शुक्रबार, वैशाख १४, २०८१

‘धान खेतीभन्दा धेरै टिकटके र युट्युबेले कमाउँछन्’

जयप्रकाश आनन्द २०७९ असार ४ गते १५:४३

जयप्रकाश आनन्द लेख्छन् – अन्ततः मैले यस वर्ष धान खेती नगर्ने निर्णय लिएँ । अस्ति बजेट आउने दिनसम्म पर्खेको थिएँ, मैले अनुभव गरिरहेको कठिनाइको समाधानमा सरकारबाट कुनै पहल हुन्छ कि भनेर । बजेटमा कृषिका लागि धेरै राम्रा कुराहरू आएको भनिएका छन् । यसले गर्दा पछि-पछि मुलुकमा धेरै राम्रा प्रगतिहरू होलान् । तर, म मेरो तत्कालको समस्यामा केन्द्रित रहेर तलका केही पंक्तिहरू लेखेको हुँ ।

मेरा कुराहरू मोरङ जिल्लाको कटहरी गापासँग सम्बद्ध छन् । यसमा उल्लेखित दरभाऊ यहीँको कृषि र श्रम बजारसँग सम्बन्धित हो । अर्को कुरा, म धेरै जग्गा राखेको किसान होइन, यहाँ मेरो परिवारको ६/७ बिघा जग्गा छ । तर परिवारको कुनै पनि सदस्यको खेतीमा शारीरिक श्रम गर्ने स्थिति छैन । कामचोर नभन्नु होला, यी पंक्ति पढ्नेहरूमध्ये धेरैको अवस्था मै जस्तो होला ।

अब मूल कुरामा जाऊँ । म यहाँ एक बिघा धान खेती गर्दा/गराउँदा लाग्ने वास्तविक खर्च र आम्दानीको यथार्थ विवरण दिँदै छु । यदि यसमा केही फरक लागेमा अवश्य लेख्नु हुनेछ ।

एक बिघा धान खेतीको खर्च
१. बीउ ४० केजी प्रतिकेजी रू. ८०/- = ३२००/-
२. कदवा (जग्गा हिल्याउने) प्रतिचास (एकपटक) को प्रति बिघा रू. ४०००/- को दरबाट तीन चासको रू.१२०००/-
३. कोदरवाह (खेतको कुना काप्चा, खाल्डो, गारो-आली आदि मिलाउने) प्रतिबिघाको रू. ४०००/-
४. रोपनी, धानको बेर्ना रोप्ने ३५ जना जन/प्रतिजन रू. ४००/- को दरले रू. १४०००/-
५. मल : युरिया १ प्याकेट रू. १८००/-
डीएपी १ प्याकेट रू. ३५००/-
जिंक १ बाल्टी रू. १०००/-
घाँस मार्ने औषधि १ लि. रू. ८००/-
यसका लागि चाहिने १ जनको रू. ४००/-
६. कमौनी (गोडमेल) प्रतिकठ्ठा १ जनको रू. ४००/- को दरले रू. ८०००/- यसरी धान रोपाइमा कुल खर्च प्रतिबिघाको रू. ४८,७००/- हुन जान्छ ।

बाली बिक्रीका लागि तयार गर्नुअघि केही अरू खर्च हुन्छ । जस्तो- छोपनी कटानीबापत प्रतिमनमा ६ केजी धान नै दिनुपर्दछ । र, थ्रेसरले दाइँ गरेबापत प्रतिमन २ केजी लिन्छ । यसरी प्रतिमनमा ८ केजी धान गयो । मेरा लागि त एक मन भनेको ४० केजीको न भई ३२ केजीको मात्र भयो ।

अब उब्जनीको कुरा गरौं । मैले मेरो ठाममा अधिकतम उब्जनी ८० देखि ९० मन प्रतिबिघा मानेको छु । यो सीमान्त अधिकतम उब्जनी हो । तर, व्यवहारिक रूपमा यथार्थ उब्जनी भने ८५ मन मानेको छु । यसभन्दा बढी उब्जनी यस तरिकाको धान खेतीबाट सम्भव हुँदैन । माथि मैले उल्लेख गरेको छोपनी कटानी र थ्रेसर बापत १७ मन धान नै गयो । अब ८५ मनमा यो १७ मन घट्न जाँदा मसँग रहने ६८ मन धान हो । यो नै मेरो कुल उब्जनी हो ।

गत वर्ष सरकारले धान खरिदको प्रतिमन मूल्य १२००/- तोकेको हो । तर खरिद गर्दैन । बजारको गोलाले प्रतिमन रू. ११००/को दरले धान खरिद गर्छ । अधिकतम ६८ मनको रू. ७४,८००/- हुन आउँछ । यदि किसानले यो मूल्य पायो भने आफूलाई भाग्यमानी ठाने हुन्छ ।

रू. ७४,८००/- रकम धान बिक्रीबापत आम्दानीको रूपमा मेरो हात पर्छ । अब यसमा रोपनी, मल, खाद आदि माथि उल्लेख गरिएको खर्च रू. ४८,७००/- घटाउँदा रू. २६,१००/- रकम वर्ष दिनमा एक धान बालीबापत मलाई बचत हुन्छ । अर्थात् मैले ४ महिनासम्म लगातार रगडधस गर्दाको अन्तिम आम्दानी रू. २६,१००/- देखियो । यसमा मेरो पूरै ४ महिना खर्च हुन जान्छ ।

देशको संघीय संसद्‌मा बजेटबारे छलफल चल्दै छ । उफ्रेर बोल, कराएर बोल, रोस्टममा मुर्की बजारेर बोल-जसरी बोले पनि, जस्तो लक्ष्य निर्धारण गरे पनि म जस्ताले धान खेती गर्दा वर्षको १ बालीको आमद हो रू. २६,१००/-
यसर्थ, यस वर्ष मैले धान खेती परित्याग गरे‌ ।

प्रतिक्रिया :
यो कथा तपाईंको मात्र होइन, समस्त नेपाली किसानहरुको हो ।अहिले अधिया माग्ने भूमिहिन किसान पनि पाइँदैन । रोपाहार पनि पाइँदैन, काम गर्ने कामदार पनि पाइँदैन त्यसैले धान फल्ने खेत भिटा प्लटिङ गर्‍यो छोडिदियो अरु के उपाय ?
मोहन खतिवडा

मलाई तपाईको विश्लेषण चित्त बुझ्दो लागेन । यसमा जग्गा धनिको काम ज्याला लगाउने नाइकेको जस्तो भयो । उ किसान बन्नु पर्छ नि ।
ठाडो धानको हिसाव गरेर कृषिजस्तो एकिकृत कर्मले कहां सफलता पाउँछ ? धानको ठाडो हिसाब अनुसार चल्ने हो भने बांच्न भन्दा मर्दा कम खर्च हुने र फाइदै फाइदा हुने पुरानो जोक याद आयो !
कृष्णमुरारी भण्डारी

कठै आफू मन्त्री हुदा दिमाग को ढक्कन बन्द थियो ? किन गरिएन देशको ढुकुटिमा वर्षौ वर्ष राज गर्दा यी र यस्ता कुरा किन आएन ? सामान्य किसान बाट यो कुरा आयको भय एकदम जायज थियो तर तिमिहरु जस्ता टाउकोमा गोबर भरियकाको हिसाब मिलेन । । अकुत सम्पत्ति आर्जन गरेकाले नगरे हुन्छ खेती तर आमकिसान बाध्य छन नाफा हैन घाटै लागे पनि खेति गर्न छोड्ने छैन ।
हरि प्र भुर्तेल

योभन्दा बढी त टिकटके र युटुबेले कमाउँछन्, किन गर्ने खेती ?
बाल गिरी

तराईमा त यस्तो हालत छ भने पहाडमा कसरी खेती गर्न सकिन्छ ?
पुष्पलाल पाण्डे

यदि यो सोचेर बस्नु र खेती नगर्नु भएन हजुर बरु नंया जुक्ति लगाउनुपर्छ ।अरु देशमा पनि खेती भइरहेकै छ बरु त्यहाँ बाट सिकेर थप के गर्नुपर्ने हो त्यो अपनाएर खेती त गर्नैपर्छ हजुर ।
सरोज साह

कुरो त सत्य हो
तर यसो गर्नु पर्यो, खान पुग्ने १ बिघामा धान लगाए पनि बाँकी जग्गामा अन्य नगदे बाली लगाएर, पशु पालन वा कुखुरा पालन गरेर पनि मनग्ये आम्दानी गर्न सकिन्छ भनेर देखाऊनु पर्यो!
विनोद

हजुर सही गर्नु भयो, अब रुख कटहर, सजिवन, एभोकाड़ो, मेवा, रुद्राक्ष, कुरिलो (asparagus )आदि लगाउनुस केहि बिगाहा मा, सकिन्छ भने अर्गानिक गर्नुस,
नगदे बाली ले पैसा कमाउनुस चामल दाल किनेर खानुस ।
वसन्तनारायण शर्मा

समस्या हो तर के गर्ने परालको लागि पनि धान खेती गर्नुपर्ने बाध्यता छ ।
गणेश साह

एक दम सही विश्लेषण हो सर । बटाई गर्दा त अझ बिघा को दश / बारह हजार मात्र हात पर्दो रहे छ ।
देवनारायण यादव

मेसिनबाट छरुवा धान लगाउँदा खर्च कम आउँछ है ।
सागर काफ्ले

अहिले हाम्रो चितवनतिर धान खेती गर्दा लाग्ने खर्च तपाइले उल्लेख गरे भन्दा बढी नै लाग्छ । प्रति कठ्ठा लागत र उत्पादनलाइ खर्च र आम्दानीको कसीमा हेर्दा एक पैसा फाइदा हुने अबस्था छैन ।
उमेश रेग्मी

यसमा पटौनीको खर्च छुटेछ सर धानको खेतिमा पानीको मह्त्व धेरै छ कम्तिमा तीन देखि पाँच पटक पानि हाल्नुपर्छ जुन जोड्नुभयो भने तपाईं घाटामा जानुहुन्छ यसै कारण किसान रिनको भुमरीमा फस्दै गइरहेको छ ।
मनोरथ साह

निजी क्षेत्रको सहभगितामा जग्गादाताहरुको खाद्य सुरक्षा सुनिश्चित हुनेगरी उचित दरभाउमा चक्लाबन्दी, बढी उत्पादनशिल उन्नत बीउको प्रयोग, मेशिनको अधिकतम प्रयोग र राज्यको मुख्य फसलको न्यायोचित समर्थन मूल्यले यो अवस्थालाई सम्बोधन गर्न सकिएला !
मनोहर पाठक

प्रतिक्रिया