शनिबार, वैशाख १५, २०८१

विष्णु सरस्वती फाउन्डेसनले दियाे विद्यार्थीलाई साइबरसम्बन्धी विशेष प्रशिक्षण

नेपालखोज २०७९ असार ९ गते २०:०९

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका १ स्थित एक विद्यालयका विद्यार्थीलाई साइबर सेक्युरिटीसम्बन्धी तालिम प्रदान गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा विष्णु सरस्वती फाउण्डेशनले झोर महांकाल माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि तालिम दिएको हो ।

विद्यार्थीलाई तालिम दिनु अघिको औपचारिक कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिकृष्ण धितालले स्वागत मन्तब्य व्यक्त गरेका थिए । स्वागत मन्तब्यका क्रममा उनले निम्न आर्थिक अवस्था भएका परिवारका बालबालिका पढ्ने यस विद्यालयमा साइबर सेक्युरिटी तालिम आयोजना गर्दा खुसी लागेको जनाए ।

प्रत्यक्ष –अप्रत्यक्ष रूपमा बालबालिकाले वर्तमान र भविष्यमा पनि साइबर समस्या भोग्नु पर्ने अवस्था आउने बताउँदै उनले यो समस्या हुन नदिन प्रशिक्षण दिन आवश्यक ठानिएको जनाए । आयोजक विष्णु फाउण्डेशनलाई धन्यवाद दिँदै प्रधानाध्यापक धितालले साइबर सेक्युरिटीसम्बन्धी उपयोगी शिक्षा देशका अन्य विद्यालयमा पनि विस्तार गर्न सुझाए ।

विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष दीपेन्द्र लामिछानेले साइबरसम्बन्धी ऐनकानुनहरू पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिएका छन् । साइबर अपराधका सम्बन्धमा ७५ प्रतिशतलाइ थाहै नभएर अपराधका घटना बढेकाले नर्सरीदेखि नै विद्यार्थीलाई यस सम्बन्धमा ज्ञान दिन आवश्यक भएको उनले जनाए ।

टोखा नगरपालिका वडा नम्बर १ का पूर्ववडाध्यक्ष श्रीकृष्ण अधिकारीले समाजसेवी र विष्णु फाउण्डेशनकी अध्यक्ष अम्बिका शर्माले विद्यालय भवन बनाउनेदेखि कम्प्युटरलगायतका सामग्री प्रदान गरेर योगदान दिएको भन्दै प्रशंसा गरे । उनले १३–१४ वर्षका केही बालबालिकमा सामाजिक सन्जाल तथा इन्टरनेट गलतरुपमा प्रयोग गर्ने लत बसेको पाएको जनाए ।

समाजसेवी भरत शर्मा विडारीले बालबालिका अपराधमा संलग्न नहुन् र अपराध कर्म गर्नेको जालोमा पनि नपरुन् भनेर चेतना दिने कार्य उपयुक्त कदम भएको भन्दै प्रशंसा गरे । विष्णु सरस्वती फाउण्डेशनकी अध्यक्ष अम्बिका शर्मा लामिछानेले झोर महांकाल विद्यालयको अवस्था आफू ५ कक्षासम्म पढ्दा दयनीय रहेको अनुभव सुनाइन् ।

उनले सुकुलमा बसेर विद्यालयमा पढेको अनुभव सुनाउँदै विद्यालयप्रति गहिरो माया भएकाले नै विद्यालयको विकासमा ध्यान दिन मन गएको जनाइन् । अध्यक्ष शर्माले साइबरसम्बन्धी तालिममा सिकेका कुरा दैनिक जीवनमा लागु गर्न र अरुलाई पनि सिकाउन विद्यार्थीलाई सुुझाव दिएकी छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मोबाइलका धेरैगुणहरू सिक्न र अवगुणहरु त्याग्न आग्रह गरे । इन्टरनेट विश्वको खुला समाज भएको बताउँदै उनले यसका सकारात्मक र नकारात्मक पक्ष छुट्याउनु पर्नेमा जोड दिएका छन् ।

अध्यक्ष खनालले विद्यार्थीहरूलाई इन्टरनेटका राम्रा कुरा सिकाउन शिक्षक–शिक्षिकालाई आग्रह गरेका छन् । साइबर अपराध हुन नदिन अभिभावकहरू पनि बढी चनाखो हुनुपर्नेमा उनले जोड दिएका छन् । उनले सामाजिक सन्जाल फेसबुकमा साथी बन्ने र अपराध गर्ने पर्याप्त उदाहरणहरू भएकाले अपरिचित व्यक्तिबाट मोबाइलमा फोन आउँदा र म्यासेज आउँदा पनि सचेत हुनुपर्ने सुझाएका छन् ।

प्राधिकरण अध्यक्ष खनालले आफूले सबै विद्यालयलाई सम्भव नभए पनि आवश्यक ठानिएका विद्यालयलाई ‘स्मार्ट स्कुल’ का रूपमा विद्यालयको विकास गर्न चाहेको जनाए । औपचारिक कार्यक्रम सकिएपछि नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजय रोय, सहायक निर्देशक सुदन शाक्य र क्यानका साइबर सेक्युरिटी विभागका प्रमुख एवं इन्टरनेट सेवा प्रदायक संघका सीईओ सुभाष खड्कालगायतले १० कक्षा सम्मका विद्यार्थीलाई साइबर सेक्युरिटीको सम्बन्धमा उचित प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया