शुक्रबार, पुष ४, २०८२

सिटिजन्स बैंकको शाखारहित सेवा रुकुमको चुनवाङमा

नेपालखोज २०७९ असार १३ गते १४:४९

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।

यसै क्रममा बैंकले रुकुम जिल्लाको भूमे गाउँपालिका ९ चुनवाङ रुकुम पूर्वमा असार १० गतेबाट ९६औं शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको हो । सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी भीमप्रसाद पुनलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

उक्त शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरूको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवा उपलब्ध गराउने लक्ष्य राखेको बैंकले जनाएको छ । यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

आफ्ना ग्राहकको वित्तीय आवश्यकता सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि बैंकले कियोस्क, ई.के.वाई.सी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्नेजस्ता सुविधाको सुरुवात गरिसकेको छ । ग्राहकको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याको छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक सहायता केन्द्रको स्थापना गरिसकेको छ ।

जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्या समाधान शाखामा उपस्थित नभईकन ०१–५९७००६८ नम्बरमा फोन गरी तथा इमेल गरी प्राप्त गर्न सक्नेछन् ।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । बैंकले देशैभर फैलिएका एक सय ७५ शाखा, एक सय २७ वटा एटीएम र ९५ वटा शाखारहित बैंकिङ एकाइबाट करिब १४ लाख ग्राहकलाई आधुनिक सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया