो गिरीशगिरिजेश महेशशम्भोः’
जे कालातीत छ, त्यो शिव हो । जे भइसक्यो । जे भइरहेको छ र भविष्यमा हुनेवाला छ, त्यो शिव हो । त्यो नै परमेश्वर हो ।

प्रतिक्रिया