बिध ल्याबका सञ्चालक भण्डारीमाथि अख्तियारको मुद्दा, गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप !

काठमाडौं । अख्तियार दुरुपायोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पति आर्जन गरेको भन्दै बिध ल्याबका सञ्चालक भीमकान्त भण्डारीमाथि मुद्दा दायर गरेको छ । आयोगका अनुसार भण्डारीले सार्वजनिक पदमा बहाल रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।
उनी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कबललगुडी, झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायकसमेत हुन् । भण्डारीविरुद्ध विशेष अदालत काठमाडौंमा शुक्रबार अख्तियारले मुद्दा दायर गरेको हो ।
भण्डारी २०७३ असोज २१ गते रा.प.अनं. प्रथम श्रेणी वरिष्ठ व्यवस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिए । २०७७ साउन १ गते स्वेच्छिक अवकाश भएको र सेवा प्रवेश गरेको मितिदेखि २०७८ पुस मसान्त सम्मलाई जाँच अवधि कायम गरी आयव्यय गणना गर्दा भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी सञ्चय कोषबाट लिएको ऋण सापटी, उनको सार्वजनिक सेवा प्रवेशअघिको बचत (जाँच अवधि अघिको बचत) समेत गरी कुल २६ लाख ६१ हजार ६ सय ३६ रुपैयाँ ९ पैसा आर्जन गरेको अख्तियारले दाबी गरेको छ ।
भण्डारीले उक्त रकम जग्गा खरिद, विभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरूको सेयर खरिद र विभिन्न बैंकमा खर्च तथा लगानी (व्यय) गरेको पाइएको छ । मौज्दातसमेत गरी जम्मा ६ करोड ५० लाख ६५ हजार ६ सय ४२ रुपैयाँ ५३ पैसा खर्च तथा लगानी गरेको र कुल आय आर्जन २६ लाख, ६१ हजार ६ सय ३६ रुपैयाँ ९ पैसा भण्डारीले गरेको कुल खर्च देखिन्छ ।
यस्तै लगानी (व्यय) ६ करोड ५० लाख ६५ हजार ६ सय ४२ रुपैयाँ ५३ पैसा घटाउँदा हुन आउने ६ करोड २४ लाख ४ हजार ६ रुपैँया ४४ पैसाबराबरको खर्च देखिएको छ ।
लगानी (सम्पत्ति) को स्रोत खुल्न नआएपछि भण्डारीले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि भएको छ ।
गैरकानुनी रूपमा अकुत सम्पत्ति कमाएका आधारमा भण्डारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेकाले बिगो ६ करोड २४ लाख चार हजार ६ रुपैयाँ ४४ पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद एवं बिगो बमोजिम जरिवाना हुने जनाइएकाे छ ।
गैरकानुनी आर्जन गरेको सम्पत्ति जफततर्फ ऐनको दफा ४७ बमोजिम बिगो ६ करोड २४ लाख चार हजार ६ रुपैयाँ ४४ पैसा भण्डारीको नाममा रहेको सम्पत्तिबाट ६ करोड ६ लाख ४१ हजार आठ सय १३ रुपैयाँ ९१ पैसा अपुग बिगो भण्डारीकै एकल स्वामित्वको कम्पनीहरूको बैंक मौज्दातबाट १७ लाख ६२ हजार एक सय ९२ रुपैयाँ ५३ पैसासमेत जम्मा ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ ४४ पैसा जफत गर्न मागदाबी लिई शुक्रबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया