सोमबार, वैशाख १५, २०८२

बाघको जोखिम बढ्दाे, नरभक्षी राख्न खाेर अभाव

नेपालखोज २०७९ असार १० गते १५:३०

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै जोखिम पनि बढेको छ । ज्यानकै जोखिम हु्ने अवस्था आएपछि केही बाघलाई नियन्त्रण गरेर खोरमा राख्न थालिएको छ । निकुञ्ज प्रशासनका अनुसार नियन्त्रण गरिएका नरभक्षी बाघहरूलाई खोरमा राखिने छ । बाघलाई प्राकृतिक वासस्थानमा भने नछाडिने भएको छ । तर समातिएका बाघ राख्न भने खोरको अभाव भएको चितवन राष्ट्रिय निकुञ्जका वार्डन हरिभद्र आचार्यले विभिन्न सञ्चारमाध्यमलाई जानकारी गराएका छन् ।

अहिले कसरा र सौराहास्थित दुई खोरमा चार बाघ राखिएका छन् । थप बाघ समातेर राख्नुपरेमा खोर अभाव हुने आचार्यले जनाएका छन् । पछिल्लो ११ महिनायता बाघको आक्रमणबाट चितवन आसपासमा मात्र १६ जनाले ज्यान गुमाएको तथ्यांक छ । धेरैको ज्यान बाघको आक्रमणबाट जान थालेपछि नरभक्षी बाघलाई समातेर खोरमा राखिने निर्णय भएको हो ।

बाघ राख्ने खोर स्थानअनुसार फरकफरक आकार र क्षेत्रफलमा निर्माण गर्ने गरिन्छ । बाघलाई आहारा दिने स्थान, मानिसले देख्न नसक्नेगरी सुरक्षित ठाउँ, आराम गर्ने ठाउँ चाहिन्छ । यस्तै बाघलाई पानी खाने लगायतका जंगलजस्तो देखिने घुमफिर गर्ने संरचना रहने स्थानमा बाघको खोर बनाउने गरिन्छ । अहिले उपलब्ध खोरहरू एउटा घर र करेसाबारीजत्रा भए पनि अगामी दिनमा ठूला आकारको खोर बनाइने निकुन्ज स्रोतले जनाएको छ ।

प्रतिक्रिया