शनिबार, जेठ ५, २०८१

एक दिन पनि टिकेन नेप्सेको उच्च वृद्धि, २३ अंकले घट्दा २ अर्ब ४ करोडको कारोबार

नेपालखोज २०७९ असार १३ गते १५:३८

काठमाडौं । नेप्सेको उच्च वृद्धिदर एक दिन पनि टिक्न सकेन । अघिल्लो दिन ९४ दशमलव ९२ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन सोमबार भने २३ दशमलव ८५ अंकले घटेर १९ सय ३३ दशमलव १३ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव दुई अंकले घटेर तीन सय ७५ दशमलव ८२ अंकमा पुगेको छ ।

दुई सय २९ कम्पनीको ४३ हजार एक सय २२ पटकको कारोबारमा ५६ लाख ४१ हजार पाँच सय ४० कित्ता सेयर खरिद–बिक्री भएको छ । जसकारण आज कुल कारोबार रकम २ अर्ब चार करोड ४८ लाख ३१ हजार नौ सय ४८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा दुई वटाको सूचक बढेर बाँकी ११ वटाको घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १२ दशमलव ३८ अंकले घटेर १३ सय ४० दशमलव ६० अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि एक सय १७ दशमलव ५५ अंकले घटेर तीन हजार दुई सय ३६ दशमलव नौ अंकमा झरेको छ ।

जलविद्युत् समूहको सूचक ६० दशमलव ३३ अंकले घटेर २१ सय ३५ दशमलव ३० अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक ९७ दशमलव ८३ अंकले घटेर सात हजार आठ सय २७ दशमलव ९१ अंकमा झरेको छ । फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र सामूहिक लगानी कोष समूहहरूको सूचक पनि घटेका छन् । जीवन बिमा समूहको सूचक भने आज एक सय १३ दशमलव ९६ अंकले बढेर नौ हजार चार सय ५२ दशमलव ७० अंकमा चढेको छ । लगानी समूहको सूचक पनि बढेको छ ।

नेप्सेमा आज सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर प्रतिकित्ता सात सय ९२ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । यस्तै उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले घटेर आठ सय ९१ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज नागरिक लगानी कोषको प्रतिकित्ता २५ सय ४२ रुपैयाँ अन्तिम मूल्यमा १५ करोड ६५ लाख ८८ हजार दुई सय ७४ रुपैयाँ ८० पैसाको सेयर कारोबार भएको छ । यो आज भएको कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया