बिहीबार, साउन २६, २०७९

बालबालिकाको खाना खाने बानी र अभिभावकको भूमिका

उमा घिमिरे २०७९ असार १३ गते ९:१९

खाना मानव जीवनसँग प्रत्यक्ष सम्बधित छ । खाना खानु जीवनको महत्त्पूर्ण क्रिया भएतापनि खानामा हुने रुचि र शरीरको आवश्यक्ताको समन्वय हुनु अत्यावश्यक छ । आजभोलि बालबालिकाको उचित किसिमको खाना खाने बानी बसाल्नु अभिभावकहरूको लागि चूनौती बनेको छ । विशेषतः पारिवारिक संरचनामा आएका परिवर्तन, बालबालिकाको शारीरिक संञ्चालनमा कमी, अभिभावकको कार्य व्यस्तता, मोवाइल फोनको प्रयोग, प्राकृतिक स्वादमा आयातित तथा बनावटी स्वादको प्रभाव आदि कारणले गर्दा हाल बालबालिकाको खाना खाने बानीमा चुनौती देखापरेको पाइन्छ ।

बालबालिकाको खाना खाने सकारात्मक बानीको विकास गर्न अभिभावकहरूले निम्नानुसारको व्यवस्थापन गर्न सकिन्छ ।

१. सँगै खाना खाने

परिवारका सदस्यहरू सबैलाई एकैपटक पस्कने र बालबालिकालाई पनि उमेर अनुसार सँगै खान दिने वा खुवाउने गर्नुपर्छ । यस क्रममा अभिभावकले गरेका खाना प्रतिको आदर सत्कार, संस्कार, संस्कृति बालबालिकाले सिक्छन् । खाना खाँदा खानाको नाम, स्वाद र रङ, पकाउँदाको स्वाद, काँचोको स्वादमा पाइने भिन्नता बारे कुराकानी गर्ने गर्नुपर्छ । जसले गर्दा बालबालिकामा खानाप्रतिको खोज, अनुसन्धान गर्ने जिज्ञासा अभिवृद्धि हुन्छ । यदि अभिभावक कामकाजी गर्नेछन् भने पनि बालबालिकालाई आफूसँगै खाना खुवाउने व्यवस्था गर्नुपर्छ । उमेर अनुसार आफ्नो र बालबालिकाको दिनभरीको रुटिन बनाउँदा राम्रो हुन्छ, जस्तैः बालबालिका पनि खाना खाएपछि आ-आफ्नो खेलौनाको झोला बोकेर घरमै बनाइएको खेल क्षेत्रमा जाने र रुटिन अनुसार खेल्ने खाजाको समयमा खाजा खाने गर्ने । साँझ अभिभावकले आफूले के-के गरियो र खाना, खाजा कतिबेला खाइयो बताउने र बच्चाको पनि सोध्ने वा कुराकानी गर्ने गर्नुपर्छ ।

२. करबल नगर्ने

शिशुले स्तनपान गर्ने बेलादेखि खाना पुगेको संकेत स्तनको मुन्टो जिब्रोले बाहिर फालेर वा दुध चुस्न छाडेर गर्छन् । थप खाना खान थालेपछि पनि यसैगरी ननिल्ने र जिब्रोले घचेट्ने गर्छन् । यस्ता संकेतहरू गरेपछि अभिभावक तथा हेरालुले खाना खुवाउन बन्द गर्नुपर्छ । यस्ता संकेतहरूलाई अभिभावकले बेवास्ता गरेर करकाप गर्दा बालबालिकाले खाना प्रति मात्र नकारात्मक भाव राख्न थाल्दैनन् , उनीहरूले अभिभावक प्रतिको विश्वास पनि गुमाउँदै जान्छन् ।

३. आकर्षक भाँडाहरूको व्यवस्था

बालबालिकालाई उमेर अनुसारका खाना खाने आकर्षक भाँडाहरूको व्यवस्था गर्ने र खाना खाइसकेपछि उनीहरूले देख्नेगरी सफा गरेर सहि ठाँउमा राख्नुपर्छ । उमेर अनुसार उनीहरू आफैंले सफा गर्न कोशिस गर्छन् यस्तो बेलामा उनीहरूलाई सहयोग गर्नुपर्छ । आफ्नै थालकचौरामा, गिलासमा पानी खाने गर्नाले उनीहरूको आत्मसम्मान बढ्छ र आफ्नै भाँडामा खाने रहर पनि हुन्छ ।

४. खाना पकाउने तयारीमा सहकार्य

तरकारी केलाउने/पखाल्ने, चामल केलाउने/पखाल्ने र खाने तयारीमा पनि बालबालिकालाई उमेर अनुसार सहभागी गराउनुपर्छ । जसले गर्दा उनीहरूमा खाना पकाउने जस्तो परिवारको महत्त्वपूर्ण कार्यमा सहयोग गर्न सक्षम भएकोमा गौरव र आत्मविश्वास बढ्छ । आफूले मिहेनत गरेको खाना खाने जिज्ञासा हुन्छ । बाबु होस् या नानी, दुबैलाई खाना पकाउने वा भाँडा माझ्ने कुरामा सहभागी हुन र यी जीवनोपयोगी सीप हुन् भनेर सिकाउनुपर्छ ।

५. प्राकृतिक स्वादहरु

बालबालिकालाई प्राकृतिक स्वाद, जस्तैः घिउ, मह, दूध तथा स्थानीय क्षेत्रमा पाइने खानाहरूको स्वाद दैनिक खानामा समावेस गरी बानी बसाउनुपर्छ । दैनिक खाने खानाहरू, तरकारी दालहरू परिवर्तन गर्ने, यसैगरी बालबालिकालाई पनि थोरै पीरो र अमिलो हालेर अचार बनाई दिने गर्नुपर्छ । यसले विभिन्न परिकारहरूको स्वाद बस्छ र खाना खाने रहर अभिवृद्धी हुन्छ, तर तयारी मसला र स्वादहरू मिसाएर धेरै खुवाउने रहर गर्नुहुँदैन ।

६. बालबालिकाको लागि विशेष खाना

बालबालिकाको उमेर अनुसार विशेष खाना तयार गर्नुपर्छ, जस्तै गिलो, नरम, नुन वा चिनी कम भएको तर पौष्टिक खानालाई उनीहरूको विशेष भाँडाहरूमा आकर्षक तरिकाले विभिन्न रङहरू, जस्तै, रातो गोलभेडा, हरियो साग तथा सेतो भात, पहेँलो दाल आदिले सजाएर खुवाउनुपर्छ । यसले गर्दा खाना खान उत्प्रेरणा जागृत हुन्छ ।

७. खाना खाने समय निर्धारण

परिवारको खाना खाने समय निश्चित बनाउनुपर्छ, जस्तै, बिहान ९ बजे, दिउँसो २ बजे, साँझ ७ बजे । बालबालिकाको पनि, परिवारको समयभन्दा थप उमेर अनुसारको खानाखाने समय निर्धारण गर्ने गर्नुपर्छ । यसले गर्दा निश्चित समयमा भोकको अनुभव हुन्छ र खानामा रुचि बढ्छ ।

८. विकासात्मक चरण

बालबालिकाको विकासात्मक चरण अनुसार खानाको आवश्यक्ता फरक हुनसक्छ । जस्तै, पहिलो २ वर्षमा शिशुले खाएको खाना शरीरको वृद्धि र मानसिक विकासमा प्रयोग हुन्छ भने २ वर्ष माथिका बालबालिकाहरू क्रियाशील हुन्छन् र उनीहरूको शारीरिक क्रियाकलापमा कमी भएको खण्डमा पनि खाना रुचि कम हुन्छ । यस्तो अवस्थामा अभिभावकले खानामा भन्दा शारीरिक संञ्चालनका खेलहरूमा जोड दिनुपर्छ ।

९. तयारी खानाको व्यवस्थापन

बालबालिकालाई निश्चित उमेरसम्म मात्र तयारी तथा बजारिया खानासँग टाढा राख्न सकिन्छ । तर उनीहरू बालविकास केन्द्र तथा पूर्व प्राथमिक विद्यालय जाने उमेर वा बाहिरी वातावरणको अनुभव पाएपछि, तयारी खानाप्रति जिज्ञासा हुनु र खान खोज्नु स्वभाविक हो । अभिभावकले यसलाई सकारात्मक रुपमा लिएर बाहिरी खाना खाने रुटिन बालबालिकासँग बसेर बनाउने र पालन पनि गर्नुपर्छ । जस्तै, बुधबार तयारी खाना दिनको एक समयमा वा खाजामा खाने, महिनाको एकपटक रेष्टुरेन्टको खाना खाने । यसले गर्दा बालबालिको आफूलाई संयममा राख्न सिक्छन् । तर, अभिभावकले बालबालिकालाई पत्रु खाना (चाउचाउ, चिप्स, जुस आदि)को नकारात्मक असर बारे चाँहि बुझाउनुपर्छ र सकभर कम खुवाउने कोशिश गर्नुपर्छ ।

१०. मोवाइल तथा टीभीको प्रयोग नगर्ने

बालबालिकालाई खाना खुवाउने क्रममा मोवाइल तथा टीभीहरूको प्रयोग गर्नु हुँदैन । यसले बालबालिकाको ध्यान खानामा भन्दा मनोरञ्जनमा हुन्छ । जसले गर्दा खानासँग मोवाइल र कार्टुनका कार्यक्रमहरूको मोलमोलाई हुन्छ । विभिन्न अनुसन्धानले यसबाट बालबालिकाको वृद्धि र विकासमा नकारात्मक असर गर्छ भनेर देखाएको छ । बालबालिकाले सानैदेखि खाना खानु अभिभावकको लागि नभई आफ्नो लागि हो र यो महत्त्वपूर्ण क्रियाकलाप हो, जुन परिवारका सबै सदस्यले गर्छन् भन्ने स्पष्ट बुझ्नुपर्छ ।

युनिसेफ नेपाल

प्रतिक्रिया